arrow

ट्याक्टर दुर्घटनामा दुई बालकको ज्यान गयो

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
sarlahi.png

सर्लाही । सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएका ट्याक्टर दुर्घटनामा परी दुई बालकको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने कौडेना गाउँपालिका–२, इनर्वा टोलमा शनिबार राति मध्यरातमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । 

स्थानीय बिजय रायको लु १ त ८३७० नम्वरको ट्याक्टरले किचेर रायकै १३ वर्षीय छोरा नितेशको घटनास्थलमै मृत्यु भएको हो । घर नजिक रहेको गोठमा पार्किङ गरेर राखिएको ट्याक्टर बालक आफैले चलाएर खेतमा लानेक्रममा ट्याक्टर पल्टिएर किचेको प्रहरीले जनाएको छ । 

यस्तै सदरमुकाम मलङ्गवामा ट्याक्टरबाट खसेर गएसाँझ एक बालकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–४, स्थित गणेशीया नहरको पुलमा ज २ त ८५२ नम्वरको ट्याक्टरबाट खसेर मलङ्गवा नगरपालिका–३, बस्ने सिकिन्द्र रायका ८ वर्षीय छोरा मनिस कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मलङ्गवाबाट मोतिपुरतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि मलङ्गवा ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो । यसैबीच गएराती चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा दुई वटा मोटरसाइकल जुध्दा दुई जना घाईते भएका छन् । 

बिर्ता बजारबाट बबरगञ्जतर्फ आउँदै गरेको ना २५ प ९५८६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ज १ प ४२९५ नम्वरको मोटरसाइकल आसपासमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाईते भएका हुन् । 

दुर्घटनामा घाईते चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २५ वर्षीय चन्दु कुमार महतो र चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका ३५ वर्षीय चन्द्रकिशोर महतोको बर्दिवासमा उपचार भैरहेको छ । घाईतेमध्ये टाउकोमा गहिरो चोट लागेका चन्द्रकिशोरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ