आगलागीमा परी दुई बालिकासहित तीनको मृत्यु

प्रकाशित मिति : २०७५ चैत १० आइतबार

लहान । सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा शनिबार साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । 

आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

गाई गोठमा जम्मा भएको पतकरहरु केटाकेटीले आफैले सलाई कोरेर आगो लगाएको हुन सक्ने स्थानीयले आशंका गरेको छ । प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यसअघि शनिबार बिहान सिरहाको कल्याणपुर नगरपालिका–७ भेडियो पूर्वारी टोलमा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको थियो । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ