arrow

ललितपुरका मेयर सरकारप्रति आक्रामक, हस्तक्षेप गर्न स्थानीयलाई आह्वान

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
chiribabu1.JPG

ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, सम्पदा पुन निर्माणको काममा केन्द्र सरकार नालायकप्रायः सावित भएको भन्दै आलोचना गरेका छन् सरकारले जिम्मा लिएका सम्पदा पुनःनिर्माणको काम २० प्रतिशत समेत पुरा हुन नकसेको भन्दै मेयर महर्जन केन्द्र सरकारमाथि खनिएका हुन्। जनताले स्वामित्व ग्रहण गरेकाले  ललितपुर महानगरपालिकाभित्रका ८० प्रतिशत भन्दा बढी सम्पदाको पुनःनिर्माण सम्पन्न भएको उनको दाबी छ। 

२०७२ को भुकम्पपछि उपत्यकामा सबैभन्दा बढी सम्पदा पुनःनिर्माण सम्पन्न भएको जिल्ला ललितपुर हो। यहाँ ८० प्रतिशत भन्दाबढी सम्पदा पुनःनिर्माण हुनुको मुख्य कारण जनताले स्वामित्व ग्रहण गरेकाले सम्भव भएको उनले बताए। तर ललितपुर बुंगमतीको रातो मच्छिन्द्रनाथ, दरबार क्षेत्रको भिमसेन मन्दिर, स्वठको राधाकृष्ण मन्दिर, सुन्धाराको कृष्ण मन्दिर लगायतका सम्पदा सरकारले ठेक्कापट्टामा दिँदा सम्पन्न हुन नसकेको भन्दै उनले आक्रोस पोखेका हुन्।

पाटन दरबार क्षेत्रमा भएको वृहत् कला तथा सांस्कृतिक महोत्सवमा मेयर महर्जनले, बुगंमतीको रातो मच्छिन्द्रनाथको पुनःनिर्माण ८ महिनाअघि नै सम्पन्न हुनुपर्नेमा सडकमा कालोपत्रे गर्ने ठेकेदारलाई ऐतिहासिक मन्दिरको पुनःनिर्माण गर्न दिँदा लापरबाही मात्र नभएर पुनःनिर्माणनै अघि बढ्न नसकेकोले अब स्थानीयले हस्तक्षेप गर्नुपर्ने समेत बताए।

ललितपुरको वडा नम्बर–१६ र यसआसपासको पाटन दरबार क्षेत्रमा वृहत् कला तथा सांस्कृतिक महोत्सवको उदघाटनका क्रममा उनले दरबार क्षेत्रको भीमसेन मन्दिर पनि सरकारले ठेकेदारलाई दिन लागेकाले स्थानीय जनप्रतिनिधी, सम्पदाप्रेमी, व्यापारी मिलेर हस्तक्षेप गर्न बाध्य भएको स्पष्ट पारे।

भीमसेन मन्दिर पुनर्ःनिर्माणका लागि ललितपुर चेम्बर अफ कर्मशको प्रयासमा समुदायमार्फत काम अघि बढेको मेयर महर्जनले जानकारी दिए। यस्ता हस्पक्षेपकारी कदम नचालेसम्म ठेकेदारको मनोमानीले सम्पदा पुनःनिर्माणले गति लिन नसक्ने ठोकुवा समेत उनले गरे। ललितपुर विश्वको ३५ औं कला नगरी घोषणापछिको पहिलो औपचारिक कार्यक्रममा बोल्दै मेयर महर्जनले जिम्मेवारी संगै चुनौती थपिएको बताए।

विश्व कला परिषदले घोषणा गरेसँगै प्रत्येक २ बर्षमा वस्तुस्थिति अध्ययन गर्न आउने र त्यो बेला जुन स्तर कायम हुनुपर्ने हो त्यो स्तर घटेमा रेड जोन घोषणा गर्न बाध्य हुने बताएकोले ललितपुरले त्यो मर्म अनुसार काम गर्न निकै चुनौती रहेको बताए।

विश्व कला परिषदले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा गरेको अवसरमा चैत १३ गतेदेखि १७ गतेसम्म महानगरको वडा नम्वर १६ मा वृहद हस्तकला सांस्कृतिक महोत्सव आयोजना गरिएको छ। यो वडाका टोल टोलमै, विश्व सम्पदामा सूचिकृत पाटन दरबारक्षेत्रको कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाबिहार, यशोधर महाबिहार, रत्नाकर महाबिहार लगायत लिच्छवीकालिन बौद्ध बिहार र बिभिन्न मूर्त, अमूर्त सम्पदा छन्। १६ वडाका बिभिन्न स्थानमा बिभिन्न खालको प्रर्दशनी ५ दिनसम्म जारी रहनेछ।

यो वडाका ६० प्रतिशतभन्दा बढी जनसंख्या हस्तकला उत्पादन र व्यवसायमा केन्द्रित भएकाले सांस्कृतिक एवं हस्तकलाको वडाकारुपमा विकास गर्ने लक्ष्यसाथ वडा कार्यालयले महोत्सव आयोजना गरेको हो। महोत्सव ५ लाखले अबलोकन गर्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ