arrow

नेपाल चीन व्यापारमा पनि भारतकै भर

नेपाल–चीन प्रत्यक्ष व्यापारः १० वर्षमा ३६ प्रतिशत गिरावट

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७२ चैत २३ मंगलबार
nepal-china-percent.jpg.jpeg
काठमाडौं। नेपालको उत्तरी छिमेकी मुलुक चीन र नेपालको सीमा नाकामार्फत हुने कूल व्यापारमा १० वर्षमा ३६ प्रतिशतले गिरावट आउँदै १२ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्ष २०१४/१५ को सरकारी तथ्याङ्कलाई विश्लेषण गर्दा आर्थिक वर्ष २००५/०६ को तथ्याङ्कको तुलनामा सो मात्रामा गिरावट आएकोहो। पछिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार ९१अर्ब २३ करोड पाँच लाख ४१हजार रूपैयाँ भारतीय भूमी मार्फत् व्यापार भएको छ भने चीनसँग ११ अर्ब ९७ करोड ७३ लाख ९ हजार रूपैयाँ बराबरको सीधा व्यापार भएको छ। 
 
जसमध्ये सो वर्ष ९०अर्ब चार करोड ३७ लाख ९८ हजार रूपैयाँ बराबरको आयात भएको छ भने एक अर्ब १८ करोड ६७लाख ४३ हजार रूपैयाँ बराबरको भारतीय भूमि मार्फत निर्यात भएको तथ्याङ्कले देखाएको छ। समग्रमा चीनसँग पछिल्लो आर्थिक वर्षमा आईपुग्दा ९८अर्ब ४९ करोड ३२लाख ८९ हजार रूपैयाँ बराबरको व्यापार घाटा रहेको छ। 
 
दक्षिणी छिमेकी मुलुक भारतले पटकपटक गर्दै आएको घोषित तथा अघोषित नाकाबन्दीले पीडित बन्नु परेका नेपालीको लागि ज्यादै महत्वपूर्ण सम्झौता भनेर केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा पारवहन तथा व्यापारिक सम्झौता गरेको भएपनि अहिलेकै अवस्थामा सम्झौता कार्यान्वयनको लागि समेत भारतकै भर पर्नुपर्ने अवस्था समेत रहेको देखिएको छ।  
प्रधानमन्त्री ओली नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलले पारवहन तथा व्यापार लगायत विभिन्न १४ विषयमा सम्झौता गरेको थियो। तर, चीनसँगको सीमानाकाको अवरोध भने तत्काल हट्ने सम्भावना नरहेकोले सो सम्झौता कार्यान्वयन गर्नको लागि पनि नेपाल र चीनबीच मात्रै सम्भव नरहेको जानकाहरू बताउँछन्। 
 
वाणिज्य मन्त्रालयको आयात तथा निर्यात सम्बन्धि एक तथ्याङ्कका अनुसार नेपाल र चीनबीचको सीमा नाकाको भन्दा सात गुणा भन्दा बढी व्यापार भारतीय भूमी मार्फत् हुने हुँदा अहिलेकै अवस्थामा जस्तासुकै सम्झौता गरे पनि नेपाल र चीनबीच प्रत्यक्ष रूपमा धेरै व्यापार हुने सम्भावना नरहेको मन्त्रालयका अधिकारीहरू नै बताउने गर्दछन्। 
 
व्यापार तथा निकासी प्रवर्दन केन्द्रको तथ्याङ्क अनुसार हवाई मार्ग र कलकत्ता सुख्खा बन्दरगाह मार्फत् हुने व्यापारको २०१४/१५ को सो तथ्याङ्क नेपालले चीनसँग गर्ने व्यापारको ८८ प्रतिशत हुन आउँछ। त्यसमध्ये पनि अधिकांश अर्थात् ९५ प्रतिशत भन्दा बढी बस्तु सुख्खा बन्दर्गाह मार्फत् आउने गरेका छन् भने कूल व्यापारिक बस्तुको १२ प्रतिशत मात्रै नेपाल र चीन बीच प्रत्यक्ष व्यापार हुने गरेको छ। 
 
त्यसो त भुपरिवेष्ठीत मुलुकले तेस्रो मुलुकबाट आयातीत सामग्रीमा युद्धको बेलामा समेत नाकाबन्दी गर्न नपाईने व्यवस्था रहेको भएपनि भारतको अघोषित नाकाबन्दीको समयमा सबैभन्दा नजिकको नाका सञ्चालनमा ल्याउनुपर्ने अन्तराष्ट्रिय कानून समेत उल्लंघन भएको थियो। यस्तो अवस्थामा सुख्खा बन्दरगाहबाट ल्याउने सामान समेत सहजै नेपाल प्रवेश हुन्छ भन्न सकिने अवस्था रहेको छैन। भारतले चाहेको खण्डमा नेपालले चीनसँग गर्ने व्यापारको झण्डै ८८ प्रतिशत हिस्सामा अवरोध गर्न सक्नेतर्फ मन्त्रालयका अधिकारीहरूले सचेत गराएका छन्।
 
त्यसोत नेपालले चीनसँगको व्यापारमा विगतका वर्षहरूदेखि नै भारतको भरपर्दै आएको छ। यहि तथ्यलाई हेर्ने हो भने पछिल्लो समयमा चीनसँग स्वतन्त्र भन्दा परनिर्भरमुखि व्यापार भएको देखिएको हो। नेपाल चीनबीच व्यापारमा पनि भारतको भर पर्नुपर्ने यो तथ्याङकले हाम्रो भुअर्थराजनीतिलाई प्रष्ट्याएको छ। तथ्याङ्कका अनुसार १० वर्षको समयावधिमा भारतीय भूमिको प्रयोग गर्ने दर ३६ प्रतिशतले बढेर आर्थिक वर्ष २०१४/१५ मा ८८ प्रतिशतमा पुगेको केन्द्रका तथ्याङ्क अधिकृत कृष्णराज बजगाईले जानकारी दिए। जुन तथ्याङ्क अघिल्लो आर्थिक बर्ष अर्थात् २०१३/१४ मा ७४ प्रतिशत थियो।
 
मन्त्रालयका अधिकारीहरू तातोपानी लगायतका नाकाबाट गरिने व्यापार र यसको स्तरोन्नतिका लागि सरकारी उदासिनताको कारण पनि नेपाल र चीनबीचको व्यापार फस्टाउन नसकेको दाबी गर्छन्। केही दिन अघि मात्रै पनि प्रधानमनत्री केपी शर्मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर आएको भएपनि सीधा व्यापारको व्यापारको बाटो नखोली त्यस्ता सम्झौता कार्यान्वयन गर्नु सहज नरहेको जानकारहरू बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ