arrow

जात्रैजात्रा गाईजात्रा – ‘अरिंगाल’ 

logo
बाबु नेपाली,
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
aringal1.jpg

काठमाडौँ । यता पनि जात्रा उता पनि जात्रा । गाईजात्रा मनाइने चलन निकै पीडादायी छ । यसले पीडाको भाव बोकेको हुन्छ । त्यो दिन ब्यङग्य पनि । 

कुनै समय थियो गाईजात्रामा कसले कसलाई सटाइर हान्ने हुन् भन्ने प्रतिक्षा हुन्थ्यो । मिडिया थिएनन् । खुलेआम कसैलाई भन्न पाइँदैन थियो । त्यसैले गाईजात्रालाई नै ब्यङ्ग्यका लागि पर्खनुपर्छ भन्ने थियो । 

प्रहसनहरु हुन्थे । त्यहींसम्म राजासम्मले पनि गाईजात्राको प्रहार बेहोर्थे । राणाहरुले पनि त्यो आरोप खेप्थे । 

तर भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ गणतन्त्रपछि चरम स्थितिमा पुगेको छ । 

आठ दिन हैन ३६५ दिनमै भएजस्तो लाग्छ । सडकदेखि सदनसम्मै गाईजात्रा छ । हरेक क्षेत्रमा गाईजात्रा छ – बेथिति छ । 

चिया पिउने पसलदेखि संसदसम्म फाल्तु गफ चलिरहेकै छन् । सर्वसाधारणदेखि राष्ट्रपतिसम्म फाल्तु गफ मै समय खेरफालिरहेका छन् । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली 

१२ वर्षदेखि मृगौला प्रत्यारोपण गरेर एक एक मिनेटको महत्व बोकेका प्रधानमन्त्री केपी शर्मा ओली नै कुनै कार्यक्रममा गए भने एक डेढ घण्टासम्म गलफत्ती भाषण गर्छन् । 

उनको महत्वपूर्ण समय झुठो र ख्यालठट्टामै बितिरहेको छ । बाँचुन्जेल उनले यसरी नै ख्यालठट्टा गर्नेछन् । हरेक वर्ष गाईजात्रा आउने नै छ । 

उनका अरिंगालहरु थपडी बजाउने नै छन् । ओलीका सबैभन्दा बफादार अरिंगाल संचारमन्त्री गोकुल बास्कोटा हुन् । 

बास्कोटालाई धेरै सोच्नैपर्दैन । बस् ओलीको शैलीमा निस्फिक्री भएर बोलिदिए पुग्छ । भोलि जे परिणाम आवस् मतलब छैन बोल्न पाए पुग्यो । 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
अरिंगालको अर्कै घार बनाएर बसेका पुष्पकमल दाहाल प्रचण्ड पनि के कम । उनी पनि समय समयमा आफ्ना अरिंगालको प्रयोग गर्छन् । 

उनको एउटै उद्धेश्य हुन्छ कसरी ओलीलाई दुःख दिने । अरुलाई दुःख दिन त अब पुगिसक्यो । २०५२ सालदेखि जनताले दुःख पाएकै छन् । 

त्यतिबेला प्रचण्डका अरिंगालले टोेकेको दाग बाँचेकाहरु देखाउँछन् । त्यो दागले उनलाई फरक पार्दैन । बरु आफ्ना अरिंगाल प्रयोग गर्दै हेग जान पाइयो भने विश्वभर अरिंगाल फिँजाउन सकिने लक्ष्यमा पो छन् त उनी । 

काँग्रेस सभापति शेरबहादुर देउवा
बिना एजेन्डा कुँद्ने नेता हुन् काँग्रेस सभापति शेरबहादुर देउवा ।  देउवालाई भोलिको पनि चिन्ता छैन जस्तो लाग्छ जति आज छ । उनका अरिंगालहरु पनि अनौठा छन् । उनका अरिंगालहरु हालका दिनमा कसरी काँग्रेसको १४ औं महाधिवेशन सार्ने भन्नेमा छन् । 

देउवालाई कुर्सी प्यारो । अनि उनका अरिंगालहरुलाई देउवाको घारबाट बाहिर भइन्छ कि भन्ने चिन्ता छ । हैसियत बनाउन नसक्ने अरिंगालहरु भगवान सरी पूजा गरेर पार्टीलाई नै अस्तव्यस्त पार्न लागिरहेका छन् अरिंगालहरु । 

पुराना नेताहरु पहिले पनि पार्टीमा अरिंगालहरुको झुण्ड हुने गरेको बताउँछन् । 

राप्रपा अध्यक्ष कमल थापा 
कमल थापा पनि सदाबहार अध्यक्ष । उनको जीवनमा रिटायर्ड भन्ने छैन । पहिले नै अध्यक्ष भएपछि त्यसपछि कहाँ जाने । अनि अरिंगालहरु लगाएरै उनी सदावहार बनिरहेका छन् । 

उनको पार्टीभित्र कोही विद्रोही भयो भने अरिंगालहरु लगाएरै ठीक पार्छन् । दिलनाथ गिरी ठीक पारिएजस्तै । अहिले अरिंगालहरु फेरि राजसंस्था र हिन्दू राज्यका लागि लागिरहेका छन् । 

साउनभरि उनका अरिंगालहरु बोलबममा लागे । अब तीज, दशैं, तिहार लगायतमा पर्व मनाउँदै धर्मको प्रचार गर्छन् अरिंगालहरु । झुण्ड सानो भएकाले पनि आवाज भने कम आउन थालेको छ । 

पशुपति–प्रकाशचन्द्र लोहनी 
राप्रपा संयुक्तका अध्यक्षहरु पशुपति शमशेर जवरा र डा प्रकाशचन्द्र लोहनीले पार्टी धानिरहेका छन् । छुट्टाछुट्टै हुँदा निर्वाचनमा बढारिएको पीडा देखेरै उनीहरु एक भए । 

यसले अरिंगालहरु अलिकति बढाएको छ । तर आवाज सुनिन छाडेको छ । कमल थापाका अरिंगालसंग मिल्न पाए अलि ठूलो स्वर आउँथ्यो कि भन्नेमा पुगिसकेका छन् । 

डा बाबुराम भट्टराई 
डा बाबुराम भट्टराईलाई मन पर्ने त ठूलै अरिंगालको घार हो । तर परिस्थितिले उनी कहिले कता कहिले कता भइरहेका छन् । 

पूर्व माओवादी केन्द्रबाट लखेटिएपछि नयाँ शक्ति भनेका थिए । त्यो शक्तिले कसैको उद्दार गर्न सकेन । आफू पनि नेपाली काँग्रेसको आशीर्वादले चुनाव जित्न सफल भए पनि न उनी काँग्रेसमा छिर्न सके न त पार्टी विस्तार गर्न सके । 

अरिंगालहरु पनि सकिँदै गएपछि चिन्तामा परेका बाबुरामले नयाँ आइडिया निकाले – उपेन्द्र यादवसंग मिल्ने । उपेन्द्र पनि अरिंगाल घटेको घट्यै हुँदा चिन्तित थिए । काले काले मिलेर खाउँ भाले भन्दै अहिले समाजवादी पार्टी खोलेका छन् । 

सरकारमा बसेर सत्ताको रसास्वादन पनि गर्ने अनि आफ्ना अरिंगालहरुलाई सरकारको विरोध पनि गर्न लगाउने । रमाइलो छ उपेन्द्र र बाबुरामलाई । 

६ अध्यक्षको अरिंगाल
६ अध्यक्षको अरिंगाल राजपा आफैमा अनौठो दल हो । तर सुझबुझ भएको दल बनेको छ । यदि ६ दल नमिलेको भए अहिले यो हैसियतमा रहने थिएनन् । 

तर अध्यक्षहरु केवल पार्टीको संयोजक बन्दै रोटेशनमा ‘जागते रहो’ जस्तो शैलीमा महिनै पिच्छे फेरिने संयोजकको पनि के कुरा गर्ने । 

एजेन्डाको अत्तोपत्तो छैन । अरिंगाल गर्ने फुर्सद छैन । सरकारलाई समर्थन दिएर पनि सरकारमा जानु छैन । समर्थन फिर्ता लिएर पनि सडकमा देखिनु छैन । 

नेता बढी तर अरिंगाल कम । खोइ के गला अगाडि । 

चित्रबहादुर केसी 
चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका सदावहार अध्यक्ष । संघीयता विरोधी । तर त्यही संघीयताको चुनावमा भने भाग लिने । 

उनी एक्ला वृहस्पति । तर उनका वरिपरि घुम्ने उपग्रहहरु अर्थात् अरिंगालहरु पनि हुन छाडेका छन् । 

कुनै कम्युनिष्टले देशमाथि झण्डा गाड्ने तर चित्रबहादुर रुपी कम्युनिष्ट संघीयता चाहिँदैन भन्ने । अरिंगालहरु हैरान । 

पूर्वराजा ज्ञानेन्द्र शाह 
पूर्वराजा ज्ञानेन्द्र शाह आकाशबाट चमत्कार बरदान आउला भनेर हात थापेर बस्ने विद्धान । भएको गद्दी चटक्कै छाडेर ०६५ सालमा नागार्जुनको डाँडामा गएपछि उनी फेरि नारायणहिटी दरबारमा छिर्ने योजनामा छन् । 

११ वर्ष भइसक्यो अब एक वर्ष कुरिरहेका होलान् । किनकि १२ वर्षमा त खोलो पनि फर्किन्छ रे । कतै फेरि नारायणहिटी छिर्न पाउँछु कि भनेर होला । 

उनका अरिंगालहरु पनि बेलाबेलामा ठूलो स्वर निकाल्ने गर्छन् । नारायणहिटी छिर्न पाउने आशामा अरिंगालहरु छन् । तर के गर्ने उनीहरुको हातमा केही भए पो । 

जनता
जनता त जनता भैहाले । त्यसै सर्वोच्च कमाण्डर गणेशमान सिंहले भनेका हैनन् –जतता भेँडा हुन् । भेंडाले जति भने पनि बुझ्दैन । यो अरिंगाल भने लहलहैमा लाग्छ । 

पहिलो संविधानसभामा प्रचण्डलाई जितायो । दोस्रो संविधानसभामा काँग्रेसलाई जितायो । अहिले कहाँबाट ओलीलाई जितायो । कसैले राम्रो गरेर जिताएको त पक्कै हैन । 

यो भेंडे अरिंगालका के कुरा । 

रहलपहल,  पार्टीका अरिंगाल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति अरिंगाल । १५ दिन जागिर खाएर पनि वर्षभरलाई पुग्यो भनेजसरी रोजगार देखिने अरिंगालहरु । 

अनि अन्त्यमा आफ्नो जीवनको पर्वाह नभएका । बेचैन देखिएका तर देशको जिम्मेवारी आफ्नो काँधमा भएजस्तो ताइँ न तुँईको गर्व गर्ने पत्रकार अरिंगाललाई पनि गाईजात्रे सलाम । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ