arrow

नेकपामा सत्य र झुठको लडाइँ 

कार्यकर्ताको दुर्दशा, नेताको बढाइँचढाइँ 

logo
प्रकाशित २०७६ असार ९ सोमबार
ncp-flag.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला सत्य र झुठको लडाइँ लडिरहेको छ । सत्तारुढ दल भए पनि यसभित्रको झुठ र सत्यबीचको द्धन्द्ध पराकाष्ठामा पुगेको छ । 

विपक्षीले केपी शर्मा ओली (प्रधानमन्त्री एवं नेकपा अध्यक्ष) लाई करप्रसाद हुँदै झुठप्रसाद भन्नु स्वभाविकै हो । कारण उनले गरेका वाचा पूरा गरेका छैनन् । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत यसमा सहमत छन् । आरोप नभइ यो यथार्थ नै भएको उनको ठम्याइ छ । 

तर ओली उनकै पार्टीभित्र झुठो सावित हुँदा के हुन्छ ? र, भइरहेका पनि छन् । उनको नेतृत्व कमजोरीका कारण नेकपा अहिलेसम्म पूर्णरुपले एकीकृत हुनै सकेको छैन । 

यसै पनि नेकपाले मिडिया काउन्सिल विधेयक ल्याएर आफ्नो विरुद्धमा लेख्ने र बोल्ने संचारमाध्यमलाई ठेगान लगाउने प्रपञ्च रचिरहेकै छ । त्यसमाथि आफ्नै नेताहरुले दुई थरी कुरा गर्दा के भनेर लेख्ने ? 

यो मामलामा स्वयं ओली र संचारमन्त्री गोकुल बाँस्कोटाले आफ्ना भनेर किटेकै मिडियालाई पनि समस्या पर्ने निश्चित छ । 

आफू नै इमानदार भनी नेताहरुले वर्णन गरिरहँदा कार्यकर्ता कता लाग्ने भनी अन्योलमा हुनु स्वभाविकै हो । त्यस्तै भइरहेको छ नेकपाको सचिवालय बैठक । 

लामो समयको प्रतिक्षापछि गत शनिबार (असार ७ गते) बसेको नेकपा सचिवालय बैठकपछि आएको प्रतिक्रिया त्यस्तै दोधारे चरित्रको थियो । 

नौ सदस्यीय सचिवालय बैठकबाट बाहिरिएर दुई नेताले मिडियालाई बैठकबारे जानकारी दिए । त्यो पनि फरक फरक जानकारी । 

बैठक सकिएपछि बाहिर निस्किएका सचिवालय सदस्य वामदेव गौतमले शनिबार कुनै एजेण्डामा छलफल नभएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमण र समसामयिक विषयमा मात्र कुराकानी भएको भन्दै मिडियाबाट पन्छिने काम गरे । 

तर सोही बैठकबाट बाहिरिएका सचिवालय सदस्य एवं नेकपा महासचिव विष्णु पौडेलले भने बैठकमा छलफल भएका एजेण्डाको फेहरिस्त सुनाए ।

अब प्रश्न उठ्छ यी दुई मध्ये को नेता झुठो बोलिरहेका छन् भनेर । एउटै बैठकबाट बाहिर निस्किएर नेताहरुले फरक फरक विचार दिनुले जनता र कार्यकर्तामा भ्रम त फैलिएको छ नै सचिवालय बैठकको औचित्यबारे पनि प्रश्न खडा गरेको छ । 

पार्टीभित्र आफ्नो गुटलाई बचाउने र अर्को गुटलाई सिध्याउने नीति लिएकै कारण नेताहरु आफू सुहाउँदो प्रतिक्रिया दिँदै हिँडिरहेका छन् । एउटै मिडियालाई दुई नेताले एउटै बैठकको जानकारी फरक फरक दिएपछि नेकपाभित्र सत्य र झुठबीच ठूलै लडाइँ चलिरहेको स्पष्टै हुन्छ । 

गुटगत राजनीतिका कारण एकले अर्कालाई गलत देखाउन दिइएको अभिव्यक्ति हो भने पनि यसले पार्टी एकता र सरकार सञ्चालनमा गम्भीर असर पारेको बुझ्न कठिन छैन । 

दुईमध्ये एक नेताले त झुठो बोलेकै हो । जसले झुठो बोलेको भएपनि एकातिर नेकपाको एकतामा शंका बढाइरहेको छ भने अर्कातिर सरकार कमजोर भएर पार्टीको साथ पाउन छाडेको बुझ्न जनतालाई मद्दत मिलिरहेको छ । 

स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बस्न नसकिरहेका बेलामा सचिवालय बैठकमै हुने गरेको विश्वासको संकटले नेकपाको विजोग छर्लङ्ग हुँदै गएको छ । कतै पूर्र्णएकता भन्दाभन्दै र कुनै समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार सरकारको नेतृत्व भनिरहेका बेलामा ओलीको विदाईको समय आएको त हैन ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ