arrow

अग्नी पीडितलाई मलङ्गवाका मेयर तथा वडाध्यक्ष तलब दिने

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
fire.jpeg

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकाका मेयर निरसल साहले मलङ्गवाका अग्नी पीडितलाई आफ्नो दुई महिनाको तलब उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकमा मेयर साहले आफ्नो दुई महिनाको सेवा सुविधाको रकम आगलागीबाट विस्थापित परिवारलाई प्रदान गर्ने बताएका हुन् ।

 वुधवार राती मलङ्गवा नगरपालिका–१०, मुलही पोखरी अगाडि लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा पाँच वटा पसल जलेर नष्ट भएको थियो । सो आगलागीबाट झण्डै ६० लाख बराबरको क्षति भएको पीडितले बताएका छन् । मेयर साहले आगलागीबाट ठूलो मात्रामा जनधनको क्षति भएको प्रति आफूहरु दुःखी भएको भन्दै नागरिकको समस्यामा जनप्रतिनिधी पनि सँगै छन् भन्ने आभास दिलाउन दुई महिनाको तलब उपलब्ध गराउने निर्णयमा पुगेको बताए ।

बैठकमा मलङ्गवा नगरपालिकाको वडा नम्वर १० बाहेक एक देखि १२ वडाका सबै वडाध्यक्षहरुले एक महिनाको तलब रकम अग्नी पीडितलाई प्रदान गर्ने निर्णय गरेका छन् । वडा नम्वर १० का वडाध्यक्ष मुकेश झाले भने दुई महिनाको तलब उपलब्ध गराउने बताएका छन्।

यसैगरी नगर कार्यपालिकाका सदस्यहरुले १५ दिनको, खरदार भन्था माथिका कर्मचारीले पाँच दिनको र श्रेणिविहिन कर्मचारीले एक दिनको तलब उपलब्ध गराउने निर्णय भएको छ । निर्णय अनुसारको रकम केही दिनभित्रै विपत व्यवस्थापन कोषमा जम्मा गरी पीडितलाई प्रदान गर्ने निर्णय भएको मलङ्गवा नगरपालिकाका सूचना अधिकारी एवं नायब सुब्बा राजकुमार अधिकारीले जानकारी दिए ।

यसैबीच दुई साताअघि बिग्रिएर मर्मतका लागि वीरगञ्ज लगिएको मलङ्गवा नगरपालिकाको दमकल मर्मत गरी गएराती ल्याइएको छ । नगरपालिकाको दमकल बिग्रिँदा वुधवार राती भएको आगलागी नियन्त्रणमा लिन घण्टौं लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ