arrow

नेपालको राष्ट्रियता, खतरा नेतृत्वबाटै

logo
डा राजकुमार राई,
प्रकाशित २०७६ असोज २८ मंगलबार
rajkumar-rai1.jpg

जुनसुकै मुलुकका नागरिकहरू आफ्नो राष्ट्रलाई आदर्श र प्राणभन्दा प्यारो ठान्दछन् । उनीहरू कुनै पनि विदेशी शक्तिले आफ्नो भूमिभित्र कुनै पनि किसिमले हस्तक्षेप गरेको मन पराउँदैनन् । त्यस किसिमको जनभावनालाई हामी राष्ट्रियता भन्दछौं । राष्ट्र भनेको हाम्रो बस्ने घर जस्तो हो । जसरी एउटा घरको आफ्नै अस्तित्व हुन्छ । घरका मूल्य मान्यताअनुसार घर व्यवहार कसरी चलाउने भन्ने त्यस घरमा बस्ने सदस्यहरूको इच्छा मुताबिक हुन्छ । त्यसरी नै एउटा स्वतन्त्र देशको पनि आफ्नो छुट्टै अस्तित्व र पहिचान हुन्छ । त्यो देशलाई कसरी चलाउने भन्ने कुरा त्यहाँ बस्ने नागरिकहरूको चाहना बमोजिम हुन्छ । 

राष्ट्रियताका खम्बाहरू भनेका त्यस देशको सीमाना र त्यहाँ बस्ने जनताहरु मात्र नभएर त्यहाँको आन्तरिक राजनीतिक, आर्थिक अवस्था, भाषिक, धार्मिक, र सांस्कृतिक पहिचान, इतिहास र छिमेकी देशहरूलगायत अन्य देशहरूसँगका सम्बन्धहरु हुन् । 

नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गरेर राष्ट्रियताको बारेमा बढी चिन्ता गरिन्छ । उत्तरतिर विशाल चीन छ भने दक्षिणतिर विशाल भारत छ । दुबैको जनसंख्या सवा अरबभन्दा माथि छ । नेपालले आफूलाई सुरक्षित राख्नका लागि दुबै छिमेकी मुलुकलाई समदुरीमा राख्दै मित्रवत् व्यवहार गर्नुपर्ने हुन्छ । यही भएर आजभन्दा २६० वर्ष अगाडि नै नेपाललाई एकीकरण गर्ने मुख्य नायक पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगावीचको तरुल भनेका थिए । उनको भनाइको तात्पर्य दुईवटा ढुंगाले जसरी कमलो तरुललाई सजिलैसित च्याप्न सक्छ त्यसरी नै नेपाल पनि दुई ठूला देशहरु चीन र भारतद्वारा सजिलै च्यापिन सक्छ । 

वास्तवमा नेपालको राष्ट्रियता प्रधानमन्त्री जंगबहादुर राणाको पालादेखि कमजोर भएको देखिन्छ । त्यतिखेर भारतमा इष्ट इन्डिया कम्पनी मार्फत् बेलायतले भारतलाई उपनिवेश बनाएर शासन गरिरहेको थियो । जंगबहादुरले आफू सत्तामा टिकिराख्नका लागि भारतमा शासन गरिरहेका अंग्रेजलाई खुसी पारेर राखेका थिए । उनी अंग्रेजहरूकै इसारामा चल्दथे । उत्तरतिर अप्ठ्यारो हिमालले छेकेको हुनाले उनले चीनसित हात बढाउन चाहेनन् । साथै त्यतिखेरको चीन अहिलेको जस्तो शक्तिशाली पनि थिएन । उनीपछि बनेका अरू राणा प्रधानमन्त्रीहरूले पनि त्यही नीति अपनाइरहे । पछि सन् १९४७ सालमा भारत बेलायतबाट स्वतन्त्र भएपछि नेपालमा पनि त्यसको असर पर्यो । नेपालमा राणाहरूको एकतन्त्रीय शासन हटाएर प्रजातन्त्र स्थापना गरियो, तर भारत नेपाल दुबैतिर राजनीतिक परिवर्तन भए पनि भारतको संस्थापनपक्षले नेपाललाई हेर्ने दृष्टिकोणमा अंग्रेजको पालाको भन्दा केही फरक पारेन । 

आफ्नो देशको यही भूराजनीतिक अवस्थालाई राम्ररी बुझेका राजा महेन्द्रले उत्तर दक्षिण दुबैतिरका छिमेकीहरूलाई खुसी पारेर सन्तुलन राखेका थिए । त्यसको लागि उनले दुईजना पूर्व प्रधानमन्त्रीहरू मध्य एकजनालाई चाइना कार्ड र अर्कोलाई भारत कार्डको रुपमा प्रयोग गर्थे भन्ने जनमानसमा बुझाइ छ । उनीहरू भारत र चीनका लागि ज्यादै विश्वासपात्र थिए । परिणामस्वरुप राजा महेन्द्रले देशमा प्रजातन्त्रका विरुद्ध अधिनायकवादी एकदलीय शासन व्यवस्था कायम गर्न सफल भएका थिए । उनको शेखपछि राजा बनेका उनका छोरा वीरेन्द्रले पनि त्यही नीति अख्तियारी गर्न चाहे । छिमेकी मुलुकहरू लगायत नेपालप्रति विशेष चासो राख्ने मुलुकहरू जहिले पनि नेपालमा आफ्ना मान्छेहरू शक्तिमा आउन् भन्ने चाहन्छन् अर्थात् शक्तिमा भएका मानिसहरूलाई आफ्नो मान्छे बनाउन चाहन्छन् किनकि ती आफ्ना मानिसहरू मार्फत् आफ्ना स्वार्थ पूर्ती गर्न पाउँछन् ।

हाम्रो देशमा राष्ट्रियताको सवाल बेलाबेलामा चर्चा भइरहन्छ र कहिलेकाँही राष्ट्रियताको मुद्दा निक्कै पेचिलो गरी उठान गरिन्छ । नेपालको राष्ट्रियता धेरै कमजोर भयो भनिन्छ, तर त्यसलाई एउटा राजनीतिक स्वार्थको दृष्टिकोणले मात्र बुझ्ने र बुझाउने गरिन्छ । राष्ट्रियता भन्ने नारालाई केवल सत्तामा पुग्ने भर्‍याङ् बनाउने र सत्तामा पुगी सकेपछि त्यो भर्‍याङ्लाई फालिदिने चलन छ । राष्ट्रियताको सवालमा विशेष गरी भारतप्रति नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ किनकि नेपालको हरेक राजनीतिक मोडमा भारतको प्रत्यक्ष संग्लनता हुनेगरेको देखिन्छ । हुनत नेपालमा प्रजातन्त्र स्थापना, पुनस्स्थापना गर्नका लागि भारतीय नेताहरूको ठुलो सदासयता छ ।

चार वर्षअघि दोस्रो संविधान सभाबाट संविधान बन्ने अन्तिम अवस्थामा आइपुग्दा भारतले इन्धन र खाना पकाउने ग्यास नेपाल नपठाएर एक किसिमको नाकाबन्दी गरेको थियो । २०७२ साल असोज ३ गते नयाँ संविधान घोषणा भएपछि पनि ४,५ महिनासम्म नाकाबन्दी यथावत् भयो । तत्कालीन के।पी। ओलीको सरकारले यसलाई राष्ट्रियतासँग जोडिएको मुद्दा बनायो । जनताले पनि तेल र ग्यासको अभावबाट भएको आहतलाई सहँदै ठुलो सहयोग गरे । जसले गर्दा उनको पार्टीलाई २०७४ सालमा भएको स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा फाइदा पनि भयो ।

पछिल्लो समयमा आएर नेपालप्रति चीनको पनि विशेष चासो र सक्रियता बढेको देखिन्छ । विगतमा तिब्बत चीनकै भूभाग हो भनिदिँदा चीन नेपालसँग खुसी नै थियो । उसले नेपालको आर्थिक विकास र सडक पुल लगायत पूर्वाधार संरचनामा भरपूर सहयोग गर्दै आएको छ । तर अहिले आएर विकासको कार्यमा मात्र सहयोग नगरेर राजनीतिक चासो पनि राख्न खोजेको होकि भन्ने देखिन थालेको छ । उदाहरणका लागि २०७४ सालको आम निर्वाचन अघि दुई कम्युनिष्ट पार्टीहरू, एमाले र माओवादी मिलेर एउटा कम्युनिष्ट पार्टी बनाउन चीनको सत्ताधारीहरूकै सल्लाह सुझाव थियो भन्ने अब लुकेन। यी दुई पार्टीहरू मिल्नु भन्दा पहिला ती पार्टीका शीर्ष तहका नेताहरूको चीन भ्रमण निकै बाक्लो थियो र अहिले झन् त्यो क्रम बढेको देखिन्छ । 

हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओको नेतृत्वमा आएको टोलीसँग नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वहरू सम्मिलित चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच सैद्धान्तिक वैचारिक विषयमा केन्द्रित विचारधारात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भई यही आश्विन ७ गते यी दुई पार्टीहरूबीच ६ बुँदे घोषणा पत्र पनि जारी भयो। त्यसको लगतै २२ बर्षपछि चीनका राष्ट्रपति सी चिनफिङको नेपालमा दुई दिने राजकीय भ्रमण भयो । जसलाई नेपाल चीन लगायत अन्य देशहरूले बडो महत्वकासाथ हेरेको छन् । बास्तवमा अहिले चिनियाँ कम्युनिस्ट पार्टीको विचार भनेको चिनियाँ राष्ट्रपति सी जिनपिङको विचार हो भनिन्छ ।

भारत र चीनदेखि बाहेक नेपाललाई अमेरिका र युरोपियन देशहरूले पनि चासो राखेको देखिन्छ । अमेरिकाको विशेष चासो भनेको चिन र तिब्बतसँग छ । अमेरिका भन्छ, तिब्बत स्वतन्त्र हुनुपर्छ । तर चीन त्यो कुरा स्वीकार गर्दैन । अमेरिका चीन शक्तिशाली बनेको मन पराउँदैन । त्यस्तै युरोपियन मुलुकहरू पनि नेपालको बारेमा खुव चासो राख्छन् । लोकतन्त्रको लागि सहयोग गर्छन् । तर सँगसँगै उनीहरू नेपाललाई क्रिस्चियन धर्म प्रचार प्रसार गर्ने एउटा गन्तव्य मुलुक पनि बनाउन चाहन्छन् भन्ने धेरै को बुझाइ छ । २०७२ सालमा आएको नयाँ संविधानमा नेपाललाई धर्म निरपेक्ष मुलुक बनाउन विदेशीहरूको विशेष भूमिका थियो भन्ने आरोप सुनिन्छ । चीन एउटा साम्यवादी मुलुक हो । भारत, अमेरिका, बेलायत र अन्य युरोपियन मुलुकहरू लोकतान्त्रवादी मुलुकहरू हुन् । त्यसकारण यी मुलुकहरू र चीनवीच राजनीतिक विचारधारा पनि फरक फरक छ ।

नेपाल आर्थिक र विकासको हिसाबले गरिब र पछौटे राष्ट्रमा पर्दछ । नेपालको भूगोल सानो छ । यसको क्षेत्रफल जम्मा १ लाख ४७ हजार १८१ वर्ग किलोमीटर छ । यो एउटा भूपरिवेष्ठित देश हो । यसको करिब दुइ तिहाइ भूभाग अग्लाअग्ला पहाड र हिमालले ढाकिएको छ । जसले गर्दा ती ठाउँहरुमा विकास पुर्याउन कठिन छ । देशको मुख्य आर्थिक स्रोत भनेको कृषि, पर्यटन र वैदेशिक रोजगारीबाट आएको बिप्रेषण हो । यसरी नेपालको भूराजनीतिक अवस्था र गरिबीले गर्दा नेपालको राष्ट्रियता एकदमै संवेदनशील छ । 

अहिले नेपाली जनताले नेपालको राष्ट्रियता एकदमै कमजोर भएको आभास गरेको पाइन्छ । चारैतिर खुला सिमाना छ र ती सिमानाहरूमा के भइरहेको छ भन्ने विषयमा सम्बन्धित जिम्मेवार निकायहरू पनि बेखबर भएको देखिन्छ । नेपाली समाज अहिले झन् झन् खुकुलो भइरहेको देखिन्छ । आध्यात्मिक चिन्तनभन्दा बढी भौतिक सुख सुविधामा भौंतारिरहेको देखिन्छ । नेपालको आन्तरिक राजनीतिमा आएको उतारचढावसँगै विदेशीहरूको चलखेल पनि बढिरहेको देखिन्छ । नेताहरू पनि राष्ट्रियताको बारेमा भाषणमा मात्र राष्ट्रियताको कुरा गर्छन् तर अध्याँरो कोठाभित्र के भइरहेको छ, सीमित व्यक्तिहरूलाई मात्र थाहा हुन्छ । त्यसकारण राष्ट्रियताको सन्दर्भमा बढी भन्दा बढी खतरा राजनीतिक नेतृत्वहरूबाटै हुने देखिएकोले राष्ट्रियताको रखवारी गर्न सम्पूर्ण नेपाली जनता सचेत रहन जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ