arrow

पञ्चाङ्गकको काम ‘काम गर्ने कालु मकै खाने भालु’

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७६ वैशाख १६ सोमबार
Panchang.jpg

काठमाडौँ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रो प्रकाशन भएपछि भित्तेपात्रो प्रकाशकले तिथिमिति सारेर प्रकाशन गर्दा प्रतिलिपि अधिकार हनन् हुने गरेको छ ।
 
 निजी क्षेत्रका प्रकाशक मात्र होइन, सरकारी संस्थाले प्रकाशन गर्ने भित्तेपात्रोमा समेत तिथि मात्र होइन विवाह, व्रतबन्ध, अन्नप्राशन, नवान्नप्राशन जस्ता धार्मिक कृत्यको साइत उल्लेख हुने गरेको छ । यस्ता संस्थाले आफैँ गणित गरेर ती साइत निकालेर उल्लेख गरेका होइनन् । समितिले स्वीकृत गरेका पात्रोबाट सारेका हुन् ।  यसले गर्दा प्रतिलिपि अधिकारको हनन् मात्र भएको छैन । ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको बताउछन् समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ।
 
“पञ्चाङ्गकारलाई राखेर समितिले वर्षभर गणित गर्ने, रुजु गर्ने गरी पात्रोलाई स्वीकृत दिन्छौँ, पात्रो प्रकाशन हुनेवित्तिकै त्यसका सबै सामग्री सारेर भित्तेपात्रो प्रकाशन गरी बेचेर पैसा कमाउँछन्, पञ्चाङ्गकार र समिति टुलुटुल हेरेर बस्नुपर्ने बाध्यता छ”–उनले भने ।
 
 सबैले आधिकारिक मान्ने सूचना तथा प्रसारण विभागले प्रकाशन गर्ने भित्तेपात्रोले समेत तिथि, विवाह र व्रतबन्धको साइत उल्लेख गरेको छ । विभागलाई भने समितिले नै सामग्री उपलब्ध गराउने गरेको अध्यक्ष गौतमले बताए । पञ्चाङ्ग निर्णायक समितिले पठाएका सामग्री मिल्यो कि मिलेन भनी समितिका पदाधिकारीले विभागमै आएर हेरेपछि भित्तेपात्रो प्रकाशन हुने गरेको सूचना अधिकारी सुमन बज्राचार्यले बताए ।

 हाल प्रकाशित पात्रोमध्ये पुरानो तोयनाथ पन्तको पञ्चाङ्गका प्रकाशक एवं सम्पादक सूर्यनाथ पन्त अधिकार स्थापित गर्न कानूनी लडाइँमै जानुपर्ने बाध्यता रहेको बताउछन् । समितिले स्वीकृति दिएका पात्रो बजारमा आएपछि तिनैको तिथिमिति सारेर भित्तेपात्रो प्रकाशन हुने गरेको छ । पात्रो प्रकाशनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको समितिसँग स्वीकृति लिनुपर्छ । समितिसँग स्वीकृति नलिइ प्रकाशन भएकालाई सरकारले मान्यता दिँदैन ।
 
भित्तेपात्रो प्रकाशन हुँदा भने कतै दर्ता वा स्वीकृति लिनुपर्ने व्यवस्था हालसम्म हुनसकेको छैन । भित्तेपात्रोलाई व्यवस्थापनका लागि सरकारले नियम बनाउनुपर्ने पञ्चाङ्गकार पन्तको माग छ । “भित्तेपात्रोले स्वीकृति लिनुपर्ने, नियमन गर्नुपर्नेलगायत विषय समितिमा राखेको छु, प्रतिलिपि अधिकारका लागि प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजूरी गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको छु”–उनले भने ।

 विसं १९४७ मा तोयनाथ पन्तले प्रकाशन शुरु गर्नुभएको पञ्चाङ्ग हाल उहाँको चौँथो पुस्ताका सूर्यनाथले निरन्तरता दिइरहेका छन् । हाल वार्षिक एक लाख २५ हजार पात्रो छाप्ने गरिएकामा एक लाख बिक्री हुने गरेको छ । तोयनाथको भित्तेपात्रो भने डेढ लाखसम्म बिक्री हुन्छ । तोयनाथको भित्तेपात्रोमा तिथिलगायत पात्रोमा हुने सबै सूचना दिने गरिएको जनाइएको छ ।
 
आकाश दर्शन पात्रोका सम्पादक लोकराज पौडेल पञ्चाङ्गकारले वर्षभर गर्ने गणनाले भित्तेपात्रो प्रकाशक मालामाल हुने गरेको बताउछन् । पात्रोका सबै सामग्री चोरी हुँदा किन वर्षभर दुःख गरेर गणना गर्ने भन्ने प्रश्न उब्जिएको उनले गुनासो गर्नुभयो । यो प्रश्न सबै पञ्चाङ्गकारको छ ।
 
 धेरै भित्तेपात्रो प्रकाशन हुन थालेपछि पात्रोको बिक्री समेत घट्दा पञ्चाङ्गकारको श्रम शोषण भइरहेको छ । सबैको श्रमको सम्मान गर्नका लागि प्रतिलिपि अधिकारको लडाइँमा सहभागी हुनुपर्ने पञ्चाङ्गरको भनाइ छ । यस वर्षलाई समितिले १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ । समितिको स्वीकृत नलिई ज्वाला र मानसखण्ड गरी दुईवटा पञ्चाङ्ग प्रकाशन भएका छन् ।

 ज्वाला पात्रोका पञ्चाङ्गकार गङ्गाप्रसाद ढुङ्गाना पनि यस विषयमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको ध्यान जानुपर्नेमा जोड दिनुहुन्छ । भित्तेपात्रो प्रकाशकले अरु सबै तयारी पहिल्यै गरिराख्ने पात्रो बजारमा आउने वित्तिकै त्यसका सामग्री सारेर प्रकाशन गर्ने गरेको उहाँ बताउछन् ।
 
पात्रोका सूचना भित्तेपात्रोले नै राख्न थालेपछि हाल धेरैले पञ्चाङ्ग किन्दैनन् । भित्तेपात्रो भने घरका कोठा कोठामा झुण्डिने गरेको छ । विश्व ज्योतिष महासङ्घका अध्यक्ष समेत रहनुभएका आकाश दर्शन पात्रोका सम्पादक पौडेल भित्तेपात्रो व्यवस्थापन गर्न सरकारले कार्यविधि मापदण्डलगायत नीतिगत व्यवस्था गर्नुपर्ने बताउछन् ।
    
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा भने पञ्चाङ्गका सामग्री सारेर भित्तेपात्रो प्रकाशन गरिएको लिखित उजूरी परेको छैन । पञ्चाङ्ग निर्णायक समिति र कानून किताब व्यवस्था समितिका सिर्जना धेरै चोरी भइरहेको अनौपचारिक उजूरी एवं बहस भने हुने गरेको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्य बताउछन् ।  
 
 “समितिले आफ्ना सिर्जनाको अधिकार खोज्नुपर्छ, दुवै समितिले आफ्नो वेवसाइटमा यी सामग्री चोर्न पाइन्न, प्रतिलिपि अधिकार लाग्छ भन्ने बाक्यांश राख्नुपर्छ, यसको व्यापक रुपमा प्रचारप्रसार गरिनुपर्छ”–उनले भने ।
 
 वर्षभर पञ्चाङ्ग गणना गरेर बाँच्न नसक्ने भएपछि धेरैले यो पेशा नै छोड्न थालेका छन् । व्यावसायिक रुपमा टिक्न नसक्ने भएपछि भविष्यमा गणक नै नभेटिनसक्छ । पात्रो, भित्तेपात्रोलाई व्यवस्थित गर्नेसहित विषय समेटेर समितिले विसं २०७० मै गठन आदेश मस्यौदा गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाए पनि अहिलेसम्म स्वीकृत हुनसकेको छैन ।
 
मस्यौदा हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पुगेको छ । कानूनको सहमतिपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेर आदेश कार्यान्वयनमा आउँछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ