भारतीय पत्र हात नपरेकोमा प्रधानमन्त्री लज्जित

लथालिङ्ग देशको भताभुङ्ग चाला

केदार सुवेदी, प्रकाशित मिति : २०७६ श्रावण १६ बिहिबार

एक: बेखवरको राज्य

सरकारका प्रवक्ता, सुचना तथा सञ्चारमन्त्रीले पत्रकार सम्मेलन गरेर भनेको कुरालाई आधार मान्ने हो भने यो देशमा खासगरी बाहिरी देशबाट को आउँछ, किन आउँछ, कसलाई भेटछ, भेटेर के गर्छ भन्ने राज्य संग कुनै सूचना नै हुँदैन । यो सन्दर्भ हो छिमेकी मुलुक भारतको बाह्य क्षेत्रको गुप्तचरी गर्ने निकायका प्रमुखको नेपाल भ्रमण बारे सरकार अनभिज्ञ रहेको विवरण ।

अघिल्लो हप्ता सरकारले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपाल आएको बारे आफुलाई कुनै थोपोसम्मको पनि  जानकारी नभएको बतायो । नेपाल भ्रमणमा रहेका ‘रअ’ प्रमुखले प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतासँग भेटेका विवरण र तस्वीरहरु आइरहेका बेला सरकारले गोयल नेपाल आएकोबारे अनभिज्ञता प्रकट गरेको यस्तो कुराले राज्य कतिसम्म वेखवर हुन मिल्छ भन्ने प्रश्न जन्मायो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न ९ साउनमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘रअ’ प्रमुखले नेता भेटवार्ता गरेको बारे सरकारलाई कुनै जानकारी नभएको बताए । ‘भारतीय गुप्तचर प्रमुख नेपाल आएको र प्रधानमन्त्रीलाई भेटेको हामीलाई थाहा छैन ।’ प्रधानमन्त्रीसँगको भेटका बारेमा सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले त्यसलाई अस्वीकार गरे । ‘क–कसले भेट्नुभयो हामीलाई थाहा छैन । भेट्नै हुँदैन्थ्यो भन्ने पनि होइन । तर म दाबाका साथ भन्छु, प्रधानमन्त्रीज्यूले भेटेजस्तो मलाई लाग्दैन ।’

एक वरिष्ठ पत्रकार (युवराज घिमिरे) को सम्प्रेषण –यसै साता भारतको बाह्य जासुसी संस्था (रअ)का प्रमुख सामन्तकुमार गोयल काठमाडौँ आए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा कांग्रेसका नेता शेरबहादुर देउवा र सत्ताधारी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर दिल्ली फर्के । संसद र संसदमार्फत जवाफदेही हुनुपर्ने यी कसैले पनि भेटघाटबारे कुनै स्पष्टीकरण नेपाली जनतालाई दिएका छैनन् । हल्ला बढेपछि प्रवक्ता मन्त्रीले प्रधानमन्त्रीले गोयललाई ‘भेटे जस्तो’ नलागेको बताए ।’

सरकारले ती खुफिया प्रमुख नेपालमा आएको समेत अस्वीकार गर्न थालेपछि पत्रपत्रिकाहरुले बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटघाटको फोटोनै सार्वजनिक गरिदिएका थिए  । प्रधानमन्त्री र यी रअका प्रमुख बीच वालुवाटारमा भेटवार्ता भएको कक्षको त्यो फोटोको माथिल्लो भागमा राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो रहेको हुँदा त्यसलाई कसैले अन्यथा भन्ने ठाउँ पनि रहेन ।  तर प्रवक्ताले चाहिँ छर्लङै ढाटिदिए । प्रवक्ताको भनाइलाई मान्ने हो भने देश लावारिस रुपमा चलिरहेको छ । 

दु: वलात्कार र हत्या सामान्य काम

गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर गृहमन्त्री आफैले भनेको कुरालाई आधार मान्ने हो भने राज्यले नागरिकको जिउधनको अव कुनै सुरक्षा गर्दैन । खासगरी महिला, युवा तथा किसोरी वर्ग समूहका लागि उनीहरुबढी जोखिममा रहेका बलात्कार र हत्या जस्ता घटना देशका लागि एउटा सामान्य दैनिकी जस्तो मात्रै हो ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीहरू पुरै वर्ष दिनसम्म पक्राउ पर्न सकेनन् । २०७५ साउन १० गते कञ्चनपुरकी यी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो । यो हत्याकाण्डको विरोधमा उठेको आन्दोलनमा एक जनाको मृत्यु समेत भयो ।

अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको बदनाम भएको किशोरी बलात्कार र हत्याको घटनालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सधै हल्काफुल्का ढंगले लिँदै आए । साउन ७ मा गृह मन्त्रालयमा वार्षिक समीक्षा कार्यक्रममा त उनले जे भने त्यस्तो कुरा गृहमन्त्रीका मुखबाट प्रकट कस्तो सन्देश जान्छ भन्ने आम तहमानै प्रश्न खडा भयो । उनले भने  ‘निर्मलाका जस्ता घटना देशमा  सधैभरी भइरहन्छन, यो एउटा सामान्यकुरा हो, हिजोपनि भएका थिए, आजपनि भैरहेका छन र भोलीपनि भैरहेनेछन । यसलाई धेरै ठूलो विषय नबनाउनू ’

गृह प्रशासन भनेको नागरिकको जिउधनसंग जोडिएको विभाग हो । त्यसको नेतृत्वकर्ताको हैसियतमा हत्यारा पत्ता लगाउन नसकेकोमा नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मन्त्रीले बलात्कार र त्यसमाथि पनि हत्या जस्ता घटना भइरहन्छन् भनेर अभिव्यक्ति दिनु कति आपत्तियुक्त र यसले देशमा खासगरी यस्ता घटनामा कस्तो सन्देश गयो होला भन्ने अनुमान गर्दामात्र पनि आङजिरिंङ हुन्छ । यतिबेला देश कसरी चलिरहेकोछ भन्ने त्यसकारण यो पनि  भद्रगोलको एउटा चित्र बन्नगयो । 

स्मरणीय छ गृहमन्त्री थापाले संसदको राज्य व्यवस्था समिति र राष्ट्रिय सभाको बैठकमा २०७५ असोज ९ मा बलात्कारको घटना पूँजीवादको उपज भन्दै अमेरिकामा पनि यस्ता घटना हुने गरेको बताएका थिए । बलात्कारको घटनालाई सामान्यीकरण गर्ने र हत्यारा पत्ता लगाउन नसक्ने सरकारले मानवअधिकारका अन्तराष्ट्रिय मञ्चहरूमा उपस्थित भएर कसरी नेपालमा मानवअधिकार सुरक्षित छ भनेर भन्न सक्ला ? २१ औं शताब्दीको सभ्य समाजले हाम्रा गृहमन्त्रीको अभिव्यक्तिलाई कसरी सहज ग्रहण गर्न सक्ला ? शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्ने सरकारका जिम्मेवार मन्त्रीको अभिव्यक्तिलाई विश्व जगतले के भन्ला ? मन्त्रीका यस्तै बेलगाम बोली र गृहमन्त्रीको अभिव्यक्तिले निर्मला पन्तका हत्यारा र बलात्कारीको मनोबल बढाएको हुनुपर्छ ।

तीन: विषादी रोक्ने पत्र नपाउँदा लज्जित 

असारको अन्तिम साता देशको शासकीय अवस्था झल्काउने एउटा कुरा धेरै नै  फैलियो । त्यो विषय थियो – प्रधानमन्त्रीको लज्जित र माफीको कुरा  । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो । त्यस्तो संस्थाले गल्ती गर्दैन भन्ने हुन्छ । तर एउटा विषयमा  प्रधानमन्त्रीले दुई दिनसम्म र दोहोर्‍याइ तेहर्‍याइ भनिइरहे – ‘म लज्जित हुनुपर्‍यो, क्षमाप्रार्थी छु ।’

तर प्रधानमन्त्रीले लज्जित भएको र माफी मागेको विषय भने भिन्न थियो, नेपाली जनताको स्वास्थ्यसंग राज्यले खोलवाड गर्न पाउनु पर्छ भन्ने प्रकारको  ।

यो सन्दर्भमा प्रधानमन्त्रीले आफनै मन्त्री र सचिवबाट आफूलाई झुक्याइएको भन्ने बताइ रहे । उनका अनुसार झुक्याइएको ठाउँ वा विषय थियो सीमा क्षेत्रमा तरकारी फलफुलमा विषादी परीक्षण गर्ने प्रकृया सुरु गर्नु । उनका अनुसार त्यस्तो परीक्षण गरिहाल्ने बेला भएको थिएन ।

यसैकारण होला आफुलाई झुक्याएकै भनेर उनले १० दिन अघि आफैले गरेको परीक्षण गर्ने त्यो निर्णय नै खारेज गरिदिए । यो निर्णय खारेज गर्ने सन्दर्भमा भारतबाट एउटा पत्र आएको रहेछ । प्रधानमन्त्री आफैले जनाए अनुसार त्यो पत्र नेपालले आफनो सीमा क्षेत्रमा अर्को देशबाट आएका खाद्यवस्तुमा गर्ने गरेको विषादी परीक्षण तत्काल नै रोक्न दवाव दिइएको थियो जो पछि सोही अनुसार भयो पनि । तर त्यस्तो पत्र आउनासाथ प्रधानमन्त्रीले पाएनन् । लज्जित हुनु परेको ठाउँ यही हो । यसबाट के बुझनु् पर्ने भयो भने नेपाली नागरिकका घरघरमा विषको जेजतिमात्रा हो त्यसलाई पुर्‍याउने काम अरुको दवामा भन्दा सरकार आफैँले गरेको हो ।

विषादी परीक्षण रोकेको छैठौंदिन राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भने ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

यो क्षमाप्रार्थीका उनका शव्दले नै बुझाउँछन् –यस्तो आफना कामबाट आफैलाई लाजलाग्ने कुरा नेपाली जनतालाई विषादी खुवाउनु परेकोमा होइन, विषादी खुवाउ भन्ने आसयको अर्को देशको त्यो पत्र आफनो  हातमा समयमानै नपरेमा थियो ।

त्यसैपनि खाद्यवस्तुमा विषादी परीक्षण गर्दिनँ भन्न संसारका कुनैपनि सरकारले पाउँदैनन् । यो विषयमा साधन स्रोत वा त्यस्तै केहीकुराको अभाव छ भनेर देखाउनै मिल्दैन । तर नेपालमा प्रधानमन्त्री आफैँ यो हदसम्म तल झर्दा नेपाली जनतालाई लाजलागेको अवस्था आइपर्‍यो । तर यता प्रधानमन्त्री यस्तो विषादी परीक्षणको काम रोक्न केही दिन ढिलो भएकोमा लज्जित भए । 

यसबारेमा प्रधानमन्त्रीले छानविन गर्ने भए । त्यो छानविन पनि विषादी परीक्षण नगर्ने बारे कसरी निणर्य भयो होला भन्नेमा नभएर त्यो परीक्षण नगर्नू भन्ने पत्र १० दिनसम्म आफना हातमा नपरेको भन्नेमा थियो । उनले भने –आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम गरेरै छाड्ने छु ।’

यति सबै भएपछि यिनै प्रधानमन्त्रीले भने  ‘नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य छ । त्यसका विरुद्ध  चलाएको मिसन कुनैपनि हालतमा पूरा हुन दिने छैन ।’

यता काम विषादी परीक्षण रोक्ने र उता कुरा चाहि नेपालीको भान्सामा विषादी पाक्न दिइँदैन भन्ने एकैसाथ हुँदा पनि पत्याउन परेको छ !

चार: प्रधानमन्त्रीको थर ठेगाना नै गलत

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट साउन ९ मा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई दिने काम भयो । यो एउटा सामान्य प्रकृया हो । जुनसुकै देशका नवनियुक्त प्रधानमन्त्रीलाई जो सुकै बहालवाला प्रधानमन्त्रीले वधाइ दिन्छन र आफुबीचको सम्वन्ध झनै प्रगाढ हुने कामना व्यक्त गर्छन् । तर नेपालका प्रधानमन्त्री ओलीले दिएको शुभकामना भने असामान्य भयो जो यस्तो पदबाट हुनुहुने थिएन ।

प्रधानमन्त्री ओलीको यो शुभकामना सन्देश र दुइदेश बीचको सम्वन्ध सुमधुर हुने कामना गरिएको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोनसनको थिएन । कसको थियो भन्ने त पत्तालागेन तर पछि वेलायती प्रधानमन्त्रीको होइन भन्ने  ठहर गरेर अर्को ट्विट गरे । ठेगाना गलत वा भनौ जसलाई पठाइएको हो त्यो सम्वन्धित व्यक्तिको थिएनमात्र होइन ट्विटरमा प्रयोग गरिएको भाषा पनि अशुद्ध देखियो । पछि जसलाई शुभकामना दिन खोजिएको हो उनको ठेगाना पत्तालाग्यो र विवरण पठाइयो तर ट्विटमा लेखिएको हिज्जे भने गलत नै गयो । गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बधाई व्यक्त गरियो तर पहिलोले नै नेपालको परिचय गराइसकेको थियो हिज्जे गल्तीका कारण । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्ति दिएर राखेका छन् । तर यति सम्वेदनशील विषयमा यस्तो गल्ती हुन्छ भने राज्य कसरी चलिरहेको छ भन्ने यो पनि एउटा उदाहरणनै हुनुपर्छ । जानकार सुत्र अनुसार विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत व्यंग्यको विषय बन्न गयो ।

यही क्रममा पहिले गलत ठेगानामा पठाइएको शुभकामनाको प्रत्युतर आयो – तपाइले पठाएको शुभकामना त पाएँ तर म बेलायतको प्रधानमन्त्री होइन । कृपागरेर यस्तो सन्देश ती प्रधानमन्त्रीलाइ नै  पठाइ दिनुहोला जो यसका हकदार हुन ।

पाँच: अभिलेखमै  मेटाउनु पर्ने प्रधानमन्त्रीको बोली

प्रधानमन्त्री भनेको देशको कार्यकारी तिनले बोलेका कुराले कुनै नागरिकर र देशको भविष्य निर्धारण हुन्छ । उनका बोली अरुका लागि पनि अनुकरणीय हुनुपर्छ । संसारभरीका प्रधानमन्त्रीका बोली त्यसकारण इतिहासमा रेकर्ड रहने खालका हुन्छन ।  तर  यतिबेला हाम्रा प्रधानमन्त्री यस्तो छन् जो सडकमा मात्र होइन संसदमा पनि  कोही पनि सुन्न चाहँदैनन् मात्र होइन औपचारिक अभिलेखबाटै मेटाउनु पर्ने हुँदोरहेछ । प्रधानमन्त्री केपी ओलीका शव्द संसदको अभिलेखबाट हटाइएर उनी त्यस्तो प्रथम प्रधानमन्त्रीमा दर्जिए भने यो जतिको लथालिङ्ग र भताभुङ्गको अर्को नमूना के होला ।

 ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्री ज्यूले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नरहेका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छ ’ –सभामुख कृष्णबहादुर महरा, बैशाख २७, संसदको बैठकलाई रुलिङ गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २४ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा उपस्थित भए । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न जिज्ञासाहरुका लागि धन्यवाद ! आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरु वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु ’ –एक समाचार ।

प्रधानमन्त्री ओलीले त्यसदिन प्रयोग गरेका यतिधेरै गाली मध्येको एउटा ‘निम्छरा’ ले मात्रै पनि धेरै गाली भएको बुझाउँछ । यसको अर्थ हो संसदमा प्रधानमन्त्रीले सांसदहरुलाई धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको, कमजोर,  दुब्लो, पातलो र निर्बलियो  देखे । शव्दकोषमा यसको अर्थ यस्तै लेखिएको छ जनताले निर्वाचित गरेका प्रतिनिधि प्रति त प्रधानमन्त्री यसरी शव्दवाणबाट गाली गर्छन भने सर्वसाधारण नागरिकलाई के भन्लान अनुमान गर्न सकिन्छ । 

प्रधानमन्त्रीका आजसम्म बोलेका कुनैपनि बोली विवादरहित भएनन् । ओलीको पहिलो कार्यकाल अलिकम थियो तर दोस्रो कार्यकालमा त अतिनै भएको महसुस आमतहमा भयो । हरेक कुरा उनले व्यंग्य गरेका हुन कि सत्य बोलेका भन्ने छुट्याउनै गाहारो पर्ने भयो ।

दुईतिहाई संख्याको  सरकार प्रमुख प्रधामनमन्त्रीले आफनो नीति र कार्यक्रमलाई संसदमा अझ प्रष्ट पार्न खोज्दा संसदले उनको बोलीलाई दुई दिनमात्र पनि रेकर्डमा राख्न सकेन । फलतः ओली नेपालको इतिहासमै पहिलोपटक त्यस्तो प्रधानमन्त्रीका रुपमा दर्ज भए जसको बोलीलाइ संसदको रेकर्डबाट हटाउन पर्‍यो ।

प्रधानमन्त्री ओली नेकपाका संसदीय दलका नेता हुन भने उक्त पार्टीका अध्यक्ष पनि । उनले बोलेको विषयलाई सभामुखले रुलिङ गरेर रेकर्डबाट हटाउन निर्देशन दिनु परेको अवस्था समान्य होइन ।  प्रधानमन्त्रीको बोली संसदको अभिलेखबाट हटेको बैशाख २७ को यो घटनाले त्यही बुझाउँछ । सभामुख अर्को पार्टीको भए पनि आग्रह राखेको हो कि भन्ने एउटा शंका गर्ने ठाउ रहने थियो । यस्तो निर्देशन त्यस्तो व्यक्तिबाट भयो जो नेकपाकै नेता हुन् । यसले बुझाउँछ वाध्यात्मक अवस्था भएर मात्र प्रधानमन्त्री ओली रेकर्डबाट हटाइएका हुन् । यो पनि यस्तो बेला भयो जुन बेला उनी विदेशको औपचारिक भ्रमणमा थिए । यसले यो भाषण अभिलेखमा बढी समय राख्दा झनै बढी क्षति हुने अवस्थाको आंकलन भएको तर्फ संकेत गर्छ ।

लथालिङ्ग देशको भताभुङ्ग चालाका यी केही नमुनाहरुमात्र हुन् । यसमा जोकोहीले यस्तो देखेमा नमुनामा थप्न सकिन्छ । 

नयाँ