नक्कली राष्ट्रबादको पासोमा लिपुलेक र कालापानी

महेश दत्त भट्ट, प्रकाशित मिति : २०७६ कार्तिक २२ शुक्रबार

प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ । आज नेपालमा त्यस्तो घडी आएको छ । राष्ट्रको रक्षा गर्न सवैमा मनोबल बढाउनु पर्ने बेला आएको छ । खोक्रोराष्ट्रबादलाई त्यागेर सक्कली राष्ट्रियताको निम्ति नेपाली जनताका लागि फेरी सोचनीय विषय बनेको छ ।

नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको स्थापना एवं संरक्षण, स्वाभिमानको रक्षा गर्नका निम्ति पानीनखाई, भोकभोकै, रातभरि लडेका स्वाभिमानका धरोहर वीर पुरुषहरुले गरेको सङ्घर्षका लागि स्मरण गर्ने बेला आएको छ । उहाँहरुका प्रति हार्दिक श्रद्धासुमन र नमन गर्दछु ।

विश्व इतिहासमा वीर गोर्खालीको नाम निसान नमेटिने गरी इतिहास कोरिएको छ । राष्ट्रिय स्वभिमान र राष्ट्रियताका निम्ति आफ्नो ज्यानको आहुति दिने विर महापुरुषहरुले राष्ट्रियताको भावना, भुगोल र माटोलाई कहिले पनि गलत सम्झौंता गरेनन् ।

रचनाकार माधवप्रसाद घिमिरेले भने जस्तै
“नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे ।।”

तराईलाई सुनको टुक्रा, हिमाललाई हिरा, माटो र पानी धर्तीका छोराको पहिलो धन भनेर घिमिरेले नेपालको भावनात्मक रुपमासँगित गुञ्जयमान गर्नु भएको छ । उहाँको यो भावनामा अत्यन्तै गहिरो नेपालीपन भेटिन्छ । यहि भावना र राष्ट्रप्रेम सरकार बागडोर समालिरहेका राजनेतासँग हुनुपर्दछ ।

रहुँला कहाँ, नेपालै नरहे भने जस्तै आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि कालापानी र लिपुलेक आफ्नो नक्सामा गाभेर नेपालको राष्ट्रिय भुगोल र माटोमाथि प्रहार गरेका छन् । पटक–पटक गरी नेपालको सिमा अतिक्रमण र भुमि मिच्ने काम भारत पक्षबाट हुँदै आएको छ ।

नेपालको जल, जमिन र जंगल माथि सधैं गिद्दे नजर लगाउने भारत नेपालको परम मित्र हो भन्नु कति सान्दर्भिक हुन सक्छ । कहिले नाकाबन्दीले नेपालीलाई पिरोल्यो, कहिले माहाकालीको पानी सुकायो, कहिलो महाकाली नदिका भारततर्फ तर्फका ढोका बन्द गरेर नेपालको भूमि बगायो । यति मात्र होइन नेपाल र भारतको सिमा छुट्टयाउने ८ हजार ५ सय ५३ सिमास्तम्भ मध्ये एक हजार पाँच सय सिमास्तम्भ हराएका छन् । यसमा पनि बैज्ञानिक रुपमा नापी गर्न सकिएन भने सिमा घटबढ हुने सम्भावना रहिआएको छ । सधैं भाषणमा रोटी र बेटीको सम्बन्ध छ भन्दै “ब्लाक मेल” गरिरहने भारत मित्र राष्ट्र नभएर, शत्रु राष्ट्र नै हो कि पनि लाग्छ ।
 
एकताका नेकपा (एमाले) पार्टीका अध्यक्ष खडक प्रसाद (केपी) ओली राष्ट्रियताको भजन गाएर मेची, महाकाली अभियानमा निकै उत्तेजित देखिन्थे । पार्टीको सस्तो लोकप्रियताका मुख्य एजेण्डा बनाएर पर्चा, पम्पलेट र भाषणमा उद्यत देखिन्थे । जनतालाई भुलभैलयामा राख्नका लागि झुटको खेती गरेर सस्तो लोकप्रियता कमाउन चाहन्थे । आँखिर यो दाउ निर्वाचनका लागि मात्र थियो । त्यसै गरी अहिलेका नेकपा अर्का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) १७ हजार नेपालीको रगतको खोली बगाउँदासम्म भारतीय विस्तारबाद र अमेरीकी साम्राज्यवादको नारा दिएर सत्ता हत्याउने प्रयास स्वरुप अहिले त्यही सत्ताको रापमा छन् । वि.सं. २०६४ सालको संविधान सभाको निर्वाचनपछि सवै बनेका सरकारमा पुष्पकमल दहालको उपस्थिति रहेको छ । वि.सं.२०६४ देखि वि.सं. २०७६ साल सम्म आइपुग्दा विचका १२ बर्षको अवधिसम्म राष्ट्रियता जोगाउन गरिएका पहल र उपलब्धीका बारेमा  १७ हजार नेपालीको रगतले मुल्यांकन गर्दैछ भन्नु बाहेक कुनै अर्को विकल्प छैन । उनको पनि अन्तिम गनतब्य सत्ताको वरिपरि रहेर राष्ट्रिय ढुकुटी रित्याउने नै थियो । त्यो त देखावटी र झुटको खेती नै थियो । यदि सत्य हो भने खै त कुटनैतिक सफलता ? परिणाम नै अन्तिम मुल्याकंन हो । जनतालाई सुसाशनको प्रत्याभुति गराउनसम्म सकेनन् । राष्ट्रियताको कुरा त सत्तामा पुग्ने बाहना मात्र थियो । त्यही नक्कली राष्ट्रबादको पासोमा लिपुलेक र कालापानीमा परेको छ । 

भारतले आफ्नो राजनैतिक नक्सामा लिपुलेक र कालापानी राख्दा बेनामे परराष्ट्रमन्त्रीको विज्ञप्ती जारी गरेर प्रधानमन्त्रीले आधिकारिक रुपमा एक शब्द बोल्न नसक्नुले राष्ट्रियताको लुतो कन्याउने प्रधानमन्त्री खडक प्रसाद ओली अहिले राष्ट्रबादको पासोमा फसेका छन् । कुटनैतिक रुपमा नेपाललाई अब्बल बनाउने बेला परनिर्भरताको निरिहताले नेपालको अस्मिता लुटउने प्रयास हुँदैछ ।

सत्तारुढ दलका नेता राष्ट्रप्रेमलाई दाउलगाएर नेपालको राष्ट्रिय ढुकुटी रित्याएर, सुसासनको धज्जी उडाउँदै, असंलग्न राष्ट्रहरुसँगको साटघाट कम्बोडियाका प्राइमिनिष्टर हुनसेन र भेनेजुयलाका निकोलस मादुरो शैली नेपालमा उतार गरेर देशलाई कम्युनिष्टकरण गर्न उद्यत छन् । नेपालको भूमि माथिको संरक्षण र राष्ट्रमोह हुनुपर्ने बेला फरक गनतब्यको बाटो रोजीरहदाँ नेपालको राष्ट्रियता धरापमा पर्दै गएको छ ।

देशका सवै राजनीतिक शक्तिहरुसंग समन्वय, सहकार्य गरेर एउटै धागोमा उनेर राष्ट्रियताका सन्दर्भमा सामान धारणा बनाएर अगाडि बढ्ने बेला भएको छ । देशको आन्तरिक कलहलाई टाढा राखेर नेपालका गुमेका भूमि फिर्ता माग्ने, देशका विपक्षमा भएका सन्धि सम्झौंताहरु खारेज गर्न तर्फ नेपालका सवै क्रियासिल राजनीतिक दललाई सहकार्य र समन्वयको बाटोबाट देशको सवै शक्ति भुमि मिच्नेका विरुद्धमा लाग्नु पर्ने बेला भएको छ । तवमात्र राष्ट्रियता जोगिने छ । नत्र भने कायरपनले राष्ट्रियता बच्दैन् ।
 
कुटनीतिक र राजनीतिक सम्बाद गरेर आफ्ना सवै भुगोलको रक्षा गर्नु पहिलो दायित्व नेपाल सरकारको हो । दुईतिहाइ बहुमतको बलियो सरकार बनेको धेरै समय वितिसकेको छ । प्रतिपक्षमा हुँदा राष्ट्रियताको ढोल पिट्ने अहिलेका प्रधानमन्त्री खडक प्रसाद ओली कालापानी र लिपुलेक भारतीय नक्सामा गाभिदा सम्म कुम्भकर्ण सुते झै सुतिरहनुले आफैं राष्ट्रबादको पासोमा फसेका हुन् । दोस्रो दायित्व नागरिक हो । यति खेर नेपाली जनता सडकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, राजदुताबास घेराउ, नाराबाजी गरेर राष्ट्रप्रेमले ओतप्रोत छन् । जुन जुलुसको झल्को देखिन्छ, यसले जनतासँग राष्ट्रप्रेमको गहिराइ देखिएको छ । सरकार बलियोसँग लाग्नुपर्छ राष्ट्रियताको निम्ति जनता गोली खान तयार छन्, यो आन्दोलनको दृश्यले देखाएको राष्ट्रभक्ति हो । तर, सरकार भने बेनामे विज्ञप्ती जारी गरेर निरिह बनेको छ । यो छुट सरकारलाई छैन ।   

झुटको खेती र भ्रमको पुलिन्दाबाट गुज्रीरहेको नेकपा सरकारका बारेमा सडकमा बहस र सदनमा लोकतन्त्रको लगाम लगाएर अगाडी बढ्यो भने मात्र देश जोगिने र जनता सुखी हुने हुन नत्र भने जुन जोगी आए पनि कानै चिरिएको भन्न बाध्य हुनेछन स्वभीमानी नेपाली जनता ।

सवै नेपाली जनजनले राष्ट्रियता जोगाउन पुर्खाले गरेको त्यो लडाई फेरी हामीले पुरा गर्ने बेला आएको छ । सवै जाग्नुपर्छ । सवै उठ्नु पर्छ ? जय जय गोरख, जय जय काली, जय कालापानी, जय लिपुलेक, नेपाल आमाको जय जय !
(लेखक नेपाल तरुण दल बैतडीका जिल्ला उपाध्यक्ष हुन । )

नयाँ