arrow

इन्धन अभावमा भक्तपुरका अस्पतालको सेवा प्रभावित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
29115398.jpeg
भक्तपुर। इन्धन अभावले जिल्लाका अस्पतालको सेवा प्रभावित बनेको छ भने रगत अभाव चुलिएको छ । भक्तपुरका सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पताल, मिर्गौला प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताललगायतका सेवा प्रभावित भएको छ । 

मिर्गौला प्रत्यारोपण केन्द्रका कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठका अनुसार इन्धन अभावले अस्पतालको सेवा सञ्चालनमा नराम्रोसँग प्रभावित भएको बताईन् । उनले इन्धन अभावकै कारण चिकित्सक समयमा आउन नसक्ने, औषधिजन्य सामग्री आयात हुन नसकेको र बिरामीसमेत समयमा आउन नसकेपछि केन्द्रले सेवाको समयसमेत कटौती गरेको जनाईन् । 

उनले भनिन्, ‘केन्द्रले दिँदै आएको डाइलाइसिस सेवा एक बिरामीलाई सातामा तीनपटक चार घन्टाका दरले सेवा दिनुपर्ने हो तर अहिले कटौती गरेर तीन घन्टा मात्रै दिने गरेका छौँ ।’ पहिले दैनिक चारपटक समेत केन्द्रको यातायात सञ्चालन हुने गरेकोमा अहिले राति मात्रै सो सेवा दिएको बताउँदै उनले केन्द्रका डाक्टरले समेत बाध्य भएर छुट्टी लिएर पालो गरेर बस्नुपर्ने समस्या आएको बताईन् । 

बिरामीलाई प्रयोग गर्ने औषधिजन्य प्राविधिक सामान मौज्दात सकिएपछि प्रयोग भइसकेका सामानलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा ल्याउनुपर्ने अवस्था आएको श्रेष्ठले जनाईन्। भक्तपुर अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले इन्धन अभाव भएपछि नियमित काम समयतालिका मिलाएर सञ्चालन भएपनि इन्धन अभावको समस्या समाधान नभए अस्पतालसम्म डाक्टर आउन नसक्ने अवस्था आउने भएको बताए । इन्धन अभावमा जेनेरेटर सञ्चालनमा समेत समस्या आएको बताए । 

इन्धन अभावले रगतको समेत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले ताजा रगत दिनेको अभाव भएपछि रगत सङ्कलनमा समस्या आएको खुलाए । 

थापाले भने, ‘इन्धन अभाव हुँदा नियमित रुपमा ताजा रगत दिने दाताहरु आउन नसक्दा बिरामीलाई माग अनुसारको रगत दिन सकिएको छैन, रगतको कम्पोनेन्ट बनाउनसमेत समस्या भएको छ ।’ रगत सङ्कलनका लागि रेडक्रसका स्वयंसेवकलाई फिल्डमा खटाउन गएको भएपनि इन्धन अभावका कारण फिल्डमा स्वयंसेवक परिचालनसमेत गर्न नसकेको बताए । दैनिक रुपमा रगतको कम्पोनेन्ट आवश्यक हुने गरे पनि जटिल शल्यक्रिया गरेर रगत लिन आउनेलाई समेत रगत दिन समस्या परेको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ