arrow

भग्नावशेषभित्र पुरिएको पीडा–आश भने जिउँदै

logo
वीरेन्द्र कर्ण
प्रकाशित २०७५ चैत २७ बुधबार
bara-bhumari-2019.jpg

वीरगञ्ज। निर्धन उत्थान लघुवित संस्था कलैयाबाट दुई लाख ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो। कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको घर हावाहुरीसँगै भत्किँदा उनको त्यो सपना त्यही भग्नावशेषमा पुरिन गयो। भत्किएको त्यो भग्नावशेषमा उनले माटो हटाएर छोरीको खुशी खोजिरहेको भए पनि अझसम्म त्यो खुशी भेटिन नसकेको भए पनि उनको आश भने जिउँदै छ।
 
यस्तै पीडा भोगिरहेकी छिन्– ४५ वर्षीया रोजिना खातुनले। खातुनको पीडा पनि वीरबहादुरको भन्दा कम छैन। छोरी सबनमको टीकाटालोको तयारीमा जुटेकी खातुनको त्यो सपना पनि हावाहुरीसँगै उडेर गएको छ। बाराकै कलैया मधवनबाट बिहीबार केटा पक्ष आउने तय भएको थियो। सो टीकाटालो कार्यक्रममा आफन्त आउने क्रम जारी थियो। रोजिनाको खुशीको सीमा थिएन। तर एक्कासी आएको भीषण हावाहुरीले घर ढल्दा सबनम र उनकी बहिनी रुवीको त्यही ढलेको घरभित्र किचिएर ज्यान गएपछि रोजिनाको त्यो सपना पनि उडाएर लगेको छ।

फेटा गाउँपालिकाको पुरैनियाका इजहार मियाँ आफ्ना सात जना परिवारसँग हाँसीखुशी जीवन गुजारा गर्दै आएका थिए। तर आइतबार साझ आएको दानवीय हावाहुरीले इजहार परिवारका चार जनालाई निल्न पुग्यो। हावाहुरी आएको बेला सातै जना घरमा सुरक्षित बसेका थिए। त्यही बेला अचानक घर भत्किँदा श्रीमती मीना खातुन, बुहारी सकिया, नातीहरु रुकसाल र समसारलाई सदाको लागि लिएर गएपछि अहिले इजहार शून्यमा टोलाइरहेका हुन्छन्।

ठूलो आवाज र गर्जनसहित आएको सो दुई चक्रवात आफ्नो घर अगाडि एकापसमा जुधे। त्यसको अगाडि जे पर्‍यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात फेटा गाउँपालिका–६ पुरैनियाका लैस मियाँले त्यो साँझको विनाशलीला सम्झँदै भने– त्यो चक्रवातमा आगोजस्तो देखिने उल्का जस्तो थियो– ३०० मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो।

यो भयङ्कर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जव्दी, भलुही, पुरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा व्यापक धनजनको क्षति गरेको छ। 

राहत वितरण

यसैगरी अर्चना बाबाधाम काठमाडौँले हावाहुरीजस्ता प्राकृतिक प्रकोपबाट प्रभावित बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं १ र ४ को वुनियाद तथा चैनपुरका २११ पीडित घरधुरीलाई करीब रु पाँच लाख मूल्य बराबरको राहत सामग्री वितरण गरेको छ। आदि जगत्गुरु ओमबाबाको नेतृत्वमा आएको राहत वितरण टोलीले सोमबार अबेर रातिसम्म हावाहुरी प्रभावित २११ परिवारलाई चामल, नुन, दाललगायतका खाद्य सामग्री वितरण गरेको छ। 

सो राहत वितरण कार्यमा वडाध्यक्ष मिश्रीलाल महतोलगायतका समाजसेवीले सहयोग गरेका थिए । जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरण कार्यमा एकद्वार प्रणाली लागू गरेपछि अहिले व्यवस्थित रूपमा राहत वितरण भइरहेको जनप्रतिनिधिले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ