arrow

भारतलाई चिंढाउने परराष्ट्र मन्त्री ज्ञवालीको अभिव्यक्ति

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई चिंढाउने अभिव्यक्ति दिएका छन् । जम्मू–कश्मीर विवादबारे अहिलेसम्म नेपाल सरकार मौन रहँदै आएकामा सोमबार पहिलो पटक धारणा सर्वजनिक गर्ने क्रममा मन्त्री ज्ञवालीले चिंढाउने अभिव्यक्ति दिएका हुन् । 

उनले जम्मू–कश्मीरलाई विशेष राज्यको हैसियत हटाउने भारतीय निर्णयपछि उत्पन्न क्षेत्रीय कूटनीतिक रस्साकस्सीबारे पहिलोपटक नेपालको धारणा सार्वजनिक गर्ने क्रममा भने, ‘हामीले कश्मीरमा विकसित घटनाबारे नजिकबाट नियालिरहेका छौँ । नेपाल यो क्षेत्रको शान्ति र स्थिरताको पक्षमा छ । वार्ताबाट शान्तिपूर्ण रूपमा समस्याको समाधान हुनेछ भन्ने हामी विश्वस्त छौँ । यसमा भारतीय नेतृत्वको क्षमताप्रति पनि हामी विश्वस्त छौँ ।’ 

दक्षिण एसियाका अन्य राष्ट्रसंगै अमेरिका लगायतका देशहरुले जम्मू–कश्मीर भारतको आन्तरिक मामिला हो भनी अभिव्यक्ति दिएका बेलामा मन्त्री ज्ञवालीले भने विवादित अभिब्यक्ति दिएका हुन् । 

उनले कश्मीरको विकसित घटनाले यो क्षेत्रको शान्तिमा प्रतिकूल पर्न सक्नेबारे पनि चासो व्यक्त गरे । परराष्ट्रमन्त्री ज्ञवालीले कश्मीरलाई भारतको आन्तरिक मामिला नभनी भारत र पाकिस्ताबीचको द्विपक्षीय मामिलाका रूपमा कूटनीतिक अर्थ लाग्ने अभिव्यक्ति दिएका हुन् । 

उनले भारत र पाकिस्तानबीच वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताएका हुन् । 


नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठक सुरु दुई दिनअघि ज्ञवालीले दिएको अभिब्यक्तिको जवाफ भारतले त्यही बैठकमै दिने अपेक्षा गरिएको छ । 

यही भदौ ४ र ५ गते बैठक काठमाडौंमै हुँदैछ । बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आउँदै छन् । 

यो बैठकमा नेपालले पछिल्लो उच्चस्तरीय भ्रमणमा भएका सहमति कार्यान्वयनमा जोड दिने मन्त्री ज्ञवालीले बताएका छन् । उनले इपिजीको प्रतिवेदन बुुझ्न भारत सरकारलाई आग्रह गर्ने, बाँधबारे प्राविधिक टोलीको प्रतिवेदन कार्यान्वयन, वाणिज्य एवं पारवहन सन्धि, सीमा, सुरक्षालगायतका विषयमा भारतको ध्यानाकर्षण गराउने तयारी गरेको बुझिएको छ । 

बैठकमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । परराष्ट्रमन्त्री ज्ञवालीले संयुक्त आयोगमा द्विपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची रहेको जानकारी दिएका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको नेपालले परराष्ट्रमन्त्री स्तरीय बैठकको पूर्वसन्ध्यामा किन विवादित अभिव्यक्ति दियो भन्नेबारेमा गम्भीर रुपले लिइएको छ ।

सोमबारको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाली काँग्रेसका नेता प्रदीप गिरिमाथिसमेत आक्रोश पोखेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ