arrow

योगेश भट्टराई सुनुवाइ समिति सदस्य कि दिनेश थपलियाका प्रवक्ता?

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
yogesh-bhattarai.jpg

काठमाडौं। आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा मुस्लिम आयोगका अध्यक्ष प्रस्तावित समिम मियाँ अन्सारीलाई उनको जन्म मिति, शैक्षिक प्रमाणपत्र लगायतका विषयमा संसदीय सुनुवाइ समितिमा र्‍याखर्‍याख पारेका पूर्व एमाले सांसद योगेश भट्टराई, निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस सचिव दीनेश थपलियाको प्रवक्ताको हैसियतमा प्रस्तुत भएका छन्।

सुनुवाइ समितिमा अन्सारीलाई आफैं पन्छिएर, संभावित कानुनी झमेलाबाट बाहिरिन सुझाब दिएका भट्टराई, बुधबार थपलियाको सुनुवाइका क्रममा भने, कुखुराले चल्ला ढाके झैं अभिभावक र प्रवक्ताको भूमिकामा प्रस्तुत भएका हुन्। थपलियाको बिरुद्ध सुनुवाइ समितिमा परेका ६ वटा उजुरीमध्ये, एउटा उजुरी उनी प्रधानमन्त्री केपी ओलीको ‘पकेट मान्छे’ भन्ने आरोप लागेको थियो।

यही आरोपको सेरोफेरोमा काँग्रेस सांसद पुष्पा भूषालले, ‘निर्वाचन आयोगको भूमिका संवेदनशिल छ, तपाईंविरूद्ध अमुक विचारधाराबाट प्रभावित भएको उजुरी परेको छ, अमुक पार्टीको व्यक्तिसँग घनिष्ठ भएको तपाईं नेतृत्वको आयोगले कसरी विश्वसनीय काम गर्न सक्छ?’ भनेर सोधिन्।कांग्रेसकै सांसद भीमसेनदास प्रधानले ‘तपाई जस्तो पार्टीको क्याडर आरोप लागेको व्यक्तिबाट हुने चुनाव निष्पक्ष हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ भनेर साधेका थिए। 

के हो संसदीय सुनुवाइको परम्परा? 
संबैधानिक निकायका प्रमुखको नियुक्तिअघि उनीहरु बिरुद्ध उजुरी, गुनासो माग गरिन्छ। त्यसको सुनुवाइ संघीय संसदको सुनुवाइ समितिमा हुन्छ। खासमा सुनुवाइ समितिमा सांसदहरुले सिफारिस व्यक्तिसँग जिज्ञासा, भावी योजना लगायतको विषयमा प्रश्न राख्छन् । थपलियासँग पनि यही परम्परा अनुसार सांसदहरुले प्रश्न र योजना राख्दै थिए । योगेशको पालो अन्ततिर परेको थियो। तर उनले प्रक्न सोध्नुको साटो काँग्रेस सांसदहरुको जवाफ दिन थाले, थपलिया भन्दा पनि चर्कोगरी।

काँग्रेस सांसदहरुले सोधेका प्रश्नको थपलियाले जवाफ दिने पालो नआउँदै भट्टराई जवाफ दिन तम्सिए, ढाल बनेर। उनले भनेः ‘हिजो नेविसंघको केन्द्रीय उपाध्यक्ष भएका मानिस प्रधानन्यायाधीश हुनुभयो। अहिले लोकसेवा आयोगको प्रमुख कुन आस्थासँग नजिक हुनुहुन्छ, सबैलाई थाहा छ। तर कसैले पनि उहाँहरूले गरेका काममा प्रश्न उठाउनु भएन, भोजराज पोखरेल प्रमुख आयुक्त हुँदाको निर्वाचनमा पनि कसैले प्रश्न गरेन’ भन्दै उनले थपलियाका बारे मात्र यस्ता प्रश्न गर्दा प्रश्न नै भोलि गिज्याउने तर्क समेत गरे।

नेकपाकै अर्का सांसद पार्वत गुरूङले भविष्यमा हुने चुनावमा व्यहोर्नु पर्ने हार अस्वीकार गर्नका लागि अहिलेदेखि काँग्रेस सांसदहरुले तयारी गरेको भन्दै व्यंग गरे।

काँग्रेस सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा थपलिया भने सन्तुलित देखिएका थिए। उनले आफु कुनै पनि समयमा कुनै दलसँग निकट नरहेको जिकिर गरेका थिए। तर उनले जवाफका क्रममा भट्टराईलाई आफ्नै पीए र प्रवक्ता सरहको हैसियतमा राखिदिए। उनले भने, ‘कतिपय प्रश्नको जवाफ माननीय योगेश भट्टराईले दिइसक्नुभएको छ,’। 

स्मरण रहोस्ः संसदीय सुनुवाइ समितिमै भट्टराई लगायतका नेकपा सांसदहरुको अडान र बिरोधका कारण सर्वोच्चका बरिष्ठ न्यायाधिश दीपकराज जोशी प्रधानन्यायाधिश बन्नबाट बञ्चित भएका थिए। बुधबार थपलियामाथि लागेका आरोपबारेको सुनुवाइमा नेकपाका सांसदहरुले, संसदीय समिति सदस्यको मर्यादा समेत भुलेको, सांसद भुषालको प्रतिक्रिया छ। खासमा सांसदले, संबैधानि निकायमा सिफारिस गरिएकाहरुमाथि लागेका अरोपमाथि प्रश्न र भावी योनजाबारे जिज्ञासा राख्ने हो, न कि उजुरीको प्रतिबाद गर्दै प्रवक्ता बन्ने। 

नेकपाका सांसदहरु भट्टराई सहित महेश बस्नेत, नबिना लामा लगायतले यसअघि संसदको बैठकमा समेत मन्त्री, प्रधानमन्त्रीलाई साधिएका प्रश्नको जवाफ दिएर आफैं उनीहरु (मन्त्री, प्रम) को हैसियत देखाउने गर्छन्, जुन संसदीय मान्यता र सांसदको मर्यादाभन्दा अहंकारको प्रस्तुती हो। संसदीय सुनुवाइ समितिमा काँग्रेस सांसदको प्रश्न, नेकपाका सांसदहरुको बचाउकावीच थपलियाले प्रमुख निर्वाचन आयुक्त बनेमा आफुले गर्ने कामबारे १० बुँदा भने प्रस्तुत गरेका थिए।

थपलियाको कार्ययोजनाका बुँदा : 
१. निर्वाचन आयोगको पुनसंरचना गरी स्थानीय तहसम्म संरचना विस्तार गर्ने ।
२. खाली सिटमा तत्काल निर्वाचन गराउने ।
३. निर्वाचन कानुनको पुनरावोलकन गर्ने ।
४. सूचना प्रविधिको विस्तार गरी निर्वाचनलाई सूचना प्रविधिमैत्री बनाउने ।
५. आर्थिक मितव्यिता अपनाउने । 
६. मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रलाई एकिकृत गर्न पहल गर्ने ।
७. मतदाता शिक्षा पाठ्यक्रममा लैजाने ।
८. राजनीतिक दलका स्थानीय नेता कार्यकर्तासम्मको सूची तयार गर्ने ।
९. संविधान बमोजिम स्थानीय तहदेखि प्रदेशसम्मको सहयोग लिने ।
१०. विदेशमा रहेका मतदातालाई मतदानमा सहभागी गराउने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ