arrow

राष्ट्रपति भण्डारीको यस्तो छ अनुत्तरित उत्तर भ्रमणको कार्यक्रम

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने भएकी छन् ।

भ्रमणकाक्रममा उनी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछिन् । साथै, राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछिन् । उनी अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनेछिन् भने त्यहाँ रहेको नेपाली मन्डपको अवलोकन गर्ने कार्यक्रम छ ।

नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । उनले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग बेग्ला–बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राजधानी बेइजिङमा रहँदा उनले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्तरुपमा सम्बोधन गर्नेछिन् । राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् ।

बेइजिङ प्रस्थान गर्नेक्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्नेछिन् भने स्वदेश फर्कंदा चीनको स्वशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्नेछिन् । उनले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग भेटवार्ता गर्नेछिन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सन्चारकर्मी रहनेछन् । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । 

अनुत्तरित उत्तर भ्रमण
राष्ट्रपति भण्डारी दोस्रो कार्यकालको भ्रमणमा जहाँ जाँदा पनि त्यति स्वभाविक यात्रा मानिएको छैन । उनी संयुक्त राष्ट्रसंघको कार्यक्रममा अमेरिका जाँदा पनि त्यो यात्रालाई स्वभाविक मानिएन । 

अहिले चीन जाँदा पनि राष्ट्र प्रमुखको यात्रालाई त्यति स्वभाविक रुपले लिइएको छैन । किनकि चीनको प्राथमिकतामा नेपाल नपरेसम्म यस्ता भ्रमणको अर्थ पनि रहँदैन । 

चीनको पछिल्लो कदममा उसले जानीजानी नेपाललाई बोआओ सम्मेलनमा बोलाएन । नियमित जसो बोलाउँदै आएको चीनले यसपटक नेपाललाई छुटाउनुमा सरकार र सत्तारुढ दलका अध्यक्षहरुको अन्य प्राथमिकतालाई नै प्रमुख कारक मानिएको छ । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्राथमिकता फरक भएकैले चीनले नेपाललाई हेर्ने दृष्टिमा फरकपन आएको चीन निकट एक परराष्ट्रविद्ले जनाए । 

उनले भने, ‘हुनत एक कम्युनिष्ट मुलुकले अर्को कम्युनिष्ट सरकारलाई सघाउनु पर्ने हो । तर त्यो सहयोगीपना र सहयोग माग्नेपना दुवै देखिएको छैन । कहीं न कहीं त भ्याकुम छ नै ।’

यसैले पनि राष्ट्रपति भण्डारीको भ्रमणले त्यस्तो अनुत्तरित भ्रमणलाई उत्तरदायी बनाउन सक्नु नै यो भ्रमणको मुख्य उद्धेश्य हुनुपर्ने देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ