अनुकरणीय बन्दै आचार्यको व्यावसायिकता

वासुदेव पौडेल, प्रकाशित मिति : २०७६ बैशाख २९ आइतबार

पोखरा । तीन रोपनी क्षेत्रफलको जग्गामा लगाएको फर्सी फल्न थालिसकेको छ । उता चार रोपनीमा लगाइएको घिरौंला, काँक्रा, फर्सी, भेन्टा कोही फल्न थालेको छ त कोही फुल्दैछ, गोठमा ६६ गाई पनि छन् ।

फल्दै र फुल्दै गरेका तरकारीका साथै गोठमा पालिएका ६६ गाईका कारण दैनिकी व्यस्त भए पनि पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका अगुवा कृषक ठाकुर आचार्य आफ्नो व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ । उहाँको व्यवसायका कारण तरकारी खेती र गाईपालनतर्फ चार÷चारले प्रत्यक्ष रोजगारी पाएका छन् नै अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या अझै बढी छ ।

रोजगारीको खोजीमा विदेशिने युवाका लागि खट्न सके विदेशमा भन्दा यही नै धेरै सम्भावना छन् भन्ने दरिलो प्रमाण बन्नुभएको छ आचार्य । अघिल्लो वर्ष तरकारी खेतीबाट सम्पूर्ण खर्च कटाएर रु चार लाख फाइदा भएको बताउने आचार्यले अहिले त्यो भन्दा अझै बढी आम्दानी गर्ने लक्ष्य राखे पनि केही दिनअघि आएको असिनाका कारण भने आफू मर्कामा परेको बताउनुभयो ।

प्रकृतिसँग कसको के लाग्थ्यो र केही दिनअघि परेको असिनाले आचार्यको बारीमा फल्दै गरेको झण्डै ८०० किलो फर्सीलाई भने क्षति पु¥यायो । “मर्कामा परे त किसान नै परे, के गर्नु हाम्रोमा प्रकृतिजन्य प्रकोपमा सरकारी निकायबाट वास्तविक कृषकले क्षतिपूर्ति पाउने प्रचलन छैन”, उहाँले भन्नुभयो, “पहिलो छिमलमा फल्दै गरेका फर्सी र तरकारीमा क्षति बनाए पनि अब असिना नपरी दिएहुन्थ्यो ।”

यस वर्ष पनि सबै खर्च कटाएर रु चार लाखसम्म आम्दानी गर्ने आचार्यको लक्ष्य छ । राज्यले प्राकृतिक विपत्तिका कारण मर्कामा परेका वास्तविक कृषकलाई राहत तथा क्षतिपूर्ति दिने हो भने कृषिको व्यवसायिकतातर्फ आकर्षण बढेर जाने उहाँले बताउनुभयो ।

कृषिमा वर्षेनी ठूलो अनुदान सहयोग वितरण हुने भए पनि कमै मात्र वास्तविक कृषकले उक्त अनुदान पाउने गरेको उहाँको दुःखेसो छ । कागजात मिलाउने झोले कृषकले अनुदान पाउने, वास्तविक कृषकपछि पर्ने प्रवृत्तिको अन्त्य नहुँदासम्म व्यावसायिक कृषिप्रतिको आकर्षण बढाउन नसकिने उहाँको भनाइ छ । व्यावसायिक कृषिका लागि आचार्यले ५५ रोपनी जग्गा भाडामा लिनुभएको छ ।

बारीमा तरकारी फल्न थालिसकेको जानकारी दिँदै उहाँले यस वर्ष पहिलो चरणमा २०० किलो फर्सी र ४० किलो काँक्रो बिक्री गरिसकेको बताउनुभयो । फलाइएका तरकारी बारीबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । एक दशकअघि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई विसं २०६६ चैतमा समातेर बाँधेसँगै आचार्यको कृषितर्फको व्यावसायिकता शुरु भएको हो ।

गाईपालनसँगै तरकारी खेतीका लागि मल पर्याप्त हुन थालेपछि उहाँले गाईपालन र तरकारी खेतीलाई सँगसँगै अघि बढाउनुभएको हो । गाईपालनलाई व्यवस्थित गर्ने सोचका साथ आचार्य गाईफार्मका रुपमा दर्ता गरी सञ्चालन गरेका उहाँको फार्ममा मात्रै अहिलेसम्म झण्डै रु डेढ करोड लगानी भइसकेको छ ।

पैसा कमाउने इच्छासँगै १४ वर्षे कलिलै उमेरमा भारतको केरलामा पुगेका आचार्यले डेढ दशक विदेशमै बिताउनुभयो । त्यहाँको बसाइँले उहाँलाई स्वदेशमा नै केही गनुपर्छ भन्ने पाठ मात्र सिकाएन, अरुका लागि पनि अनुकरणीय बनायो । विदेशमा गर्ने दुःख यहीँ ग¥यो भने जीविकोपार्जनसँगै मनग्य आम्दानीका साथै अरुलाई पनि रोजगारी दिन सकिने कुराको दरिलो उदाहरण बन्नुभएको आचार्य ।

फार्मबाट दैनिक २६० लिटर दूधका साथै तरकारी पनि बिक्री हुने गरेको छ । फार्ममा पालिएका राँगो तथा बहर पनि उहाँको आम्दानीको स्रोत बनेको छ । सम्भावित जोखिमबाट मुक्त बन्न उहाँले रु ९१ लाख बराबरको पशु बीमासमेत गर्नुभएको छ । व्यावसायिक कृषितर्फको आकर्षण बढिरहेको बागमारा र आसपासका अन्य कृषकका लागि उहाँले नर्सरीमा तरकारीका बिरुवा उत्पादन गर्दै त्यसबाट पनि वर्षेनी करीब रु दुई लाख आम्दानी गर्नुभएको छ ।

व्यवसायका लागि परिवारको समेत साथ र सहयोग आवश्यक पर्ने बताउने आचार्यलाई उहाँकी श्रीमती गङ्गाले निरन्तर सहयोग गर्दै आउनुभएको छ । व्यावसायिक कृषिबाटै निरन्तरको आम्दानीका साथै परिवारको राम्रो जीवनयापन गरेका आचार्यका छोरा शिव लमजुङस्थित कृषि क्याम्पसबाट बिएससी एग्रिकल्चर पढाइ सकी रामपुर क्याम्पसबाट एमएस्सी एग्रिकल्चरको अध्ययन गरिरहनुभएको छ भने छोरी पूजा व्यवस्थापनमा स्नातक पढ्दै हुनुहुन्छ ।

व्यावसायिक कृषि गर्न सके स्वदेशमा नै स्वरोजगार बन्न सकिने बताउँदै उहाँले रोजगारीको खोजीमा विदेशिने युवालाई यहीँ केही गर्न सुझाव दिनुभयो । “रोजगारी पाइएन भनेर विदेश भौतारिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “यहीँ धेरै सम्भावना छन्, व्यावसायिक कृषिको विकासका लागि वास्तविक कृषकलाई अनुदान तथा सहयोग गर्ने वातावरण तयार गर्दै राज्यले उनीहरूलाई प्रोत्साहित गर्र्नुपर्छ ।” रासस

नयाँ