arrow

निगमको आधिकारीक तथ्याङ्ग ६२ लाख, बजारमा ४ लाख सिलिण्डर बढी देखिएको सत्य हो : खड्का

कालोबजारी गर्नेको पाता कस्छौँ : प्रजिअ सुवेदी

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
Gopal-Khadka-new-@.jpg.jpeg
काठमाडौं । नेपाल अइल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले केही दिनभित्रै खाना पकाउने एलपी ग्याँसको अभाव हट्ने बताएका छन्  ।वुधबार काठाडौंमा आयोजित साक्षात्कारमा कार्यकारी निर्देशक खड्काले नेपाल अइल निगमले ग्याँसको अभावलाई ध्यानमा राख्दै आपूर्ती चुस्तदुरुस्त बनाउन इण्डियन अइल कर्पोरेशनसँग ग्याँस आयातको मात्रा बृद्धि गर्नेबारे छलफल भइरहेको भन्दै छिट्टै समस्याको समाधान हुने स्पष्ट पारे ।
 
साक्षात्कारमा खड्काले भने, ‘भारतसँग कुराकानी हुँदा उसले जति चाहिए पनि ग्याँस उपलब्ध गराउँछु भन्ने प्रतिवद्धता व्यक्त गरेको छ, त्यसैले अब केही दिनभित्र सहज हुन्छ भन्नेमा म विश्वस्त छु ।’खड्काले निगमको आधिकारीक तथ्यांकमा ६२ लाख सिलिण्डर भएपनि हाल बजारमा ४ लाख बढी सिलिण्डर देखिएको कुरा सत्य भएको स्वीकार्दै त्यसवारेमा पनि निगमले सत्यतथ्य पत्ता लगाई तीनलाई समेत कानुनी दायरामा ल्याउने जानकारी दिए । उनले भने, ‘दैनिक माग बढेको कारण बढि सिलिण्डर देखिनु स्वभाविक हो ।’
 
खड्काले इन्धनको लागि भारतसँग मात्रै भर पर्न नहुने भन्दै चीनसँग पनि इन्धन आयातका लागि तयारी भैरहेको तर यातायात, मूल्य र भण्डारणका कारण तत्काल आपूर्ती गर्न नसकिने भएपनि छिट्टै त्यताबाट पनि आपूर्ती गर्ने गरी तयारी भइरहेको जानकारी दिए । 
 
खड्काले हाल डिजेल, पेट्रोल र हवाई इन्धनको अभाव नभएको समेत स्पष्ट पारे । सरकारले ९० दिनलाई पुग्नेगरी काभ्रेको पाँचखाल, नुवाकोटको वेत्रावती र तनहुँको खैरेनीमा इन्धनको भण्डारण केन्द्र आगामी २ वर्षभित्रै निर्माण गर्ने तयारी समेत गरिरहेको जानकारी दिए । 
 
कालोबजारी गर्नेको पाता कस्छौँ : सुवेदी 
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।  प्रमुख जिल्ला अधिकारी सुवेदीले हाल बजारमा ४ लाख अवैध ग्याँस सिलिण्डर भित्रिएको बताए । गत मार्चको तुलनामा यस मार्चमा झण्डै ३० हजार मेट्रिक टन ग्याँस भित्रिँदा पनि उपभोक्ताहरु ग्याँसको अभाव झेल्न बाध्य भएको भन्दै कालोबजारी नियन्त्रण गर्न राजधानीमा प्रभावकारी रुपमा अनुगमनका काम भएको जानकारी दिए । 
 
सुवेदीले अनुगमनमा बढी मुल्य लिने गरेको, कम तौल भएका सिलिण्डर भेटिएका, ग्याँसको कृत्रिम अभाव सिर्जना गरेको र कालोबजारीमा संलग्न भएको लगायतका समस्याहरु देखिएको बताए । उनले गत फागुन २७ देखि हालसम्म ग्याँसको अवैध कारोबारसम्बन्धी करिव १३ वटा मुद्दा दायर भएको र ५ सय ६७ वटा भरी सिलिण्डर जफत गरेको जानकारी दिए ।
 
आफूले कालोबजारी नियन्त्रण तथा बजार अनुगमन गर्न दैनिक तीन वटा अनुगमन टोली परिचालन गरेको समेत प्रजिअले सुनाए । अनुगमनबाट उद्योगी व्यवसायीहरुलाई नतर्सिन समेत आग्रह गरेका छन् । उनले भने, ‘अनुगमन निकायले अनुगमन गर्छ र गर्न दिनुपर्छ, कसैले तर्सिनु पर्दैन, हतोत्साहित हुनुपर्ने कुनै कारण छैन ।’ उनले अनुगमन कार्यलाई चुस्त दुरुस्त बनाउन आम नागरिकलाई सचेत हुन आह्वान गर्दै कहीँ कतै बद्मासी गरेको पाइए सूचना दिएर सहयोग गर्न अपिल समेत गरे । 
 
खाली भएको ६२ लाख सिलिण्डर नभरिएसम्म ग्याँस अभाव हट्दैन : धिताल
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले पछिल्लो ५ महिनामा खाली भएको ६२ लाख सिलिण्डर नभरिएसम्म पूर्ण रुपमा ग्याँसको अभाव सहज नहुने बताए । 
धितालले ग्याँस आपूर्तिमा देखिएको असहज स्थितिलाई सामान्यीकरण गर्न उपभोक्ता, उद्योगी लगायत सवै तहतप्काबाट जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । 
 
उनले अनुगमनमा जाँदा कतिपय ठाउँमा ग्याँस पाइएको तर बढी मूल्य असुली लिइएको, कृत्रिम अभाव सिर्जना गर्नेजस्ता समस्याहरु देखिएको र आफूहरुले प्रभावकारी रुपमा अनुगमन गरिरहेको जानकारी दिए । उनले भने, ‘बजारमा अभाव सिर्जना भैरहेको छ, मौका मिल्नासाथ बढी मूल्य असुल्ने गरेको भेटिएको छ, तत्काल वितरण प्रणालीलाई सहज बनाउन हामी प्रभावकारी भूमिका खेल्छौं ।’
 
नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेले ग्याँसको अभाववारे राज्यले नै अफवाह फैलाएको भन्दै आपत्ति जनाएका छन् । घिमिरेले आफूहरुमाथि अनुगमनको नाममा राज्यले चाहिनेभन्दा बढी नै हस्तक्षेप गरेको आरोप लगाए । 
उनले भने, ‘सरकारले आयात र माँगबारे कुनै स्पष्ट जानकारी नै नराखी हल्ला फिजाउँदा समस्या उत्पन्न भएको हो, अब हामी छिट्टै वितरण प्रणालीबारे जानकारी गराँछौं ।’ घिमिरेले विगत ७ महिनाको अवधिमा १ लाख २७ हजार ७ सय ४४ मेट्रिकटन ग्याँस आयात भएपनि माँग २ लाख ५ हजार ९ सय १२ भएकाले समस्या उत्पन्न भएको जिकिर गरे । 
 
उनले भने, ‘माग बमोजिम ग्यासको अभाव समाधान गर्न झण्डै ७९–८० हजार मेट्रिक टन अतिरिक्त ग्याँसको व्यवस्था गर्नुपर्छ ।’ उनले खाली रहेको करिब ५५ लाख सिलिण्डर तत्काल भर्न सरकारले चासो नदेखाए आगामी एक वर्षमा समेत ग्याँस अभावको समस्या हल नहुने ठोकुवा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ