arrow

नेपालमा क्षयरोगको डरलाग्दो तथ्यांक : डेढ करोडमा किटाणुको बास, वर्षेनी ४५ हजार रोगी थपिने

७ हजारको मृत्यु, १३ हजारले उपचार पाउँदैनन् 

logo
प्रकाशित २०७५ चैत १० आइतबार
tv.jpg

काठमाडौं। नेपालको कूल जनसंख्यामध्ये आधाभन्दा बढीमा क्षयरोग (टीबी) को किटाणु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्षयरोग दिवसको छेको पारेर राष्ट्रिय क्षयरोग केन्द्रले दिएको जानकारी अनुसार, नेपालको करीब ३ करोड जनसंख्यामध्ये डेढ करोडमा क्षयरोगका किटाणु सुषुप्त रुपमा रहने गरेको छ । साथै नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

नेपालमा प्रत्येक बर्ष थपिने टीबीका ४५ हजार नयाँ बिरामीसँगै पुराना करीब १५ हजार गरी बार्षिक ६० हजारको उपचार हुने गरेको आंकलन गरिएको केन्द्रले जनाएको छ । हाल नेपालमा क्षयरोग पत्ता लाग्ने दर प्रतिलाख १ सय १२ पुगेको छ । गएको बर्ष नयाँ क्षयरोगी ४४ हजार फेला परेपनि यसपाली ४५ हजार पुगेको छ । 

वर्षेनी ४५ हजार नयाँ क्षयरोगी  थपिने गरेपनि उपचारको दायरामा भने करीब ३२ हजार मात्रै आउने गरेको केन्द्रले जनाएको छ। बर्षेनी थपिने नयाँ रोगी र उपचारमा आउनेको आँकडा हेर्दा, थप १३ हजारलाई खोजेर उपचारको दायरामा ल्याउनुपर्ने चुनौती आइपरेको केन्द्रका अनुगमन मुल्यांकन निगरानी तथा अनुसन्धान शाखा प्रमुख अनिल थापाको भनाइ छ। उपचारको पहुँच बाहिरका १३ हजार क्षयरोगीबाट अरु हजारौंलाई रोग सार्न सक्ने जोखिम अझै चुनौतीपूर्ण बनेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भिमसिंह टिङकरीले स्वीकारे । 

सबभन्दा बढीमा फोक्सोको संक्रमण
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालका करीब ५० प्रतिशत जनसंख्या क्षयरोगको जोखिममा रहेकोमा बर्षेनी ५ देखि  ७ हजारको यही रोगका कारण मृत्यु हुने गरेका छन् । क्षयरोगीहरुको उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष देखिएको छ । नेपालमा हुने क्षयरोगमध्ये सबैभन्दा बढी ९० प्रतिशत त फोक्सो कै क्षयरोग हुने गरेको छ । यी बाहेक घाटीको ग्रन्थी, पाठेघर, पेट, कलेजो, मुटुको झिल्ली, मृगौला, मस्तिष्क र ढाडको हड्डीमा क्षयरोगको संक्रमण देखिने गरेको छ्।

एचआइभी संक्रमितमा क्षयरोगको खतरा ६ गुणा बढी
एचआइभी तथा एड्स संक्रमित भएकामा टीबी भाइरसको संक्रमण दर ६ गुणा बढी देखिने गरेको छ । नेपाल सरकारले क्षयरोगको उपचारमा सन १९९६ देखि प्रभावकारी सेवा डट्स उपचार विधि सुरु गरेको हो । नेपालमा क्षयरोगको उपचारका लागि ४ जिल्लाबाट सुरु गरिएकोमा, यो सेवा अहिले देशभर ४ हजार ३२३ डट्स सेवा केन्द्रमा छन् । सन् २०१६ सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्ममा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिइएको छ । यस प्रविधी क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ। 

नेपाल सरकारले क्षयरोग को उपचार निःशुल्क गरी सन् २०३५ सम्म क्षयरोग निर्मुल पार्ने र क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ । सुशुप्त रुपमा रहेको क्षयरोग व्यवस्थापन गर्नका लागि युएनको उच्चस्तरीय बैठकले  विश्वमै स्न २०२२ सम्ममा ५ बर्षमुनीका ४० लाख बच्चा र  ७० लाख एचआइभी संक्रमित व्यक्तिलाई क्षयरोग रोकथामको लागि उपचार गर्ने लक्ष्य लिएको छ । 

केही तथ्य तथ्यांक

  • वर्षेनी मार्च २४ तारिख विश्व अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ। यो वर्ष “क्षयरोग मुक्त विश्वका लागि नेतृत्वकर्ताहरुको आवश्यकता” नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग माइक्रोब्याक्टेरीयम टयुबरकुलोसिस टीबी नामको किटाणुका कारण लाग्ने संक्रामक रोग हो । 
  • डा. रर्बट कोकले सन् १८८२ मा क्षयरोगको जीवाणु पत्ता लगाएको दिनको स्मरणमा हरेक बर्ष मार्च २४ मा बिश्व क्षयरोग दिवस मनाउने गरीएको हो। प्रतिवर्ष विश्वमा हरेक वर्ष एक करोड नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुनेगरेको तथ्यांक छ । 
  • क्षयरोगका कारण मृत्यु हुनेमध्ये करीब ९५ प्रतिशत विकासोन्मुख राष्ट्रका छन् । तीमध्ये लगभग ५० प्रतिशत भारत, चीन र पाकिस्तानका छन् । नेपालमा  क्षयरोग र रेबिज प्राचीन समयदेखि नै भएको पाइन्छ ।
  • सन् २०१७ मा विश्वभर १ करोड मान्छे क्षयरोग लागेर बिरामी परेका थिए। तीमध्ये ५८ लाख पुरुष र ३२ लाख महिला र १० लाख बालबालिका यो रोगबाट पिडित थिए । संसारका सबै मुलुकका मान्छेलाइै क्षयरोग लागेको थियो । डराउनु पर्दैन टीबीको रोकथाम र उपचार गर्न सकिन्छ । 
  • २०१७ मै टीबीका कारण विश्वभर १६ लाखको ज्यान गएको थियो (३ लाखको एचआइभी सहित) । 
  • विश्वभरमा मृत्युका १० कारणमध्ये एउटा कारण टीबी हो । 
  • २०१७ मा १० लाख बालबालिका टीबीका कारण बिरामी परेकोमा, २ लाख ३० हजारको यही कारण मृत्युभएको थियो। विश्वभर हरेक वर्ष टीबी लाग्ने दर २ प्रतिशतले घटेको छ । 

क्षयरोगको लक्षण 
३ हप्ता या बढी अबधिदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, धेरै पसिना आउने र  थकान बढि महसुस भएमा क्षयरोगको परीक्षण गराइहाल्नु पर्ने चिकित्सकहरुको सुझाब छ । शारीरिक अवस्था कमजोर भइ रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यसको  संक्रमण सबैभन्दा बढी हुने गर्दछ।

५ बर्ष मुनीका बालबच्चा, भर्खरै क्षयरोग देखिएका, कमजोर रोग प्रतिरोध क्षमता भएका, चुरोट रक्सी वा लागुऔषध सेवन गर्नेहरुमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेकाहरुमा यसको संक्रमण देखिने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ