arrow

नेपालले लिँदै आएको एक चीन नीतिको चीनद्धारा प्रशंसा, सीलाई नेपाल भ्रमणको निम्तो 

logo
प्रकाशित २०७६ असार १८ बुधबार
shankar-pokharel-china.jpg

बुटवल । चीन भ्रमणमा रहेका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । 
     
भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको भ्रमणदलका सदस्य तथा उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
 
 सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको विचार व्यक्त गरे ।
     
मुख्यमन्त्रीले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाए । 
    
 उनले गभर्नर लीलाई प्रदेश नं ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरे । उनले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको बताउँदै छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकामा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए ।     

 यसैगरी मुख्यमन्त्री पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङले पनि मङ्गलबार भेटवार्ता गरेका छन् । 

भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पुर्याएको बताए । 

उनले नेकपा र नेपालले लिँदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताएको प्रेस सल्लाहकार केसीले जानकारी दिए ।
   
 सो अवसरमा मुख्यमन्त्री पोखरेलले नेपाली नागरिक राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको प्रतिक्षामा रहेको र यो सन्देश पुर्याउन नेता सङलाई आग्रह गरे । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमबार छेन्दु आइपुगेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ