arrow

मैले देखेको एनआरएनए

logo
शुरेस गिरी,
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
suresh-giri.jpg.jpeg

सम्मेलनको तयारी तिब्र रुपमा चलिरहेको थियो धेरै देशबाट आफ्ना आफ्ना एजेण्डा सहित उम्मेदवारी घोषणा भइरहेका थिए साथै दशै लगत्तै सुरु हुने एनआरएनएको सम्मेलनमा सहभागी हुन चाहनेहरूको लामै लिस्ट पनि तयार भइसकेको अवस्था थियो। एनआरएनएको महासंग्राम र हिन्दुहरुको ठूलो चाड दशै मनाउने सुरसार कसिसकेकोले जाने दिनको व्यग्र प्रतीक्षा थियो। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सबाट जाने निर्णय भएकाले सोचेभन्दा अलि बढी उत्साह थियो । टोकियोदेखि ओसाकासम्मको यात्रा तय गरी काठमाडौं उडान शुरू गरियो। आफ्नै देशको जहाज चढ्न पाउनु पनि सौभाग्य नै सम्झी काठमाडौको यात्रा सुरु भयो। जहाज भरी सबै नेपाली यात्रु मात्र देख्दा मनमा खिन्नता छायो। तैपनि भविष्यमा राम्रो हुने आशले होला खुसिनै भइयो। जहाज भित्रको सेवा सुविधा, खानाको गुणस्तरीयता देख्दा भित्रैबाट भन्न मनलाग्यो यो पाराले उँभो लाग्दैन। यो विषयमा लामै लेख्ने विचारमा छू। 

काठमाडौं झरिवरी सबै परिवार पोखरा लागिसकेकोले भोलिपल्ट बिहानको फ्लाईट समाती पोखरा लगियो।र टिका सकिएपछि एनआरएनए सम्मेलनको लागि हतारिदै काठमाडौं लगियो। बन्दै गरेको एनआरएनए अफिसमा अव्यवस्थित भीड छिचल्दै प्रतिनिधिको बिल्ला भिर्न सफल भइयो। जम्माजम्मी पच्चीस सय प्रतिनिधि दर्ता गर्न एनआरएनएको सचिवालयले महाभारतको लडाई नै बनायो। यति अव्यवस्थित र भद्रगोल अहिलेसम्म देखिएको थिएन। उम्मेदवारको पर्चा पम्प्लेट बाड्नेको उस्तै भिडभाड। जमीन भरी छरिएर रहेका उम्मेदवारका पर्चा र पम्प्लेटको फोहर, अव्यवस्थित पार्किङ्ग, अनावश्यक हल्ला खल्ला र ठूला ठूला कुराले माहोल रणभूमि जस्तो थियो। 

यो सबै देखेपछि मनमनै भन्न मन लाग्यो यी पच्चीस सय सम्हाल्न नसक्ने एनआरएनका नेताले के देशको मुहार फेर्लान। उमेदवारको तिब्र प्रचार प्रसारको कारणले आफुपनि कुनै राजनैतिक दलसंग आबद्ध भएका कारणले आफ्ना उम्मेदवारको खोजीमा लागियो। तीब्र राजनैतिक ध्रुविकरणको कारणले गर्दा उमेदवारहरु नेताको आशीर्वाद पाउन धेरै ठाउँमा कुदिरहेका थिए। साथै भविष्यमा एनआरएनएबाट साथ र सहयोग पाउने आशामा नेताहरुलाई एनआरएनएका प्रतिनिधिलाई शुभकामना र चियापान राख्न पनि भ्याईनभ्याई थियो। आफुपनि गईयो धेरैको चियापानमा। 

यो पटक एनआरएनएमा धेरै नै राजनीति भयो भन्ने कुराले काठमाडौं राम्रैसंग तातेको थियो। दुवै ठूला दल नेकपा र नेपाली कांग्रेसले प्यानल नै खडा गरी उम्मेदवार बनाउने प्रयासले एनआरएनएमा ठूलै हलचल आयो। एनसीसीको चुनावमै दलगत रूपमा उम्मेदवारको लहर राम्रैसंग चलेका कारण त्यसको असर काठमाडौंमा देखिनु स्वभाविक थियो नै। यो ध्रुवीकरणले अबको एनआरएनए कस्तो हुन्छ भन्ने ठूलो प्रश्न बाँकी नै छ। नेपालमा चुनाव हुनु र राजनैतिक हस्तक्षेप हुनु नौलो कुरा हैन यसलाई स्वभाविक रूपमा नै लिँदा राम्रै होला। एनआरएनएका संस्थापक अध्यक्ष नै राजनैतिक हस्तक्षेपको कारण अनुपस्थित हुनुले पनि यो कुराले अलि बढी नै माइलेज पाइरहेको अवस्था पनि हो।

यहाँ राजनैतिक हस्तक्षेप भन्दा पनि एनआरएनएको पुस्ता कस्तो छ भन्ने प्रश्न गम्भीर बनेको अवस्था छ। विदेशमा बसेर दिनदिनै नेतालाई गाली गर्ने नेपाली कति सभ्य र शालीन छन् भन्ने कुरा यो सम्मेलेनले राम्रोसँग देखाएको छ। के नेतालाई गाली गर्नु देश बनेन भनेर हल्ला गर्नु मात्र एनआरएनएको काम हो ? केहि राम्रो गर्न अरूलाई गाली गर्नु मात्र देशको लागि सोच्नु हो ? अलिकति बचेखुचेको एनआरएनएको इज्जत पनि यो सम्मेलन पछि सकिसकेको अवस्था रहेको छ। प्राय सबै देशमा प्रतिनिधिको विवाद आउनु, उम्मेदवारले नै फर्जी प्रतिनिधि भएको खुलासा गर्नु, संविधानत मतदाता हुनु नपाउनेले मतदान गर्नु, सभ्य र शालीन भएर बस्न नसक्नु, पैसा र पावरको भरमा चुनाव जित्न खोज्नु, प्रहरीद्वारा भीडलाई तितरबितर गर्न लाठी चार्ज नै गर्नु, दर्ता प्रकिया चुस्त दुरुस्त राख्न नसक्नु, संस्थाको हरहिसाब चुस्त दुरुस्त नहुनु जस्ता कुराले एनआरएनएको साख नराम्रोसंग बिग्रेको अवस्था रहेको छ। 

नेतृत्वमा जो भएपनि या आएपनि यो विशुद्ध सामाजिक संस्था हो र यसको उद्देश्य नेपाल र नेपालीको हितमा कार्य गर्नु हो। यो मूलमन्त्र कहीं कति लागू नहुनु यो सम्मेलनको सबैभन्दा ठूलो कमजोरी हो। अबको नेतृत्वले माथिका समस्यालाई कसरी समाधान गर्दछ र संसारभर छरिएर रहेका असीलाख नेपालीको साझा संस्था बनाउने प्रयास कसरी गर्दछ भन्ने कुराको मूल्यांकन समयले गर्ला। यदी निर्वाचित कार्यसमिति फेरि पनि यिनै कुरामा चुक्यो भने एनआरएनएको अस्तित्व नै समाप्त भएर जाने निश्चित प्रायः नै देखिन्छ। यो अवस्थामा हाम्रो एनआरएनए अब विवादरहित होस भन्ने कामना र आशा गरौं, नेतृत्वले बनाउने प्रतिबद्धता गरोस।
Twitter: @Rhishendra



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ