arrow

दुई दशकपछि इन्द्रदहमा ढोलक लगिँदै

logo
कृष्णराज गौतम, रासस
प्रकाशित २०७६ भदौ २७ शुक्रबार

काठमाडौं। चन्द्रागिरि नगरपालिका–१ स्थित इन्द्रदहमा करीब दुई दशकपछि विशेष बाजागाजासहित हनुमानढोकादेखि ढोलक लगिने भएको छ। 
काठमाडौँको वसन्तपुरमा आज इन्द्रजात्रा गरिएपछि राति १०:०० बजे करीब २०० जनाको टोलीले ढोलक दहको आसपास क्षेत्रमा पुर्‍याउने व्यवस्था गरिएको वडा नं १ (दहचोक) का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए। 

विगतमा ढोलक लैजाने परम्परा रहेकामा करीब दुुई दशकसम्म विभिन्न कारणले त्यसलाई निरन्तरता दिन सकिएको थिएन। यसवर्ष ढोलक लैजाने प्रतिनिधिलाई उक्त वडाले स्वागत गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी गराउने छ । लामो समयको अन्तरालपछि भित्र्याउन लागिएको ढोलकलाई सांस्कृतिकरूपमा महत्वका साथ हेरिएको छ।

शनिबार लाग्ने ‘चौथो इन्द्रदह पर्यटन महोत्सव’ का लागि तयारी पूरा भएको छ। चौथो इन्द्रदह पर्यटन महोत्सव आयोजक समितिले प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नानका लागि काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट आउने भक्तजनका सहजताका लागि लाइन व्यवस्थापन, मेला व्यवस्थितरूपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करीब १५० स्वयंसेवकको व्यवस्था गरेको जनाएको छ। बिहानैदेखि स्नान तथा दर्शनका लागि करीब २५ हजार भक्तजनले मेला भर्ने अनुमान गरिएको छ।

कुनै पनि भक्तजन आकस्मिकरूपमा बिरामी भएमा सामान्य उपचारका लागि शिविर तथा एम्बुलेन्सको व्यवस्था गरिएको छ। उनले मेला व्यवस्थापनका लागि वडा कार्यालयले रु दुुई लाख उपलब्ध गराएको बताए। मेलामा कुनै पनि विपद् नआओस भनेर आज साँझ दह तथा त्यस परिसरमा दीप प्रज्ज्वलन गरिनेछ। इन्द्र, इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत देख्न सकिन्छ। 

दृश्यावलोकन स्तम्भ, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण शुरु भइरहेको छ। इन्द्रदहको परिसर करीब २०० रोपनीको क्षेत्रफलमा फैलिएको छ। नागार्जुन र चन्द्रागिरि डाँडाको मध्यभागमा दहचोकको अग्लो थुम्कोमा रहेको दहमा पौराणिककालमा देवताका राजा इन्द्रले स्नान गरी स्वर्ग गएको जनविश्वास छ। यस स्थानमा मेला भर्ने तथा स्नान गरेमा पारिवारिक सुख, शान्ति तथा मोक्ष मिल्ने जनविश्वास छ।

समुद्री सतहबाट करीब छ हजार फिटको उचाइमा अवस्थित उक्त डाँडालाई ‘स्वर्ग सोपान’ अर्थात् स्वर्ग जाने भर्‍याङका रुपमा स्थानीयवासीले लिएका छन्। महोत्सवमा सहभागी पर्यटकलाई यस क्षेत्रका धार्मिक तथा अन्य पर्यटकीय महत्वकाबारे पनि जानकारी दिइने आयोजकले जनाएको छ। सांस्कृतिक महत्व बोकेको इन्द्रदहको पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने नगरपालिकाले जनाएको छ। 

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको उक्त स्थललाई सरकारले दुुई वर्ष अगाडि पर्यटकीय गन्तव्यस्थलका रुपमा घोषणा गरेको थियो। नीलगिरि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्करलगायत हिमाल यहाँबाट देख्न सकिने हुँदा त्यहाँ सर्वसाधारणको आकर्षण बढेको पाइन्छ। धार्मिक र प्राकृतिक सम्पदाले भरिपूर्ण यस डाँडाबाट देखिने गोरखा, नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाको मनोरम दृश्यले धेरैको मन जित्ने गरेको छ।

सुन्दर डाँडापाखा भएकाले हाइकिङ, बाइकिङ र साइक्लिङका लागि समेत सम्भावना बढेकोे छ। दहदेखि नजिकै रहेको स्वीट्जरल्याण्ड पार्कको छुट्टै विशेषता छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मानिस यहाँ घुम्न तथा वनभोजका लागि आउने गर्दछन्। पर्यटन क्षेत्रको विकासका लागि धेरै सम्भावना भए पनि यहाँ पर्यटकीय सुविधाका अत्याधुनिक होटल÷रेष्टुराँ र रिसोर्ट बन्न सकेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ