arrow

कैलाश ढुंगेललाई मन्त्री हुनुको फाइदा कति कति !

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
kailash-dhungel-province-3-finance-minister.jpg

काठमाडौं। मन्त्री नहुँदासम्म व्यवसायी कार्यकर्ताहरुले लुगा, गाडि भाडादेखि खानपानको समेत जोरजाम गरिदिनु पर्ने नेता अर्थमन्त्रीजस्तो पदमा पुग्नासाथ प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेल फेरिएका छन्। छोरालाई आकर्षक जागिर लगाउने, पञ्चबली गर्नेदेखि घरपरिवारका सबैलाई गाडि सुविधा दिने र तोलाका तोला सुनको मालिक बन्ने हैसियतमा ढुंगेल पुगेका छन्।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल मन्त्री हुनुअघिसम्म रामेछापका पौरखी तत्कालीन एमालेका कार्यकर्ताहरु रत्न गौतम, दिपेन्द्र कार्की, जीवन बुढाथोकी, बलराम श्रेष्ठ लगायत दर्जनौंसँग मागिडोली आवश्यकता पूरा गर्दथे। उनले लगाउने सर्ट, जुत्ता, सफारी सुटदेखि ओभरकोटसम्म कार्यकर्ताले किनिदिएका विवरण अहिले पनि धेरैसँग रहेको छ। शुभलाभ लिइएका सबै कार्यकर्तालाई उनले प्रदेश संसद, गाउँपालिका वा नगरपालिकाको उम्मेदवार, पार्टीको नेता बनाइदिने वा ठूला योजना पारिदिने आश्वासन दिएर वर्षौंसम्म दुहुनो गाई बनाइरहे। 

मन्त्री भएपछि उनले जिल्लाकै चर्चित खाँडादेवी मन्दिरमा ठूलो तामझामका साथ पञ्चबली दिए। पहिले उनीसँग पटक्कै नमिल्ने तर वडाध्यक्षको चुनाव जितेपछि कैलाशसँग लपक्कै भएका खाँडादेवी गाउँपालिकाकै केसी थरका एक वडाध्यक्षलाई लगाएर उनले पञ्चबलीको व्यवस्था मिलाएका थिए।

चुनाव जितेको र रोज्जा मन्त्रालय पनि पाएको उपलक्ष्यमा बली दिएर जिल्लाभरका आफू पक्षका कार्यकर्तालाई स्थानीय र कारखाना उत्पादित मदिरासहितको भव्य भोजको आयोजना पनि उनले गरे। सोही बलीका अवसरमा दुईवटा सरकारी गाडीको दुरुपयोग गरी पुगेका कैलासलाई त्यहाँका पुजारी शेरबहादुर तामाङले आशिर्वाद दिंदै प्रदेशको अर्थमन्त्रीबाट अब मुलुककै अर्थमन्त्री बन्नुहोस् भनी बली दिइएका पशुका रगत छर्कंदै आशिर्वाद दिएका थिए। आशिर्वादबाट प्रभावित कैलासले सो अवसरमा शेरबहादुरलाई कुनै योजनाका नाममा १० लाख दिने बचन दिए।

दुई वर्षअघिसम्म कार्यकर्ताका सहयोगमा जीवन गुजारा गरिरहेका उनीसँग अहिले परिवारका सदस्यैपिच्छे गाडी छन्। मन्त्री भएलगत्तै उनले भारतीय दूतावासको कोटामा भारतको बैंगलोरमा निशुल्क अध्ययन गराएका छोरा राजिव ढुंगेललाई सिद्धार्थ बैंक हेटौडामा प्रबन्धक बनाएका छन्। बैंकको जागिरे भएपनि राजिवले सरकारी सेतो नम्बर प्लेट भएको गाडी प्रयोग गर्दै आएका छन्। उनी रामेछाप आउँदा वा अन्त घुमफिर र मोजमस्तीका लागि जाँदा पनि सरकारी गाडि नै प्रयोग गर्दछन्।

बैंकका जागिरे छोराले प्रयोग गर्ने गाडीका चालकदेखि इन्धनसमेत जनताले तिरेको करबाट चल्छन्। मर्मत खर्च त राज्यको ढुकुटीबाट व्यहोरिने भइहाल्यो। मन्त्रीकै हैसियतले उनले झण्डावाल बाहेक अर्को रातो प्लेट भएको गाडि पनि प्रयोग गर्दछन्। झण्डावाल सरकारी नम्बर प्लेटको गाडी लिएर ठेकेदार, व्यापारी, मनमिलेका कार्यकर्तासँग भेटघाट गर्न वा होटल, रेष्टुरेण्ट धाउँदा विवादमा परिने भएकाले उनले यस्तो बेला रातो नम्बर प्लेटको गाडीको सदुपयोग गरिरहेका छन्।

रसिक स्वभावका मन्त्री कैलास सामान्य नेताभन्दा मनोरञ्जन र फ्रेसनेसका लागि दिलैदेखि रुचाइएका कार्यकर्ता वा साथिभाईसँग जमेर रमाउने गर्छन्। हुनत कैलास दूग्ध विकास बोर्डको कार्यकारी अध्यक्ष भएका बेला पनि दूधको मूल्य बढाएर विवादमा आएका थिए। त्यतिबेला उनले किसानलाई पनि फाइदा नहुने र उपभोक्तालाई पनि मर्का पर्नेगरी दूधको मूल्य बढाएर बिचौलियालाई पोसेका थिए।

यसै अवसरमा जुटाएको केही रकम र कार्यकर्तासँग ५० हजारदेखि ५ लाखसम्म सापटी भन्दै लिएर काँडाघारीमा गान्धीचोक सामु २०७३ सालमा झण्डै २ करोडमा घर खरिद गरेका थिए।

तर चलाख कैलासले विवादमा परिने डरले सो घर आफू वा परिवारका नाममा नराखी बहिनी जानुका भण्डारीको नाममा राखेका छन्। बहिनी जानुका आफैं पनि सक्षम र ज्वाईं समेत राम्रो कमाइ गर्ने परिवार हो र उनीहरु बानेश्वरमा आफ्नै घरमा बस्दैआएका छन्। काँडाघारीमा खरिद गरिएको घरमा शुरुदेखि नै कैलासको परिवार बस्दै आएको छ।

कैलासको भाकल पूरा गर्न पञ्चबलीको व्यवस्थापन गरी आफ्नै घरबाट पूजासामग्री र पशु निकाल्ने वडाध्यक्ष केसीको वडामा करोडौं रुपैयाँका थुप्रै प्रादेशिक बजेट कैलासले हालिदिएका छन्। कैलाशले घर खरिद गर्दा मागे बमोजिम सहयोग गर्ने माग अनुसार उनैले खर्च गर्नेगरी १ करोडको बजेट हालिदिएका छन्। चुनावमा आर्थिकदेखि भौतिक सहयोग समेत गरेका टलक घिसिङले कार्यान्वयन गर्नेगरी एउटा ५० लाख र अर्को ६० लाखको योजना पनि पारिदिएका छन्। 

हिजोसम्म मन्त्रीका परिवारले त्यति गहना प्रयोग गरेको नदेखिए पनि अहिले छिमेकी र मन मिल्ने मानिससँग मन्त्राणीले ११ तोला सुन पहिलेदेखि नै जोगाएर राखेको थिएँ भन्ने गरेकीछिन्। मन्त्रीसँग प्रदेशभरीका ठेकेदार र व्यापारीहरुको निकै उठबश हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ