arrow

छायाँ सरकारको औचित्य र आवश्यकता

logo
डा.डिला संग्रौला 
प्रकाशित २०७६ जेठ १५ बुधबार
dila-sangraula.jpg

नेपाली काँग्रेस संसदीय लोकतन्त्रको हिमायती पार्टी हो । लामो समयसम्म संसदीय लोकतन्त्रको अभ्यासमा धेरै समयसम्म काँग्रेस सत्तापक्ष वा सरकारको भूमिकामा नै रह्यो । नेपाली राजनीतिमा धेरै उतारचढाव र अप्ठ्यारो परिस्थिीतिलाई पार गर्दै इतिहासको हरेक कालखण्डमा अनेकौ परिवर्तनको नेतृत्व गर्ने पार्टी आज तीनै तहको निर्वाचन पछि प्रतिपक्षको भूमिकामा छ भने धेरै समयसम्म प्रतिपक्षको भूमिकामा रहि छायाँ सरकारको समेत अनुभव वटुलिसकेको तत्कालीन एमाले अर्थात अहिलेको नेकपा कम्युनिष्ट पार्टी सत्तापक्षमा छ । 

ढिलै भएपनि नेपाली काँग्रेसले यहि जेष्ठ ६ गते दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधान धारा ९ को उपधारा ५ (क) बमोजिम सक्रिय रुपमा कार्यसम्पादन गर्नको लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेको छ । यसको गठनको सँगसँगै यसका बारेमा अनेक प्रकारका टिकाटिप्पणी पनि शुरु भएका छन् भने छायाँ सरकारको औचित्य र आवश्यकता किन भयो ? भनी अनेक प्रकारका दृष्टिकोणहरु प्रस्फुष्टित भईरहेको प्ररिपेक्ष छ । 

छायाँ सरकारले खबरदारी गर्न सचेतकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । जुन आफैमा स्वागत योग्य कुरा पनि हो । लोकतन्त्रमा छायाँ सरकार गठन हुनु आफैमा राम्रो पक्ष पनि हो किनभने छायाँ सरकार संसदीय प्रणालीको प्रतिबिम्ब पनि हो । संसदीय पद्धती भनेको सरकार र विपक्षीको भूमिकाद्वारा सञ्चालित हुने संसदीय शासन व्यबस्था हो । त्यसैले यसलाई संसदीय व्यबस्थाको गहनाको रुपमा मानिन्छ । सैद्धान्तिक रुपमा छायाँ सरकारको गठन गर्नु अत्यन्त सकारात्मक पक्ष हो । यसले सत्ता पक्षले गरेका वा गर्न लागेका कुनै गल्ती हुन नदिन वा तत्कालै सच्याउन सहयोग नै पुर्याउँदछ । किनभने विपक्षी दलले सरकारका काम कारवाहीलाई सचेतकको रुपमा हेरिरहेको हुन्छ  ।

यस्तो कार्यलाई व्यबस्थित र सफल तुल्याउन अहिले गठन भएको छायाँ सरकारलाई सहि बाटोमा हिडाउन र खबरदारी गर्दै निगरानी गर्न बल पुर्याउदछ । किनभने यस किसिमको अभ्यास बिभिन्न लोकतान्त्रिक देशमा हुने गर्दछ । सरकारलाई सहि मार्गमा निर्देशन गर्न यसको आवश्यकता पनि छ । किनभने छायाँसरकारका मन्त्रीहरुले मन्त्रालयका मन्त्रीका आ–आफ्ना विभागमा मन्त्रालयका काम नजिकबाट निहालिरहेका हुन्छन् । छायाँ सरकारको सुन्दर पक्ष भनेको सरकारका हरेक मन्त्रालयमा भएका हरेक गतिविधि र काम कारवाहीलाई नजिकबाट निगरानी राख्ने, सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, गलत काम भए तत्काल सच्याउन लगाउने र अनुभव साटासाट गर्ने माध्यम पनि हो । 

छायाँ सरकार गठन गर्ने परिपाटी कुनै नौलो होइन् । लोकतान्त्रिक संसदीय पद्धतीको जननी भनेर प्रख्यात बेलायतमा वेष्ट मिनिष्टर प्रणालीले नै संसारलाई यस परिपाटीसँग परिचित गराएको छ ।  यसमा संसदीय प्रणाली मार्फत सरकार बनाउने गरिन्छ । त्यसपछि अन्य मुलुकहरुमा अष्ट्रेलिया, क्यानडा, इटली, आयरल्याण्ड, जापान, लिथुयानीया, मलेसिया, श्रीलंका, स्लोभानिया, दक्षिण अफ्रिका, थाइल्याण्ड, युक्रेन आदि जस्ता मुलुकमा यसको प्रयोग गरेको इतिहास पाइन्छ । 

हाम्रो देशमा पनि विगतमा नेपाली काँग्रेस संसदमा भएको बेला तत्कालीन एमाले पार्टीले मनमोहन अधिकारीको नेतृत्वमा छाया सरकार गठन गरिसकेको इतिहास छ । त्यसैले कुनै पनि सरकारलाई अझ गतिशिल, उर्जावान बनाउन छायाँ सरकारको माध्यमबाट प्रतिपक्षले इमान्दारीका साथ जिम्मेवारी बहन गर्ने कार्य गर्ने हो भने यसले देश र जनतालाई भलो पुर्याउँदछ भने अर्कोतर्फ संसदीय व्यबस्थलाई अझ शशक्त पार्दै उर्जा प्रदान गर्न मद्दत पुर्याउनुको साथै मिठो परिनीतिको अनुभुती जनताले गर्नेछन् । 

यही उद्देश्य राखेर प्रतिपक्ष दल नेपाली काँग्रेसले छायाँसरकार गठन गरेको छ किनभने आजको सरकार पूर्ण बहुमतको छ कतै बहुमतको सरकारमा उन्मात लागेर बिचलनको बाटोमा गयो भने खबरदारी गर्न मद्दत पुर्याउँदछ । यसैले कुनै पनि राजनीतिक प्रतिशोधको बिषय नबनाएर दुबै पक्ष अगाडी वढेमा यसले सबैको लागि भलो नै गर्दछ । त्यसैले अहिले बनेको छायाँ सरकारको अबको मार्गचित्र निम्नअनुसारको हुन जरुरी छ । 

कार्यविधि 
यो गठित छायाँ सरकारलाई सञ्चालन र परिचालन गर्न तत्काल नेपाली काँग्रेसको संसदीय दलले कार्यविधि निर्माण गरेर आफ्ना छायाँ मन्त्रीलाई मार्गनिर्देशक र मापदण्ड बनाइदिनुपर्छ । त्यही मार्गचित्रले मात्र छायाँ सरकारको काम, कारबाही र क्रियाकलाप सञ्चालित हुन पुग्दछ । 

रचनात्मक कार्यमा सकारात्मक भूमिका 
छायाँ मन्त्रीको काम केबल सत्तापक्षका मन्त्रीहरुले गरेका काम कारबाहीको नकारात्मक टिका टिप्पणी मात्र गर्नु होईन् । यदि राम्रो काम सम्बन्धित मन्त्रालयबाट भईरहेको छ भने सकारात्मक ढंगले मन्त्रीसँग समन्वय गरेर थप सहयोग र हौसला प्रदान गर्नुको साथै सधै सकारात्मक दिशातर्फ लैजान अभिप्रेरित गर्नु पनि हो । त्यसैले सचेतकको रुपमा रचनात्मक भूमिका निर्माण गर्न सक्नुपर्दछ । 

नराम्रा कामका लागि आन्तरिक रुपमा सुधार गर्न पहल कदमी गर्ने 
सरकारका मन्त्रीहरुबाट केहि कमी कमजोरी भएपनि त्यसलाई सुधार गर्न छायाँ मन्त्रीले पनि  एक आपसमा पनि सरसल्लाह र विचार विमर्श गरी आन्तरिक रुपमा कमीकमजोरीलाई सुधार गर्न पहल कदमी गर्नुपर्दछ । 

कमी कमजोरीलाई सच्याउन खबरदारी गर्ने 
सरकारका मन्त्रीहरुले आ–आफ्नो मातहतका जनताका पक्षमा राम्रो काम गर्न सकेनन् अर्थात सुशासन र विकास दिन सकेनन् भने एकपटक खबरदारी गर्ने तर खबरदारी गर्दा पनि आफ्ना गतिविधिलाई सच्याएनन् भने सार्वजनिक रुपमा त्यो बिषयलाई बहसको बिषय बनाएर दबाब सिर्जना गर्न सक्नुपर्दछ । 

बिषयबस्तुपतिको ज्ञान लिन परामर्श र छलफल 
सबै कुरामा कोहि पनि ज्ञाता हुँदैनन् । त्यसैले आ–आफ्ना मन्त्रालमा विविध बिषयबस्तुको बारेमा ज्ञान लिन दक्ष बिषयबस्तुको ज्ञातासँग बारम्बार छलफल तथा परामर्श गर्नुपर्छ । जसले छायाँसरकारको मन्त्रीमा पनि ज्ञान, सिप, क्षमातामा निखार आउँदछ । 

पूर्वाग्रहरहित देश जनताप्रति समर्पित
छायाँसरकारका मन्त्रीले कहिल्यै पनि पूर्वाग्रही ढंगले सरकारका मन्त्रीलाई व्यबहार गरिनुहुदैन् भने सरकारका मन्त्रीले पनि दुश्मन जस्तो ब्यबहार त्यागी मित्रवत व्यबहार राख्नुपर्छ । यी दुबैको सम्बन्ध नङ र मासुजस्तो हुनु जरुरी छ । तबमात्र देश र जनताप्रति समपणको भावना जागृत हुन्छ नकी बदलाको भावना । 

बैकल्पिक अवधारणा पेश गर्न सक्नुपर्ने 
छायाँसरकार भनेको ‘गभरमेन्ट इन वेटिङ’’ अर्थात वैकल्पिक सरकार पनि हो । त्यसैले छायाँमन्त्रीले सम्बन्धित मन्त्रालयका काम कारवाही पारदर्शी जवाफदेही, मर्यादित बनाउन र कसरी मन्त्रालय चलाउने भनेर बैकल्पिक अवधारणा प्रस्तुत गर्नुपर्दछ । जसले गर्दा सम्बन्धित मन्त्रीलाई पनि आफ्नो मन्त्रालयलाई दु्रततर गतिमा अगाडी वढ्न सहयोग पुग्दछ भने त्यस मन्त्रालयबाट बन्ने नीति, नियम कानुन बनाउन पनि  सहयोग पुर्याउँदछ । यसरी निरन्तर रुपमा ल्याईने बैकल्पिक अवधारणाले एउटा सिंगो दस्तावेजको रुप लियर सरकारलाई सही मार्गमा डोराउन मार्गचित्र निर्माण हुन सक्दछ । किनभने छायाँ सरकारप्रतिको हल्का टिका टिप्पणीलाई चिरफार गर्न र अन्तर्राष्ट्रिय जगतमा भएका अभ्यासलाई पनि बुझ्न मद्दत पुग्दछ । 

जिम्मेवारीपूर्ण छायाँ सरकारको भूमिका 
छायाँसरकार जहिले पनि जिम्मेवारीपूर्ण र वफादारीको कसीमा उभिन सक्ने सचेतक वा ‘वाचडग’ हो । ‘वाच डग’ को रुपमा आफ्ना गतिविधि र क्रियाकलाप सञ्चालन गर्न सकेमा मात्र छायाँसरकार संसदीय व्यबस्थाको मेरुदण्डको आभूषण हुन पुग्दछ । छायाँ सरकार आफैमा राम्रो कुरा हो यसले सत्तापक्षले गर्न लागेका राम्रो कुरा हो । यसले सत्तापक्षले गरेका र गर्न लागेका कुनै पनि बिषयबस्तुलाई सुक्ष्म रुपले अध्ययन गरी कुनै पनि गल्ती गरे तत्काल सच्याउन मद्दत गर्दछ भने प्रतिपक्षले पनि बिषयबस्तुको बारेमा सतही रुपमा गर्ने टिका टिप्पणीको अन्त्य हुन जान्छ । त्यसैले छायाँ सरकार जिम्मेवारपूर्ण वैकल्पिक सरकार हो । 

अन्त्यमा, वर्तमान सरकार गठन भएको १५ महिनाजति भैसक्यो तर यो सरकार लोककल्याणकारी मार्गबाट बिचलित हुँदै अलि दम्मकारी शैलीबाट अगाडी वढेको छ । सरकारको प्राथमिकता शान्ति, सुरक्षा, शुसासन र विकास भएतापनि यी सबै पक्षमा सकारात्मक ढंगले सुधार हुन सकिरहेको छैन् भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस पनि सशक्त प्रतिपक्षको भूमिका निभाउन सकेन भनेर जनगुनासो आईरहेको परिप्रक्ष्यमा छायाँसरकारको गठन गरिनु यी दुबै पक्षलाई फलदायी नै हुन्छ । किनभने छायाँ सरकारको मार्फत जनतामा देखा परेका निराशालाई चिरी नयाँ आशा भरोसमा परिणत गर्न अत्यन्त ठुलो सहयोग पुग्दछ । त्यसैले छायाँ सरकारले सरकारको कामकारवाहीलाई नजिकबाट निहालेर कार्य गर्नु यसको दायित्व पनि हुन्छ । त्यसैले छायाँ सरकारको औचित्य र आवश्यकता सान्दर्भिक छ । (संग्रौला काँग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य हुन्) 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ