arrow

सामाजिक कार्यमा नेपाली सेनाको महत्वपूर्ण योगदान

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ चैत १४ बिहिबार
army-tank.jpg

पाल्पा ।  जिल्लाको सामाजिक विकासमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको छ । पाल्पामा रहेको नेपाली सेनाको गोरखदल गणले जिल्लाको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको हो । सडक निर्माण, सरसफाई, खानेपानी व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालन जस्ता महत्वपूर्ण सामाजिक कार्य गरेर सेना र नागरिक बीचको सम्बन्धलाई अझ निटक बनाउन गणले प्रभावकारी भूमिका खेलेको छ ।

 नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, नेपाली जनता र प्रचलित संविधानको रक्षा गर्ने प्रमुख दायित्व र गहन जिम्मेवारी बोकेको नेपाली सेनाले आफ्नो पेशा भन्दा माथि उठेर सामाजिक कामलाई पनि सँगै अगाडि बढाएको हो ।  यसअर्थमा पनि नेपाली सेनाले गौरवमय इतिहास र प्रशंसनीय प्रतिष्ठा बोकेको विशिष्ट संस्थाको रुपमा  चित्रण गर्न सफल भएको छ । नेपाली सेनाले संबैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आईरहेको देखिन्छ  ।

 सेना जिल्लाका आम नागरिकसँग काँधमा काँध मिलाउदै अहोरात्र जनसेवामा समर्पित रहेको छ । जसले गर्दा जिल्लावासीहरुले सेनाले गरेको  कामको प्रशंसा गरेका छन् । सेना आफ्नो पेशासँग मात्र आवद्ध नभई जनता र मुलुकप्रति सदा सर्वदा समर्पित र प्रतिवद्ध रहँदै विपत्ति र संकटका घडीहरुमा समेत अग्रस्थानमा रही इमान्दार र पेशेवर ढंगबाट परिचालित भई आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सक्षम रहेको छ । यससँगै सेनाले जिल्लाको विकास योजनाहरुमा समेत आफूलाई अग्रसर गराई राष्ट्र निर्माणका कार्यहरुमा निरन्तर खट्टिई उच्चतम योगदान दिंदै आईरहेको पाइन्छ ।

 सेना र नागरिक बिचको सम्बन्धलाई सुढृड बनाउन आफुहरु जिल्लाको समाजिक विकासमा लागि परेको गणका सेनानी मनोज  डंगोलले बताए । उनले भने ‘सैनिक नागरिक सम्बन्ध सुढृड कार्यक्रम अन्तर्गत जनतालाई सुशुचित गराउने काम गरेका छौं ।’ जिल्लाको सडक सरसफाई देखि निर्माणका काम गर्दै आएको सेनाले  पछिल्लो समयमा जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै विभिन्न स्थानमा खानेपानीका ट्याङ्कीहरु निर्माण गरेको छ । गत वर्ष तानसेन स्थित टुँडिखेलमा  खानेपानी ट्याङकीको निर्माण गरेको सेनाले पुनः तानसेनको मुटु पाल्पा दरबार संग्रहालय नजिकै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गरेको हो ।

ट्याङकीको गणका गणपति प्रमुख सेनानी सुरज थापाले उद्घाटन गरेका हुन् । पाल्पा संग्रहालयका अध्यक्ष तथा स्थानीय राजेन्द्र गोपाल सिंले तत्कालिन पाल्पाका तैनाथ वाला प्रताप शम्शेर जबराको पालामा बनेको कलधारालाई जीर्णेद्धार गरी सेनाले ट्याङकी निर्माण गरेको प्रति प्रंससा गरे । उनले फालिएका धाराहरुको सदुपयोग गर्न सेनालाई आग्रह गरे अनुरुप सेनाले उक्त कलधारको प्रयोग गरेको बताए । जिल्लामा रहेका पुरातात्विक सम्पादहरुको संरक्षण र सदुपयोग गर्न सेनालाई अध्यक्ष सिंले आग्रह समेत गरेका छन् ।

 पाल्पा आफैमा  ऐतिहासिक जिल्ला भएकाले पनि यहाँ रहेका पुराना सम्पदाहरुको उचित सदुपयोग गर्न सकेमात्र पर्यटनको विकास गर्न सकिने भएकाले स्थानीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताए । तानसेनमा भित्रिने पर्यटकहरुले चरम खानेपानीको समस्या भोग्न बाध्य भएको परिस्थितीलाई मध्यनजर गर्दै  खानेपानीको ट्याङ्की निर्माण गरिएको गणले जनाएको छ । यस सँगै तानसेनमा आउने पर्यटकहरु लाभम्वित हुने स्थानीयले विश्वास  लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ