arrow

'निरन्तर शनिबार'मा प्रयोगवादी कवि धर्मेन्द्र नेम्बाङले सुनाए तीन कविता

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
nirantar-sanibar.jpg

काठमाडौं । निरन्तर शनिबारको यस हप्ताको शृङ्खलामा प्रयोगवादी कवि धर्मेन्द्र नेम्बाङले आफ्ना सिर्जनाहरु सुनाएका छन् । हरेक साता साहित्यका विभिन्न विधाहरुमा कलम चलाउने साहित्यकारहरु भेला भएर गरिने यस कार्यक्रममा हरेक साता एक जना अतिथिलाई आमन्त्रण गर्ने गरिएको छ । यस साताको श्रृङ्खामा भने निरन्तर शनिबारका संस्थापक सदस्य नेम्वाङलाई अतिथि साहित्यकारको रुपमा निम्त्याइएको थियो । 

निरन्तर शनिबारको कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा उनले निरन्तर शनिबारको स्थापनाको पृष्ठभूमिबारे स्मरण गरे । उनले बन्दुकले वसन्तलाई निषेध गरेको समयमा निरङ्कुशताका विरुद्धमा र पूर्ण लोकतन्त्रको पक्षमा साहित्यका माध्यमबाट आवाज बुलन्द पार्न सकिन्छ भनेर निरन्तर शनिबारको स्थापना भएको कुरा सुनाए । 

"राजनीतिकर्मीको साहित्यिक अभियान" भनेर सुरु गरिएको भए तापनि पछि थुप्रै कवि लेखकहरु जोडिँदै जाँदा यस अभियानले व्यापकता पाएको उनले स्मरण गरे ।  देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भए तापनि  निरन्तर शनिबारको ‌औचित्य समाप्त नभएको र प्राप्त उपलब्धीहरुको रक्षा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्ने काममा सहयोग पुर्‍याउन निरन्तर शनिबार जस्ता अभियानहरु अझै आवश्यक रहेको उनको भनाइ थियो । 

निरन्तर शनिबारले आफू जस्ता साहित्य र राजनीति दुबैतिर अग्रसर व्यक्तिलाई निरन्तर उर्जा प्रदान गर्दै आएको बताउँदै उनले यो फोरम राजनीति र साहित्यको संगम स्थलका रूपमा रहेको जिकिर गरे । अहिले बिपी अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका कवि नेम्बाङ निरन्तर शनिबारका संस्थापक सदस्यमध्ये एक हुन्।

बहुरङ्गवादी आन्दोलनका नेतृत्वकर्ता कवि नेम्बाङ इन्द्रेनी राष्ट्रियताको पक्षमा वकालत गर्दै आएका छन् । आफ्नो विचार राख्ने क्रममा उनले नेपालको सांस्कृतिक विविधतालाई सौन्दर्य शास्त्रको आधारका रूपमा स्वीकार्नु पर्ने बताए । पूर्वीय तथा पाश्चात्य दर्शनले मात्र नेपाली विशिष्टतालाई सम्बोधन गर्न नसक्ने भन्दै नेम्बाङले नेपाली मौलिक दर्शनको निर्माणमा जोड दिए । कार्यक्रममा उनले- इन्द्रेनी गाउँ, सोल्टिनीको नाउँमा र देब्रे हातको घडी कि त प्रिय सोल्टिनी गरी तिन वटा कविता सुनाए। साहित्य लेखनलाई खेलको रूपमा लिने नेम्बाङ मूलत: प्रयोगवादी कवि हुन् ।

यस पटकको शृङ्खलामा निरन्तर शनिबारका संस्थापक संयोजक मनोजमणि आचार्य र नेपाली लेखक सङ्घका महासचिव रत्नमणि नेपालको विशेष उपस्थिति रहेको थियो । संस्थापक संयोजक आचार्यले निरन्तर शनिबारको फोरमबाट नेपाली साहित्य र राजनीतिको क्षेत्रमा थुप्रै व्यक्तित्वहरु अगाडि बढेको तथ्य उजागर गरे भने नेलेसका महासचिव नेपालले निरन्तर शनिबार साहित्य र राजनीति सम्बन्धी वैचारिक मन्थन गर्ने थलोको रूपमा रहेको बताए । 

कार्यक्रममा- इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, सुदर्शन शर्मा, सरोज राई, बच्चु हिमांशु, रामराजा तिमल्सिना, पदम दाहाल, सोझो गाउँले लगायतले आआफ्ना रचनाहरु(कविता, गीत, गजल, मुक्तक) सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम आउँदो शनिबार बिहान ७ बजे 'रेडियो अन्नपूर्ण ९४ मेगाहर्ज'बाट प्रसारण हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ