arrow

बजेट आउनै लाग्दा बजारमा चुरोटको कृतिम अभाव र कालोबजारी

नेपालमा वार्षिक अरबौं खिल्ली खपत हुन्छ चुरोट

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
Cigarrette-768x611.jpg

बजेट आउनै लाग्दा बजारमा चुरोटको कृतिम अभाव र कालोबजारी
काठमाडौं । बजेट आउन केही दिन मात्रै बाँकी रहँदा बजारमा सूर्तीजन्य पदार्थको कालोबजारी सुरु भएको छ । बजेटका विभिन्न शीर्षकमा कर बढ्नसक्ने आशंकामा व्यवसायीहरुले चुरोटको कृतिम अभाव देखाएर कालोबजारी गर्ने गरेको भेटिएको छ । बजारमा पाईने विभिन्न ब्राण्डका चुरोटहरुको प्रति खिल्ली कम्तिमा ३ रुपैयाँसम्म अघोषित मूल्यबृद्धि गरिएको छ । खुद्रा व्यापारीहरुले चुरोटको अभाव देखाएर सोही मौकामा अतिरिक्त रकम लिएर मात्रै चुरोट विक्री गर्ने गरेका हुन् । 

बजारमा धेरै विक्रीहुने सूर्य चुरोट यस अघि प्रतिखिल्ली १२ रुपैयाँ रहेकोमा अहिले खुद्रा व्यापारीहरुले प्रति खिल्ली १५ रुपैयाँ तिर्न बाध्य भएका छन् । सूर्य नेपाल प्रालिमा यसबारे बुझ्दा कम्पनीले भने अहिले पनि उत्पादनमा कमि नआएको र बजारमा पठाउने परिणाममा पनि कमि नआएको बताएको छ । तर, खुद्रा व्यापारीहरुले भने कम्पनीले नै अहिले चुरोट पठाउन कम गरेको भन्दै बढी शुल्क लिन बाध्य भएको उल्लेख गरेका छन् । विशेषगरी सूर्य चुरोट अहिले कम्पनीबाट नै कम विक्री हुने गरेको काठमाडौंका खुद्रा व्यापारीहरुले बताएका छन् । 

अर्काे तर्फ चौतारी लगायतका चुरोट उत्पादन गर्ने गोर्खा लहरी प्रा लिले पनि चुरोटको उत्पादन र विक्रीमा कमि नआएको उल्लेख गरेको छ । प्रालिका उपाध्यक्ष आत्माराम पोखरेलले पहिले र अहिले उत्पादन र बजारमा हुने विक्रीमा कुनै कमि नआएको दाबी गरे । उनले कालो बजारी र कृतिम अभाव देखाईएको भए त्यो खुद्रा व्यापारीहरुले गराएको हुनसक्ने आरोप पनि लगाए । 

हरेक वर्ष जस्तो मदिरा र सूर्तीजन्य पदार्थहरुमा सरकारले थप कर लगाउँदै आएको छ । कहिले के शीर्षकमा त कहिले कुन् शीर्षकमा प्रत्येक वर्ष कर रकममा बृछि हुँदै जाने भएकोले यस वर्ष पनि चुरोट कम्पनीहरुले पहिले नै कृतिम अभाव देखाएका हुन् । झण्डै १० वर्षमा २ रुपैयाँको चुरोट अहिले १५ रुपैयाँ पुगिसकेको छ । यो वर्ष पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका योजनाहरुलाई हेर्दा यस क्षेत्रको कर बढाउने सम्भावना देखिएको छ । जसका कारण पुरानो उत्पादनलाई नयाँ मूल्यमा बेचेर अतिरिक्त लाभ कमाउने प्रयासमा कम्पनीहरु लागेको देखिएको छ । 

चालू आर्थिक वर्षको बजेटमा पनि सरकारले मदिरा, चुरोट, सूर्तीजन्य पदार्थ जस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुमा अन्तःशुल्क वृद्धि गरेको थियो । साथै सरकारले कोका मिश्रित चकलेट, पर्फ्यूम, खेलौना तथा रेफ्रिजेरेटर जस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको थियो । चालू आर्थिक वर्षमा नै सरकारले चुरोटको उत्पादन र पैठारीमा प्रति खिल्ली पच्चिस पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने व्यवस्था गरेको थियो।

त्यस्तै अप्रत्यक्ष कर अन्तर्गत् सरकारले महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्यानिटरी, इलेक्ट्रोनिक्स एवम् निर्माण सामाग्री लगायतका वस्तुहरूको कारोवार अनिवार्य रूपमा मूल्य अभिबृद्धि करमा दर्ता हुनु पर्ने व्यवस्था गरेको थियो ।

नेपालमा कति हुन्छ चुरोटको खपत ?
नेपालमा आजको दिनमा कति चुरोट खपत हुन्छ ? भन्नेबारेमा अहिलेसम्म कुनै रिपोर्ट बाहिर आएको छैन । तर, ७ वर्ष पहिले विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले भने हरेक वर्ष नेपालमा ५ करोड खिल्लीको दरमा चुरोटको खपत हुने गरेको छ । विभिन्न ५ वर्षको अध्ययन गरी तयार पारेको सो रिपोर्टमध्ये सन् २००६/०७ मा ९ अर्ब ९७ करोड खिल्ली चुरोट विक्री भएकोमा सन् २००७/०८ मा त्यसको ७५ करोड बढेर १० अर्ब ७१ करोड खिल्ली चुरोट विक्री भएको थियो । त्यो भन्दा अर्काे वर्ष अर्थात् सन् २००८देखि ०९ सम्म ११ अर्ब १३ करोड खिल्ली चुरोट विक्री भएको संगठनको ‘व्रिफ प्रोफाईल अन टोबाको कन्ट्रोल इन नेपाल’ नामक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । संगठनले यो तथ्यको स्रोत अर्थमन्त्रालय उल्लेख गरेको छ।

यसलाई आधारमान्ने हो भने झण्डै १८ अर्ब खिल्ली वार्षिक विक्री हुने गरेको छ । यो तथ्यांक संगठनले तयार पारेको वर्षसम्मको बृद्धिदरको आधारमा तयार पारिएको हो । २००९ मा ११ अर्ब खिल्ली विक्री भएको छ र सरदर ५० करोड वार्षिक चुरोट खपत बढ्ने गरेको छ । जसलाई हिसाव गर्दा १० वर्षपछि अर्थात् चालू आर्थिक वर्षमा सरदर वार्षिक ५ अर्ब खिल्ली बढी चुरोट अर्थात् १६ अर्ब भन्दा बढी चुरोट एक वर्षमा विक्री हुने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ