- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको भानु नगरपालिका पुगेका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई भानुभक्तीय टोपी (बिर्खे टोपी) लगाइदिँदै भानु नगरपालिकाका प्रमुख उदयराज गौली । नगरपालिकाले असार १ गतेदेखि कर्मचारी र जनप्रतिनिधिलाई बिर्खे टोपी लगाउन अनिवार्य गरेको छ ।
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले असार १ बाट बिर्खे टोपी लगाउन शुरु गरेका हुन् ।
नगर कार्यपालिकाको बैठकले असार १ गतेबाट कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेपछि उक्त निर्णयलाई व्यवहारमा लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार नगरपालिकाभित्र कार्यरत १०० भन्दा बढी कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेका छन् । राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउनुका साथै प्रचारप्रसारका लागि भानुभक्तीय टोपी लगाउन कर्मचारीलाई आग्रह गरेबमोजिम कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेको नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।
उनले भने, “आदिकविको सम्मान र प्रचारप्रसार गर्ने उद्देश्यसहित यस्तो नियम लागू गरिएको हो ।” उनका अनुसार नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने तयारी गरेको छ ।