arrow

सर्लाही प्रहरीलाई गोली हान्न ख्यालख्यालः जनतामाथि गोली चलाउँदा एकको मृत्यु, दर्जन बढी घाईते

प्रहरीको निशाना टाउकैमा, मृत्यु हुनेको पनि टाउकैमा गोली

logo
प्रकाशित २०७६ असार १५ आइतबार
sarlahi-jhadap-death.jpg

सर्लाही। सर्लाहीमा अहिले प्रहरीलाई शान्तिसुरक्षा कायम गर्ने नाममा गोली चलाउनु ख्यालख्याल भएको छ। विप्लव नेतृत्वको नेकपाका इन्चार्ज कुमार पौडेललाई हात खुट्टा भाँचेर इन्काउन्टरको नाममा गोली हानी मारेको आरोप लागेको सर्लाही प्रहरीले फेरि जनताको विरोध प्रदर्शनमा गोली चलाएको छ। प्रहरीको गोली लागि एक व्यक्तिको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्।  

सर्लाहीको बाँके जङ्गलमा प्रदर्शनकारीमाथि प्रहरीले दिउँसो गोली हान्दा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपमा प्रहरीले चलाएको गोली लागी ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आइतवार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चौकमा शव ल्याएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले राजमार्ग खुलाउने क्रममा बल प्रयोग गरेको थियो।

झडपमा परी टाउकोमा गोली लागेका देवन महतोको घटनास्थलमै मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । घटनामा परी अर्का एक जना प्रदर्शनकारी घाईते भएका छन्। उनको परिचय खुलेको छैन् ।

प्रदर्शनकारीको तर्फबाट ढुङ्गा प्रहार हुँदा १३ जना प्रहरी घाईते भएका छन् । सशस्त्र प्रहरीतर्फ पनि केही सुरक्षाकर्मी घाईते भएका छन् । घाईते सुरक्षाकर्मीको लालबन्दी र हरिवनका विभिन्न स्वास्थ्य संस्थामा उपचार भएको छ । स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरीले १४ शेल अश्रु ग्याँस र करिव दुई दर्जन हवाई फायर गरेको थियो। सशस्त्र प्रहरीको तर्फबाट पनि फायरिङ भएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले सडक खुलाउन खोज्दा प्रदर्शनकारीबाट प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि अश्रुग्याँस र हवाई फायर गरिएको दावी गरे। उनका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ। गोली लागेर मृत्यु भएका देवन महतो र डुबेर मृत्यु भएका अमित राय दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ