कोइला खानीमा काम गर्थे मण्डेला, मुखमा पिसाव गर्ने जेलरसँग यस्तो सद्भाव
जसको नाममा जीवित हुँदा नै राष्ट्रसंघले घोषणा गरेको थियो अन्तर्राष्ट्रिय दिवस
प्रकाशित २०७६ साउन २ बिहिबार
504
Shares
काठमाडौं । विश्व प्रसिद्ध व्याक्ति नेल्सन मण्डेलाले रंगभेद विरुद्धको संघर्षमा २७ वर्ष जेलमा कटाए । तर, उनले न कहिल्यै हार माने, न आफ्ना समर्थकहरुलाई मान्न दिए । उनै व्यक्ति पछि दक्षिण अफ्रीकाका राष्ट्रपति बने । उनले आफ्नो जीवनमा रंगभेदी, जातीभेदी नेतृत्वविरुद्ध अनवरत लडेर दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रप्रमुख बने।
रंगभेद मेटाउन मण्डेलाको योगदानलाई लिएर संयुक्त राष्ट्र महासभाले सन् २००९ मा उनको जन्मदिनलाई 'मण्डेला दिवस' को रूपमा घोषणा गर्यो । उनी जीवित हुँदै यो घोषणा गरिएको थियो ।
नेल्सन मण्डेलाको जन्म दक्षिण अफ्रीकामा बासा नदीको किनारा ट्रांसकीको मर्वेजो गाँउमा भएको थियो । मण्डेलाको जन्म दक्षिण अफ्रिकामा १८ जुलाई १९१८ मा भएको थियो । उनलाई मानिसहरु मायाले मदीबा भनेर बोलाउथे । मण्डेला १० मे १९९४ देखी १४ जून १९९९ सम्म दक्षिण अफ्रीकाको राष्ट्रपति रहे । उनि अफ्रीकाको पहिलो अश्वेत राष्ट्रपति थिए । उनको सरकारले वर्षोदेखि चलिआएको रंगभेद नीतिको अन्त्य गर्यो । उनले दक्षिण अफ्रीकालाई एक नयाँ युगमा प्रवेश गराए ।
रंगभेद विरोधी संघर्षका कारण नेल्सन मण्डेलालाई तत्कालीन सरकारले २७ वर्षको लागि रोबेन द्वीपको जेलमा हालेको थियो । यहाँ उनले कोइला खनीमा काम गरेका थिए । उनलाई ८ फीट गुणा ७ फीटको सेलमा राहिआएको थियो । यहाँ उनले एक समान्य म्याट दिइएको थियो त्यसमा उनी सुत्थे । सन् १९९० मा श्वेत सरकारसँग भएको एक सम्झौतापछि उनले नयाँ दक्षिण अफ्रीकाको निर्माण गरे ।
नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए। सबैले आ-आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले।
त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना व्यक्ति पनि खानाको प्रतिक्षा गरि रहेका थिए। मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नो टेवलमा बोलाउन भने।
अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले। ती व्यक्तिले पनि खाना खान थाले। तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो। उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो। खाना खाई सकेर ती व्यक्ति शीर झुकाएर फटाफट होटलबाट निस्किए।
ती व्यक्ति खाना खाएर गएपछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने, 'राष्ट्रपति ज्यू, ती व्यक्ति धेरै बिरामी देखिन्छन्। खाना खाने समयमा उसको हात र शरीर लगातार काँपिरहेको थियो। पसिना पनि आइरहेको थियो र उनी साह्रै आत्तिएका देखिन्थे।'
मण्डेलाले मुस्कान दिदै भने,'तपाईले सोचेजस्तो ती व्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन। वास्तवमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती व्यक्ति त्यो जेलका जेलर थिए।'
'जब उनले मलाई जेलमा यातना दिन्थे म वेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती व्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे।' मेण्डेला भन्छन्, 'अहिले म देशको राष्ट्रपति छु। सायद उनलाई लाग्यो होला उनको साथ पनि मैले त्यस्तै व्यवहार गर्नेछु। तर, मेरो चरित्र त्यस्तो छैन। मलाई लाग्छ कि बदलाको भावनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ। धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै विकासतर्फ बढ्न सक्छौं।'
उनको निधन ९५ वर्षको उमेरमा सन् ५ डिसेम्बर २०१३ का दिन दक्षिण अफ्रिकाको जोहनेसबर्ग सहरमा भएको थियो ।