arrow

वालुवाटारले लुकाएको रअ प्रमुख सामन्त गोयलसँगको भेट, के कुरा गरे प्रधानमन्त्री ओलीले ?

ओली र गोयलको गुपचुप भेटका के थिए एजेण्डा?

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
kp-oli-samant-goel.jpg

काठमाडौं। भारतीय गुप्तचर संस्था रअको प्रमुखमा नियुक्ती भएसँगै नेपालको पहिलो भ्रमणमा आएका सामन्त गोयल नेपालका प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु र प्रभावशाली केहि व्यक्तिहरुलाई भेटेर भारत फर्किएका छन्। शनिवार साँझ नेपाल आएदेखि सोमबार उनी नगएसम्म गोयलको भ्रमणको खासै चर्चा थिएन। तर प्रचण्डसँग गोयलको भेटपछि भने विभिन्न आयामबाट चर्चाहरु शुरु भएका छन्। 

नेपालको राजनीतिमा भारतीय त्यसमा पनि रअको प्रभावको चर्चा सधै हुँदै आएको छ। यो पटक रअ प्रमुखको भ्रमण यस्तै चर्चाको शिखरमा रह्यो। गोयलसँग भेट भएको र नभएको विषयलाई लिएर आफूलाई राष्ट्वादी देखाउने एकखाले कसरत पनि भएको छ। प्रधानमन्त्री केपी ओली र उनका निकटहरुले यस्तै गरेको नेकपामा चर्चा हुन थालेको छ। 

नेपाल सरकारको जानकारीमै नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले नेपालमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु उपप्रधानमन्त्री र केहि उच्च राजनीतिक नेतृत्वसँग भेटे। सबै भेटहरु मिडियाको जानकारीमा थिएन। सबै भेटहरुलाई मिडियाबाट टाढै राखिएको थियो। यद्यपी सानेपामा सोमबार विहान प्रचण्डसँग गोयलको हुने भेटको जानकारी भने वालुवाटारबाट मिडियामा चुहाइएको थियो। त्यसपछि सरकार पूनर्गठनसँग जोडेर सो भेटको चर्चा हुन थाल्यो। वालुवाटारले पनि चाहेजस्तो भयो। तरकारीको विषादी प्रकरणमा भारतीय पक्षसँग झुकेर नेपाली जनतालाई धोका दिएको छवी बनेको केपी ओली सरकारले रअ प्रमुखले नेपालका पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेर बहादुरसँग विशेष भेट गरेको भन्दै सूचना चुहायो। नभन्दै यसको व्यापक प्रचार पनि भयो। तर रमाइलो कुरा गोयलसँग प्रधानमन्त्री केपी ओलीले भेटेको कुरालाई गुपचुपमै राख्ने प्रयास भयो। 

ओली र गोयलको गुपचुप भेटका के थिए एजेण्डा
शनिवार साँज नेपाल झरेपछि गोयलले आफ्नो टीमसँगै नक्सालस्थि एक थकाली रेष्टुरेण्टमा खाना खाए। गोयलको भ्रमणलाई नजिकबाट नियालिरहेको सुरक्षा स्रोत भन्छ त्यहाँ करिव ९ वजाएको सो टोलीले खाना खाएपछि सिधै प्रधानमन्त्री निवास वालुवाटारमा प्रवेश गरेको थियो। शनिवार राती प्रधानमन्त्री केपी ओलीले गोयलसँग आफ्ना मात्र कुरा गरेनन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुर्‍याउने गरि सन्देश लगिदिन आग्रह गरे। मोदीको शपथ ग्रहणमा भाग लिन भएका बेला संक्षिप्त कुराकानी भएपनि खुलेर दुई नेताहरुले कुरा गर्न पाएका थिएनन। सिके राउत सार्वजनिक हुने प्रकरणमा आफूसँग भारत शशंकित रहेको बुझाइपछि उनले मोदीलाई सम्झाउने गरि वार्ता गर्न चाहेका थिए। उनले समय व्यवस्थापन गर्न नसकेपछि भारतीय सुरक्षा सल्लाहकार अजित डोभल मार्फत ओलीले मोदीसँग आफ्नो पक्ष राख्न चाहेका थिए। डोभल पनि विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय काममा व्यस्त रहेकै बेला मोदीकै दोस्रो कार्यकालमा नियुक्त गोयल नेपाल आइपुगेका हुन्। 

नेपालका अन्य उच्चस्तरिय भेटघाटको शुरुवात हुनुअघी प्रधानमन्त्री ओलीसँग भेट गरेका गोयलले द्विपक्षीय चासोका बारेमा कुराकानी गरेका थिए। खासगरि केपी ओली सरकारको विरुद्धमा भारतले नयाँ विकल्प खोजिरहेको भन्ने चर्चाकै बीचमा ओलीले सो विषयमा भारतीय धारणा समेत गोयलबाट जान्ने कोशिष गरेको नेकपाका एक सचिवालय सदस्यले बताए। आफ्नो नेतृत्वको सरकारको स्थिरताको लागि ओलीले भारतीय सहयोग खोजेका थिए। 

नेपाल र भारतका द्विपक्षीय हितका अतिरिक्त भारतका कतिपय चासोलाई सम्वोधन गर्ने कुरामा ओलीले गोयललाई आश्वस्त पारेका थिए। भेटमा पाकिस्तानि खुफिया संस्थाको भारत विरोधी गतिविधी नियन्त्रणमा नेपालको भुमिका, नेपालमा बढ्दो चीनको गतिविधी, सार्कको मुद्धा लगायतका बिषयमा छलफल भएकव थियो। 

भारत पछिल्लो समय सार्कलाई भन्दा विमस्टेकलाई प्राथमिकतामा राखिरहेको छ। परम्परागत शत्रुतापूर्ण सम्वन्ध रहिआएको पाकिस्तानसँग अन्तराष्ट्रिय फोरम शेयर गर्न मन नपराएको भारत सार्कको नाममा पाकिस्तानसँग सहकार्य गर्ने मुडमा देखिदैन। तर नेपाल सार्कलाई सक्रिय बनाउनु पर्नेमा पक्षमा रहँदै आएको छ। प्रधानमन्त्री ओलीलेसमेत यस बारेमा आफ्नो धारणा राख्दै आएका थिए। तर गोयलसँगको भेटमा भने उनले सार्कको बिषयलाई उठाउने भन्दा पनि यस बारेमा चर्चा नगर्नेमा आश्वस्त गराएका थिए। 

विमस्टेकका सुरक्षा निकायका प्रमुखहरुको वैठकमा गरिएको एक निर्णयमा सहमति जनाएको भन्दै नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल संलग्न निर्णयबाट नेपाल औपचारिक रुपमा पछि हटेको बिषयमा नेपालले चाहेको के हो भन्ने बारेमा पनि गोयलले भारतीय चासो राखेका थिए। विमस्टेकका सुरक्षा प्रमुखहरुको बैठकमा भारतीय सुरक्षा सल्लाहकार डोभलको योजनामा खनाल संलग्न भएको भन्दै महानिरिक्षक खनाललाई कार्वाही गर्नेसम्मको तयारी भएको थियो। यस बिषयमा समेत गोयललाई प्रधानमन्त्री ओलीले आफूहरु भारतीय सुरक्षा चासोप्रति संवेदनशील रहेको भन्दै खनालको विषयमा भएको कमजोरी सच्याएर जाने कुरामा आश्वस्त पारेका थिए। 

भारतीय चासोका विषयमा प्रधानमन्त्री ओलीले भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आश्वस्त पार्ने खबर पठाइरहँदा उनले आफ्नो सरकारको स्थिरताको पक्षमा प्रत्याभुती दिलाउन आग्रह गरेका थिए। जवाफमा रअका प्रमुख गोयलले भारत सरकार नेपालको स्थिरताको पक्षमा रहेको जवाफ दिएका थिए। भारतीय प्रधानमन्त्री मोदी पनि नेपालको स्थिरताको पक्षमा रहेको सन्देश गोयलले दिएका थिए। नेपाल स्थिर हुँदा मात्र भारत पनि स्थिर हुन सक्ने विश्लेषण भेटमा भएको वालुवाटार निकट स्रोतले जनायो। 

भेटकै बीचमा प्रधानमन्त्रीको वार रुमका रुपमा बनाइएको डिजीटल रुमबाट भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भिडियो कन्फ्रेन्स भएको थियो। कन्फ्रेन्समा खासगरि नेपालको राजनीति र भारतीय सुरक्षा चासो बिषयमा कुराकानी भएको थियो। साथै नेपाल र भारतमा हालैको वाढीले पुर्‍याएको क्षतीको बारेमा चर्चा गर्दै दुवै देशको समस्याका रुपमा रहेको वाढी पहिरो र डुवानलाई नियन्त्रण गर्ने बारेमा संयुक्त पहल गर्ने विषयमा समेत कुराकानी भएको थियो। 

प्रधानमन्त्री ओलीको पटक पटकको आग्रहमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणमा पठाएका गोयल प्रधानमन्त्री ओलीलाई भेटेर मात्र अन्य उच्चस्तरिय भेटघाटमा लागेका थिए। यस क्रममा उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपामा अर्का अध्यक्ष प्रचण्ड, विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि भेटेका थिए। राजनीतिक दलका नेताहरुलाई पनि गोयलले भेटेका थिए। 

ओली भारत गएकै बेला सरकार परिवर्तनको कुरा हुँदा नेपालको राजनीति तरंगित भएको थियो। नेकपाका कतिपय नेताहरुले त्यसयता ओलीले सरकारलाई स्थिर बनाउन पार्टी भित्र सघन छलफल शुरु गर्दै अन्तराष्ट्रिय पहल पनि शुरु गरेको जानकारी दिएका थिए। गोयलको नेपाल भ्रमण भारतको नेपाल चासो र त्यसलाई नेपाल सरकारको तर्फबाट कसरी हेरिएको छ भन्नेमा केन्द्रीत रहेको समेत बताइएको छ। यसक्रममा भारतीय पक्षसँग सरकारको स्थिरताको लागि आग्रह हुनुबाट प्रधानमन्त्री ओली सरकार टिकाउनमा कति मरिमेटेर लागेका छन् भन्ने पनि प्रष्ट्याएको छ। तर सामन्त गोयलसँगको भेटपछि भने केहि तनावमा देखिने ओली ढुक्कसँग सुत्न थालेको वालुवाटार स्रोत बताउँछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ