arrow

हामीलाई एउटा नेपालले भएन, सात वटा नेपाल बनायौं : केसी

‘सरकार त असफल भयो भयो, यो व्यवस्थाप्रति विश्वास टुट्ने खतरा छ’ : लेखक

logo
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । उनले भने,‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ । सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’

उनले भने,‘हामीलाई नेपालमा संविधान सभाको चुनावमात्रै गराउन ६५ वर्ष लाग्यो । जनप्रतिनिधिबाट संविधान बनाउनुपर्छ भन्ने मागअनुसार संविधान बनाउनको लागि दुईपटक संविधानसभाको चुनाव भयो । देशमा गणतन्त्र स्थापना भयो । नेपाली जनतालाई भन्ने गरियो, संविधान बनेपछि धेरै समस्या समाधान हुन्छ, चुनाव भएपछि धेरै समस्या समधान हुन्छ । र, संघीयता आएपछि झन धेरै समस्या समाधान हुन्छन् भन्ने कुरा गरियो । गणतन्त्रपनि आयो, संघीयता पनि ल्याईयो । हामीलाई एउटा नेपालले भएन, सात वटा नेपाल बनायौं । ८८५ सांसद बनाउन सफल भयौं । ७५३ सरकार बनायौं । गणतन्त्र स्थापना भयो राम्रै कुरा भयो ।’

मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको उनको गुनासो छ । ‘तत्कालिन नेकपा एमलो र नेकपा माओवादी केन्द्रबीच एकता भयो । नेकपाले दुई तिहाई मत ल्यायो । राम्रै कुरा भयो । अहिले दुई तिहाई बहुमतको सरकार गठन भएको छ । यत्ति हुँदाहुँदैपनि नेपाली जनताले अहिलेपनि सुशासन पाएनन् । पहिले दशैं आयो । अहिले तिहार आईरहेको छ, गर्नु नगर्नु गरेर अकुत सम्पत्ति कमाउनेको लागि दशैं र तिहार आयो । दैनिक दुई हजारको दरले नेपाली युवाहरु विदेश गैरहेका छन् । अहिलेपनि एयरपोर्ट जाने हो भने खुटटा हाल्ने ठाउँ छैन् ।’

उनले सत्तामा बस्नेहरुले सुशासन कायम गरेको, भ्रष्टाचार घटाएको, सार्वभौमसत्ताको रक्षा गरेको भनेर भन्नु त नौलो कुरा नभएको चित्रण गरे । उनले थपे,‘तर, यथार्थमा जनताको समस्या जटिल छ । यति ठूलो संघीय प्रणाली, जसको लागि नेपालको सामथ्र्य थिएन । यो मुलुकमा संघीयता आएपछि जातीय समस्या समाधान हुन्छ । भाषिक समाधान हुन्छ भनियो । वास्तवमा अहिले समाधान भएको छैन् ।’

आफ्नो पार्टीले सबैसँग मिलेर अघि बढ्ने नीति लिएको पनि उनले सनुाए । उनले भने,‘संविधान जारी गर्ने बेलामा पनि हाम्रो पार्टीले संघीयताको बारेमा मतभेद राख्यो । अहिले नेपाली जनताको मुखमा  संघीयता धान्न सकिँदैन् भन्ने आवाज छ । संघीयता र गणतान्त्रिक प्रणाली आएतापनि राजनीति गर्ने मान्छेको प्रवृत्ति बदलिएको छैन् । लुट, भ्रष्टाचार, ठेकेदारी प्रथा कायमै छन् । यी सबैको भण्डाफोर गर्नको लागि हाम्रो पार्टीले देशव्यापी कार्यक्रम बनाएको छ ।’ उनले ७ वटै प्रदेशमा संघर्षका कार्यक्रमहरु लिएर पार्टी जाने पनि जानकारी दिए ।

अराजकता, भ्रष्टाचार (वर्षौदेखि भएका जनप्रतिनिधिले गरेको जघन्य अपराध) अहिले देखिन थालेको उनको भनाई छ । उनले भने,‘उनीहरुकै काण्ड र कर्तुत बाहिर आईरहेका छन् । यो सरकारले ठूला–ठूला भ्रष्टाचारीलाई कारबाही गर्न नसकेपनि जनप्रतिनिधिको कर्तुत मिडियामा आईरहेका छन् । यसखालका मान्छेलाई कारबाही गर्नुपर्छ । अरु कुरा भ्रष्टाचारको विरुद्धमा सरकारले कारवाही गरेको छ । तर, सानालाई मात्रै । ठूला–ठूला भ्रष्टाचार र अनियमितताका काण्डा ललिता निवास, वाईडबडीका दोषीलाई कारबाही गरेको छैन् ।

अध्यक्ष केसीले आफूहरुबीच मतभेद जे भएपनि गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले भने,‘उपलब्धि गुम्न दिनुहुँदैन् । तल अधिकार दिनु ठीक छ । प्रदेशको कुनै औचित्य छैन् । नेपाली जनताले प्रजातान्त्रिक विकेन्द्रिकरण चाहेको हो । नेपालको भौगोलिक बनावटअनुसार पनि एकात्मक प्रणाली नै उचित छ । ठुलो संयन्त्र पाल्दाखेरि अहिले नेपाली जनताले थाहा पाए । हिजो हामीले भनेको कुरा ख्यालठट्टाजस्तो लाग्दथ्यो । अहिले यो कुरा ठीक रहेछ भन्ने कुरा साधारण मकै पोलेर बेच्नेले पनि थाहा पाए ।’

जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिने कुरामाभन्दापनि आफ्नो सेवासुविधा बढाउनेतर्फमात्रै सोचेको  पनि उनको आरोप छ । उनले भने,‘जनताको ढाट सेक्नेगरि कर असुल्ने । स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिले आफ्नो सेवा र सुविधा मात्रै हेरे । त्यही भएर अहिले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको छ। कतै यो निराशा र वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथिनै एउटा खतरा आउने हो कि भन्ने डर छ ।’ उनले सरकारले जनतालाई सुशासन दिनुपर्ने आग्रह गरे । उनले भने,‘जनताको मन जितेरमात्रै प्रणाली बलियो हुन्छ । सत्ता कब्जा गरेर मात्रै केही हुँदैन् ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन् । उनले भने,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’

उनले हरेक पाटीृभित्र विधि र राजनीतिको विषयमा आ–आफ्नो मूल्य र मान्यता रहने बताउँदै थपे,‘पार्टीभित्रको आधिकारिक लाईन छ । हामी त्यहीअनुसार चलिरहन्छौं । को प्रधानमन्त्री बन्छ ? को अध्यक्ष बन्छ ? भन्ने कुरा विधिसम्वत हुन्छ । यी विषय त प्रक्रियाअनुसार चलिरहन्छन् ।’ उनले अहिले देशको राजनीतकि एजेण्डा भनेको विकास र समृद्धिको एजेण्डा नै भएको चित्रण गरे ।

रायमाझीले थपे,‘यतिवेला दुई तिहाई बहुमतको सरकार छ । विकास र समृद्धिको एक सूत्रीय एजेण्डा छ । विरोध र समर्थन छन् । अहिले भनेको पूरानो एजेण्डाको निरन्तरता होईन । कतिपयले सरकार पनि पूरानोको निरन्तरता बुझेका छन् । तर, यो होईन । हामी नयाँ व्यवस्था, नयाँ संविधानमा छौं । विकास र समृद्धको एजेण्डामा छौं । संविधान कार्यान्वयनको एजेण्डामा अघि बढेका छौं । सर्यौं कानुन बनाएका छौं । विकास र समृद्धिका जग हालेका छौं । यद्धपी जनताले चाहेजस्तो खासगरी अपेक्षाअनुसार अझै काम भएका छैनन् । सरकारले परीणाम दिन सकेको छैन् । केही ढिलासुस्ती भएको हो । तर, जग हाल्नको लागि कानुन बनाउनको लागि हामीले समय लाग्यो । अब विकास र समृद्धि देखिन्छ ।’

उनले छिट्टै तिव्र रुपमा परीणाम आउन लागेको पनि सुनाए । उनले भने,‘संघीय सरकारबाट ठूला आयोजनाहरु प्रदेशबाट मझौला र स्थानीय सरकारबाट साना प्रकारका आयोजनाहरु धमाधम अघि बढिरहेका छन् । तीनै तहका सरकारबाट ठूला, मझौला र साना आयोजनवाहरु सञ्चालन गरिरहेका छौं । पूर्वाधार विकासका आयोजनाहरु जोडदा र विकासका परीणाम निकाल्दा आगामी दिनहरु र वर्षहरु उथुलपुथलका वर्षहरु हुनेछन् ।’

उनले राष्ट्रिय जनमोर्चाले भनेजस्तो संघीयतानै बेठीक हो भन्ने कुरामा आफूहरु सहमत हुन नसक्ने जिकिर गरे । उनले भने,‘संघीयता भनेको त जनताले स्विकार गरेको कुरा हो । संविधानसभाबाट ९५ प्रतिशतले अनुमोदन गरेको एजेण्डा हो । यो कुनै जबरजस्ती ल्याईैएको एजेण्डा होईन् ।’ रायमाझीले भ्रष्टाचार र व्यभिचार देखापरेको सुनाए ।उनले भने,‘भ्रष्टाचार र व्यभिचार सतहमा आएका छन् । अब संघीय गणतन्त्र आईसकेपछि चेतना आईसक्यो । पूराना घट्नालाई चिहानबाट, तलबाट ल्याईएका छन् ।गलत गर्ने जो कसैलाई पनि राज्यले छोड्दैन् । घट्नाबाट कोही पनि बच्नेवाला छैन् । यो बर्वाद होईन, ठीक भयो । हिजोको सरकारले घटना बाहिर ल्याउन चाहेको थिएन । तर, यो सरकारले ल्यायो ।’

उनले वर्तमान सरकाले पनि यदि नराम्रो काम गरे उसको आलोचना गर्नुपर्ने धारणा राखे । उनले भने,‘ कारबाही गर्ने सन्दर्भमा जनताबाट कुरा उठ्न्पर्छ । गलत गर्नेहरु कानूनको दायरामा आउनुपर्छ । जोसुकै होस् । नेकपाका मान्छेले गल्ती गरे पनि उनीहरुपनि कारबाहीको भागिदार हुनुपर्छ । निश्पक्ष छानबिन हुनुपर्छ । कानुनको नजरमा सबै बराबर हो । कोही मान्छे थुनियो भने सडकबाटै फैसला गर्ने काम गर्नुहुँदैन् ।’
फरक प्रसँगमा उनले सभामुखमा आफ्नो पार्टीको दाबीबारे पार्टीले छलफल गरेर टुँगो लगाउने पनि विश्वास दिलाए । उनले भने,‘सभामुख र उपसभामुखबारे सरकार र प्रतिपक्षबीच छलफल हुन्छ । सभामुख दिने वा उपसभामुख के दिने ? छलफल गरेर बसेर टुँगो लगाउने हो ।’ उनले संविधान कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । सभामुखको लागि आफ्नो व्यक्तिगत रुपमा कुनै चाहना नरहेको र कसैले आफ्नो स्वार्थअनुसार नाम चर्चामा ल्याईदिएको पनि रायमाझीको टिप्पणी छ ।

उनले शान्ति प्रक्रिया अधुरो काम पूरा गर्नको लागि आफूहरु गम्भिर रहेको स्पष्ट पारे । उनले भने,‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगलाई पूर्णता दिनुपर्छ । द्धन्द्धका घाउ कोट्याउनेतर्फ लाग्नुहुँदैन् । हामी अगाडि बढ्न्पर्छ ।’

कार्यक्रममा एक पत्रकारले नेताहरु त डकैत भए नि भन्ने शब्द प्रयोग गर्दा रायमाझीले असन्तुष्टी पोखे । उनले भने,‘डकैती भन्ने शब्द नबोल्नुहोस् । अधिकार आएको छ भन्दैमा जे मन लाग्यो त्यही बोल्ने, अलिक शिष्ट रुपमा शब्द प्रयोग गर्नुहोस् । अराजक हुनुलाई अधिकार आएको होईन् । गलत शब्द, अप्रिय शब्द बोल्नको लागि स्वतन्त्रता आएको होईन । रायमाझी डकैती गर्न आएको होईन । यो सरकार पनि जनताको अत्यधिक बहुमतको जनमत लिएर आएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ