arrow

भारतको फेरि हस्तक्षेप, मुक्त हलियाको घर बनाउन दिएन 

तीन परिवारको विचल्ली, अढाइ दशकदेखि बसेको स्थानमै वास बनाउन दिएन एसएसबीले

logo
ईश्वर दत्त बडू, 
प्रकाशित २०७५ चैत १० आइतबार
home_banaudai.jpg

कञ्चनपुर । पटक पटक नेपाली भूमिमा हस्तक्षेप गर्दै आएको भारतीय सीमा सुरक्षा बल एसएसबीले फेरी कञ्चनपुरको सीमावर्ती गाउँका तीन मुक्त हलियाको घर निर्माण रोकिदिएको छ ।

एसएसबीले दुवै देशको विवादित भूमि भन्दै भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका तीन मुक्त हलियाका घर निर्माण कार्य रोकिदिएको हो ।

अढाई दशकदेखि सोही स्थानमा बस्दै आएका तीनै जना मुक्त हलियाका घर निर्माण कार्य रोकिदिएको छ । घर निर्माण गर्दा साताअघि देखि एसएसबीले घर नबनाउन दवाव दिएपछि पुरै घर निर्माण गर्न नसकिएको उनीहरुले बताएका छन् ।

मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत टिणसेटको घर निर्माण गरिरहेका तीनै जनालाई एसएसबीले घर बनाए भत्काईदिने चेतावनी दिएपछि उनीहरु समस्यामा परेका छन् । 

पक्की घरमा बस्न पाईने भएपछि उनीहरुले कच्ची घर भत्काएर पक्की घर निर्माण गरिरहेका थिए, तर एसएसबीले काम रोकिदिएपछि तीनै जना दलित समुदायको परिवार विचल्लीमा परेका छन् । 

बलरामको छत मात्रै बाँकी छ, मदनको फाण्डेशन मात्रै भएको छ, भने खडकले आधा घर निर्माण गरेका छन् । तीनै जना अहिले विचल्लीमा परेका छन् ।

 ‘भएको पुरानो घर भत्काईदिए, ‘मदन सार्कीले भने, ‘बनाउन लागेको घर निर्माणमा भारतीय एसएसबीले रोकिदियो, अब हामीले कहाँ गएर बस्ने ।’ घर निर्माण गरिरहेकै बेला १०–१२ जना एसएसबी आएर रोकेको मदनले बताए । 

घर निर्माण गरेर पुरै फोटो पेश गरे मात्रै भुक्तानी पाईने भएकाले त्यो पनि नपाईने उनका चिन्ता बढेको छ । घर निर्माण गरे बापत उनीहरुले प्रति घर दुई लाख २५ हजारका दरले रकम पाउनेछन् । 

उनीहरु तीनै जनाले सिमेन्टको गाराले पोस्दै इटा सहितको टिणसेटका घर बनाए बाफत भूमीसुधार कार्यालय मुक्त हलिया पुर्नस्थापना कार्यक्रमबाट रकम पाउनेछन् । उनीहरु तीनै जनाले नालाकै छेउँमा २५ बर्षदेखि बस्दै आएको बताएका छन् । 

अढाई दशकदेखि कच्ची घर लगाएर बस्दै आएका तीनै जना मुक्त हलिया अहिले राम्रो घर बनाउँदा भारतीय एसएसबीले रोकिदिएको भन्दै चिन्तित भएका छन् । भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले एसएसएबी तीनै घर निर्माण रोकेपछि स्थानीय स्तरबाट छलफल हुँदा समेत एसएसबीले घर निर्माण गर्न नदिएको बताए । 

उनका अनुसार संयुक्त सर्वेटिमबाट छिनोफानो नहुन्जेलसम्म घर निर्माण गर्न नदिने अडान राखेका थिए । ‘सीमाको टुङ्गो लागेपछि उनीहरु त्यही बस्ने या अन्यन्त्र सार्ने विषयमा योजना बनाउँछौँ, ‘जसरी भएपनि नेपाली नागरिकको व्यवस्था गछौँ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल बैद्यले तीनै जनाको घर निर्माण कार्य रोकेको विषयमा संयुक्त बैठकमा कुरा उठाउने बताए । 

प्रजिअ बैद्यले आगामी २७ मार्च भारतमा हुने नेपाल–भारतका अधिकारको बैठकमा समेत राख्ने बताए । ‘ब्रम्हदेब सडकको विषय र यि तीनै जनाको मुक्त हलियाको घर निर्माणमा रोकेको विषयमा हामी पहल गछौँ, ‘प्रजिअ बैद्यले भने, ‘किन रोकेको हो, त्यस विषयमा भारतीय पक्षसंग कुराकानी गछौँ ।’ तीनै नेपाली नागरिकको समस्या बारे प्रशासनिक तरिकाबाट पहल गरिने प्रजिअ बैद्यले बताए ।

 स्थलगत तीनै जनाको घरको अध्ययन गरेर प्रजिअ बैद्यले नेपालकै भूमिमा बन्न लागेका घर रोकेको भए फेरी निर्माणका लागि पहल थालिने आवश्वासन दिएका थिए । 

कञ्चनपुरको भूमिमा भारतीय पक्षबाट पटक पटक हस्तक्षेप भईरहेको छ । सीमा क्षेत्रमा भारतीय हस्तक्षेप अझै रोकिएको छैन् । दुई बर्ष अघि पनि एसएसबीले सोही क्षेत्रमा एक स्थानीय नेपालीले निर्माण गर्न लागेको पक्की घर बनाउन दिएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ