अमेरिका। अम्विका प्रसाद अधिकारी अमेरिकामा आउने नेपालीहरुमा पहिलो पुस्ताको व्यक्तित्व हुन। सन् १९७८ मा अमेरिकामा अध्ययनका लागि आउनु भएका अधिकारीले सन् १९८६ मा दोश्रो पटक पिएचडी उपाधिको लागि अमेरिका आएका थिए। उनले सन् १९९१ मा शहरी योजनामा हावर्ड युनिभर्सिटीवाट पिएचडीको उपाधि हासिल गरेका थिए। उनको उपाधि "शहरी योजना तथा नमूना " मा भएको हो। अमेरिकाको एरिजोनाको टेम्पेमा रहेको एरिजोना स्टेट युनिभर्सिटीमा अध्यापन तथा अनुसन्धान गर्दे आएका अधिकारी गैरआवासीय संघमा पनि सक्रिय छन्। आफना कुराहरुलाई स्पष्ट राख्नु हुने अधिकारी अमेरिका पढेर नेपाल फर्किएर अन्र्तराष्ट्रिय प्रकृति संरक्षण कोष –आयुसिएनको देशीय प्रतिनिधीको रुपमा समेत काम गरेको अनुभव छ। सन् २००० देखि उनले अमेरिकामा वसोवास गर्दे आएका छन्। उनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता सम्वन्धि प्रारुप तयार पार्ने क्रममा पनि समन्वय गरेका छन्। समृद्ध नेपालको सपना : प्रवासी नेपालीको चाहना श्रृङ्खला अन्तर्गत अधिकारीसँग हाम्राकुरा डटकमका लागि पत्रकार मधुकर अधिकारीले गरेको कुराकानीको सम्पादित अंशहरु:
प्रश्नः तपाईले प्रवासी जीवन विताउनु भएको कति वर्ष भयो ?
जवाफः खासमा भन्ने हो भने म अध्ययनको सिलसिलामा सन् १९७८ मा नै अमेरिका आएको हुँ, तर अध्ययन सकेर नेपाल गएर काम गरे। पछि सन् १९८६ मा पिएचडिको लागि अमेरिका आएको हुँ। यसरी अध्ययनको क्रममा आउने जाने भईरहयो तर सन् २००० देखि निरन्तर अमेरिकामा वस्दै आएको छु।
प्रश्नः तपाईको विज्ञता र कामको प्रकृतिको वारेमा कसरी जान्न सकिन्छ?
जवाफः हेर्नोस मेरो काम भनेको शुरुमा म आर्टिटेक्ट ईन्जिनियर नै हो। तर यसमा पछि मैले शहरी योजनाको वारेमा अध्ययन गरेको हुँ। खासमा संक्षिप्तमा भन्नुपर्दा, शहरी योजना दुई तरिकाले गर्न सकिन्छ। पहिलो, कुनै नयाँ ठाउँ छनौट गरेर त्यसलाई शहरको रुपमा अवधारणा वनाउने र पूर्वाधार त्यही अनुसार वनाउने। दोश्रो, भईरहेको शहरमा जनघनत्वको वृद्धि र नागरिकको आवश्यकताका आधारमा नयाँ योजनाका साथ भवन, आवास, कार्यालय, यातायात र आवासको लागि चाहिने आवश्यक विषयमा सुधार गर्दे लैजाने। यसमा म अर्को जोडन चाहन्छु, खासमा विश्वमा शहर तर्फ जाने मानिसहरुको संख्या हरेक वर्ष वढदो छ। सन् २००८ मा पहिलो पटक विश्व भरि नै शहरी क्षेत्रमा वसोवासमा गर्ने जनसंख्या ५० प्रतिशत नाघेको हो। तर विकसित देशहरुमा यसको प्रतिशत अलि वढी छ। जस्तो अमेरिकामा ८५ प्रतिशत रहेको छ भने सिंगापुरलाई शत प्रतिशत मानिन्छ। स्वीडेनमा ८६ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा वसोवास गर्छन्।
प्रश्नः तपाईको विचारमा नेपाललाई एउटा समृद्ध देश वनाउन विषयगत रुपमा कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ?
जवाफः कुनै पनि देशलाई समृद्ध वनाउने भनेको त्यो देशको आर्थिक नीति ,औद्योगिकीकरण र व्यवसाय नै हो। यसलाई हामी आर्थिक वृद्धिको ईन्जिनको रुपमा पनि लिन्छौं। अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने एउटा मात्रै ठूलो शहर छ, काठमाण्डौं त्यसमा ३० लाख मानिसहरु वसोवास गर्छन्। त्यही एउटा शहरले कूल गार्हस्थ उत्पादनमा एक तिहाई सम्म योगदान दिएको छ। त्यस्ता शहर अरु दुई चार वटा वनाउन सक्ने हो भने रोजगारीको अवसर सृजना हुने र एक अर्कामा सडकको सञ्जालले जोडन सक्छ। जुन ठाउँमा शहर वस्छ त्यो ठाउँको वरिपरिका क्षेत्रमा आफै उत्पादनका साधनले वजार पाउने ,आवासीय प्रयोजनको लागि भवन निर्माण हुने देखि हरेक क्षेत्रमा त्यसले विकसित हुने अवसर पाउँछ।
प्रश्नः प्रवासी भूमिवाट नेपालमा देख्नु भएको चार समस्या के के छन् ? यी समस्या समाधानको उपाय के हुन्छ जस्तो लाग्छ ?
जवाफः मेरो विचारमा सवैभन्दा पहिलो कुरा हामी राजनीतिक रुपमा सार्वभौमसत्ता सम्पन्न मुलुकको रुपमा स्थापित भएका छौं, त्यसैले अवका दिनमा आर्थिक रुपले पनि सार्वभौम हुनुपर्यो। हाम्रा नीति नियम र आवश्यकताका वस्तुहरु जुनकुनै ठाउँवाट लिन सक्ने हुनुपर्यो। त्यो अव सैद्धान्तिक रुपमा मात्र होईन की व्यवहारिक रुपमा पनि आवश्यकता छ।
म एउटा सानो उदाहरण दिन्छु, अमेरिका र क्यानाडाको वीचमा सामान्य डकुमेन्टको आधारमा आवागमन गर्न पाईन्छ। तर, क्यानाडा अमेरिकामा भन्दा जनसंख्या देखि हरेक कुरामा सानो छ। क्यानाडाले आफनो देशमा आउने सामानहरुमा लगाउने कर अमेरिकामा भन्दा निकै महंगो छ, उदाहरणको लागि पेय पदार्थमा उसको चर्को अन्तशुल्क छ। त्यसवाट उसले जनताको सामाजिक दायित्वमा खर्च गर्ने रकम संकलन गर्न सफल भएको छ। त्यसैले पहिलो कुरा त नेपालमा स्वतन्त्रता पूर्वक आर्थिक नीति नियमहरु वनाउन सक्नु पर्यो या पाउनु पर्यो।
दोश्रो ऊर्जाको समस्या हो, अहिले हामी सयको अंकमा अर्थात आठ,नौ सय मेगावाटको उत्पादनमा रहेका छौं। गुजरातमा एउटै सोलार प्लान्ट नौसय मेगावाटको छ। त्यसैले अव हामीले हाम्रो संभावनाको क्षेत्र मध्ये एक जलविद्युतको विकास गर्ने पर्छ। ऊर्जाको संकटले निम्त्याउने विकराल समस्या मैले व्याख्या गरिरहन पर्देन नेपाली जनता हरेकले हरेक दिन भौग्दै आएका छन्।
तेश्रो औद्योगिकीकरण अपरिहार्य छ। हामी कहाँ अहिले पनि आन्तरिक उत्पादनले के कुरामा सक्षम छौ भनेर खोज्यो भने नगन्य मात्रामा छ। त्यसैले औद्योगीकरण गरेर हामीहरुले हामीलाई चाहिने सामान र वस्तुहरुको उत्पादन गर्दे त्यसमा अतिरिक्त शुल्क लिएर निर्यात गर्ने सोचमा जानु पर्छ। जस्तो चियापत्ति,कफि जस्ता वस्तुहरु । जव औद्योगिकीरणमा जान्छौ त्यसपछि त्यो एउटा आर्थिक चक्र ( साईकल ) मा प्रवेश गर्छ। यसमा कृषिको व्यवसायीकरण पनि जोडन सकिन्छ। हामीहरुले वजारको माग अनुसार उत्पादनमा लाग्यौ भने त्यसले निकै प्रभाव पार्छ। जस्तो म फिजीको उदाहरण दिन्छु त्यो देशले उच्च कोटीको फलफूल उत्पादन गरेर अमेरिका अष्ट्रेलिया जस्ता देशहरुमा निर्यात गरेर आफूलाई समृद्ध वनायो।
चौथो, समस्या यातायातको छ। किनकि हामीले गर्न नसकेको र नेपाललाई आर्थिक समृद्धिको वाटोमा अवरोध गर्ने नै वाटो अर्थात सडक सञ्जाल भएको छ। यसको लागि जलविद्युत विकास गर्दे त्यसको आधारमा चल्ने रेल यातायातलाई एकीकृत गर्नुपर्छ। यो देशको काँचुली फेर्ने माध्यम हो ,किनकि उत्पादित वस्तुलाई वजार सम्म पुरयाउनका लागि राम्रो सडक सञ्जाल, व्यवस्थित रेल सेवा र हवाई यातायातको मैदान सुरक्षित वनाउन सकियो भने देशलाई आमूल परिवर्तन गर्न सकिन्छ।
प्रश्नः एउटा देशको नागरिकले त्यो देशलाई समृद्ध वनाउन के गर्नुपर्छ ?
जवाफः हरेक देशका नागरिकलाई एउटै कुराले पिरोल्छ त्यो हो रोजगारीको अवसर,सुरक्षित आवास, औषधी उपचार र सामाजिक मान्यता। कतिपय अवस्थामा राम्रो र सक्षम नागरिकहरु पनि साना समस्याहरुले आफनो भविष्य अन्यौल रहेको ठान्छ । नागरिकको लागि राज्यको दायित्वको चाहना पनि हुन्छ। त्यसैले नागरिकमा देशलाई समृद्ध वनाउने हो भने व्यवासायिक सोच आउन परयो, गाउँमा कृषि पेशामा छ भने उसले त्यसलाई कसरी वजारीकरण गरेर आम्दानीको स्रोत वनाउन सक्छ। एक्लै सक्दैन भने समूह वनाएर पो गर्ने होकी? यस्ता कुराहरुमा ध्यान दिनुपर्छ। त्यसैले मेरो विचारमा असल नागरिकले आफू उद्यमी वनेर राज्यलाई कर तिर्दे रोजगारी सृजना गर्ने सोचमा लाग्नु पर्छ। किनकि आर्थिक रुपमा नागरिक सवल नभएसम्म उसले सामाजिक दायित्व पूरा गर्न सक्दैंन्। साथै देशको कानून पालना गरेर सानो भए पनि काममा संलग्न हुनुपर्छ। नागरिकका यस्तै सानो प्रयासले देश निर्माण भएको हामीले कति देशहरुको ईतिहासवाट पढदै आएका पनि छौं।
प्रश्नः नेपालमा वस्ने नेपालीहरुले प्रवासी भूमिमा वस्नेहरुको आलोचना वढी गर्छन्, के साँच्चै प्रवासमा वसेपछि देशको माया ममता टुटेकै हुन्छ? यसमा तपाईको के टिप्पणी छ?
जवाफः खासमा भन्ने हो भने यो केही यदाकदा सुनिने विषय मात्र हो। मैले भेटेका र सुनेका मान्छेहरु भन्नु हुन्छ भने धेरैले सम्मान नै गरेको पाएको छु। मानिस जहाँ वसेपनि आफू जन्मेको देश भुल्नै सक्दैंन् । उसले कही न कही मातृभूमिसँग आफूलाई जोडेर राखेको हुन्छ। सामान्य अध्ययनले के भन्छ भने प्रवासी भूमिमा कमाएको भन्दा आफू स्वदेशमा २५ प्रतिशत सम्म कम कमाई हुन्छ भने त्यो त्यही वस्छ भन्ने मानिन्छ। यो अहिलेको विश्वमा हरेक देशका मानिसहरु आउने जाने प्रक्रिया चलिरहेको छ। साथै डायस्पोराले नै देश वनाएको हुन्छ, त्यो तपाई चीन, भारतको उदाहरणवाट पनि थाहा पाउन सक्नु हुनेछ। अहिले राष्ट्रसंघ, अमेरिकाले समेत कुनै पनि देशको आर्थिक समृद्धिमा डायस्पोराको महत्वपूर्ण भूमिका हुने अध्ययन मार्फत सार्वजनिक गरेका छन्।
एउटा चिन्ता के हो भने रेमिटेन्सको रकमले सधै देश विकासको उपकरण ( टुल्स ) हुन सक्दैंन्। त्यसलाई अन्य लगानीको क्षेत्रमा विस्तार गर्न परयो भन्ने हो। यहाँ म अर्को उदाहरण दिन्छु, पहिला मेक्सिको रेमिटेन्समा अडेको थियो। विस्तारै उसले त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन सक्यो र अहिले उसको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुगेको छ। त्यसैले नेपालको हकमा पनि विदेशी सहायता भन्दा रेमिटेन्सको रकम धेरै छ यसले विस्तारै लगानीको क्षेत्रमा रुपान्तरण गर्न सकियो भने तपाई सोध्नु भएको जस्तो आलोचना कम हुन्छ। यहाँ म स्पष्ट पार्न चाहन्छु, डायास्पोरा (एनआरएन)को भूमिका भनेको देश विकासको लागि एउटा उत्प्रेरक मात्र हुन् देशलाई समृद्ध वनाउने भनेको त्यही भूमिमा वस्नेहरुले आफै यसको निर्धारण गर्न सक्छन्।
प्रश्नः गत अप्रिलमा गएको भुकम्प पछि अमेरिकामा रहेका नेपालीहरुले त्यति सहयोग नगरेकै हुन् की के हो ?
जवाफः त्यो कुरामा म सहमत छैंन्। किनकि यहाँ रहेका हरेक संस्थाले केही न केही सहयोग गरे। अझ कतिपयले आफू पढेको विद्यालय या गाउँमा विभिन्न तरिकाले सहयोग गरे। एनआरएन अमेरिका, टेक्सासमा रहेका नेपाली, भर्जिनियाका नेपाली कोलोराडो, क्यालिफोर्नियामा रहेका हरेक समुदायका मानिसहरु आफनो खर्चमा नेपाल पुगेर राहत वितरण गरेर आए। मेरो विचारमा अरु देशमा जस्तो सय दुई सयष् जम्मा गरेर संगठित रुपमा नगएको हो, तर अमेरिकाले विश्वभरि छरिएर रहेका नेपालीहरु मध्ये वढी सहयोग जुटाएका छन्। यसमा त नेपाली सरकारी अधिकारी मिडियाहरु सवैले भनेकै हुन नी विदेशमा वस्ने नेपालीहरुको सहयोगले राहत वितरणमा सहयोगी भूमिका खेल्यो भनेर। एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले आफै पुगेर राहत वितरण गर्नु भएको थियो। त्यसैले सवैको प्रयास सकारात्मक भएको मैले पाएको छु।
प्रश्नः अवको १५ वर्षमा नेपाललाई समृद्ध देशको रुपमा विश्व सामु परिचय दिलाउन सक्षम होला? हुन सक्छ भने आधार के के देख्नु भएको छ?
जवाफः खासमा समृद्ध भन्ने आधार फरक छन्। अल्पविकसित देशवाट माथि उठने नेपालको चाहना छ। सन् २०२२ सम्म यसवाट माथि उठने नेपालको योजना छ। त्यो भनेको प्रतिव्यक्ति आम्दानी १००० डलर भन्दा माथि पुरयाउने भन्ने हो। यो विश्व बैंक र संयुक्त राष्ट्रसंघ मापन गर्ने आधारमा हो। तपाईले भन्नु भएको जस्तो समृद्ध देश वनाउनका लागि १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने संभावना पनि छ। हामीहरुले जलविद्युत विकास गरयौ भने दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सकिन्छ। त्यो भयो भने आगामी चौध वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर हुन सक्छ। हामीले कृषिलाई र पर्यटनलाई एक अर्काको परिपूरक वनाउँदै अगाडि वढायौ भने अर्को संभावनाको स्थान छ। किनकि अहिले सम्म नेपालमा एक रातको सात आठ सय डलर पर्ने कोठा र त्यो अनुरुपको हजार वटा कोठाहरु भएको होटेल नै छैंन्। त्यति प्राकृतिक रुपले सुन्दर देशमा विश्वभरिका वढी खर्च गर्ने क्षमता भएका व्यक्तिहरुलाई आमन्त्रण गर्न सकियो भने पर्यटन क्षेत्रले चौतर्फी फाईदा दिलाउँछ। यसको लागि ठूला विमानस्थल हवाईजहाजको सेवामा समेत ध्यान दिनु पर्छ। जस्तो केन्याले अहिले ७५ वटा वोईङ्ग मार्फत सेवा दिएको छ। तपाईलाई मैले शुरुमा नै भने जव हामी आर्थिक संप्रभुताका साथ नीति नियम वनाएर यस्ता क्षेत्रहरु विकास गरयो भने १५ वर्षमा नेपालको अर्थतन्त्र कायापलट नै हुन्छ।
प्रश्नः अन्त्यमा तपाई नेपालमा गर्न चाहनु भएको कुनै योजना छ ? तपाईको योजना संक्षेपमा वताउन सक्नु हुन्छ?
जवाफः म अहिले पनि विभिन्न तालिमहरुमा क्रियाशील रहेको छु। मलाई दुई वटा योजना लागू गर्ने सोचाईमा छु। काठमाण्डौंमा जनघनत्व वढे अनुसार सार्वजनिक यातायात साह्रै खराव छ, यसलाई द्रुत वस सेवा मार्फत नागरिकको आवागमनलाई तत्काल सुव्यवस्थित वनाउने सोचका आधारमा सरोकारवाला निकायहरुसँग काम गर्दे आएको छु। किनकि नेपालमा अहिले सववे र लाईट रेलको तत्काल संभावना छैंन। त्यसैले अल्पकालको लागि द्रुत गतिको वस सेवा नै वाञ्छनीय देखिएको छ। अर्को यातायातको क्षेत्रमा लापर्वाहीको कारणले भएको जनधनको क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा केही गरौ की भन्ने सोचमा रहेको छु। हेरौ, केही अरु थप योजनाहरु रहेका छन्। ती कार्यान्वयनको चरणमा म पूर्णकालीन रुपमा काम गर्ने वेलामा अर्थात अहिले गरेको कामवाट अवकाश पाएपछि नेपालको लागि सहयोगी भूमिका खेल्ने छु त्यो समयमा तपाईसँग फेरी संवादमा वस्नेछु।