arrow

ओके ओके भन्दाभन्दै नामै रह्यो ओकेबाजे

जापानी नागरिक ओकेबाजेलाई शिक्षा पुरस्कार

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
baje.jpg

पाल्पा ।  सन् १९३९ मा जापानको टोकियोमा जन्मिई बासोदा बिश्वबिद्यालयबाट स्नातक तह उत्तीर्ण गरि टोकियोमै एक उच्च माविमा २३ वर्ष अध्यापन गराई अवकासपछि सन् १९९३ बाट पाल्पाको जल्पा गाविसस्थित ढोलीमारा गाउँमा आएर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) पाल लगाएर बस्न थालेका थिए ।  विसं २०५० मा नेपालको अन्नपूर्ण बेसक्याम्प घुम्न आउँदा पाल्पाको पूर्वखोलास्थित ढोलीमारामा बस्न पुगेका थिए।  त्यतिबेला त्यहाँको बसाइँले उनलाई प्रभावित गरायो । “ढोलीमाराको दुःखले मेरो मनमस्तिष्क छोयो त्यसपछि पुनः जापानबाट नेपाल आई त्यही ठाउँको सेवामा लागिरहेँ, लागिरहँे”, उनले भने ।

गरिवी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश बालबालिकाहरू बिद्यालय नजाने, सरसफाईमा खासै ध्यान नदिने गरेको देखेपछि ओकेबाजीले यही बसेर समाजसेवा गर्दै आएका हुन् । उनको जापानी नाम काजुमासा काकिमी भएपनि उनले जनताको दुःखका बेला जस्तो सुकै प्रस्ताव राखेपनि ओके ओके भन्ने भएकोले पाल्पालीहरूले नै उनको नेपाली नाम ओके बाजे राखिदिएका हुन् ।

ग्रामीण क्षेत्रमा उनले स्थानीयहरुले जे भन्दा पनि ओके–ओके भन्ने गरेको हुँदा उनलाई स्थानीयवासीले ओकेबाजे नै नाम राखिदिए । त्यसपछि उनले आफ्नो नाम काजुमासा काकिमी भन्नुभन्दा ओकेबाजे भनेर परिचय दिन थालेका हुन् ।  ओके बाजे जापानबाट अंग्रेजी विषयका सेवानिवृत्त शिक्षक हुन् । आफ्नो जापानबाट जागिरको पेन्सनबाट आउने सवै रकम ओकेबाजेले नागरिकको सेवामा खर्चिने गरेका छन् ।

ओकेबाजेले जापानमा रहेको आफ्नो घरसमेत बेचेर पाल्पाली शैक्षिक क्षेत्रको सेवामा रकम खर्चिएका छन् । ओकेबाजेले पाल्पामा एक अर्ब बढी खर्च गरिसकेका छन् ।

करीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील ओकेबाजेलाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । उनले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार गरिएको हो ।  साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले सम्मान गर्दै शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे ।
 
चिकित्सक गोविन्दबल्लभ भट्टले स्थापना गरेको उक्त पुरस्कार ओकेबाजेलाई शहीद स्मृति पुस्तकालयको १८औँ वार्षिकोत्सवको अवसरमा समर्पण गरिएको हो । ओकेबाजेले पाल्पा जिल्लाका १८० भन्दा बढी विद्यालय एवं विभिन्न सङ्घसंस्थाको श्रीवृद्धिमा पुर्‍याएको योगदान अतुलनीय रहेकाले उनलाई पुरस्कृत गरिएको वरिष्ठ साहित्यकार वनमाली निराकारले बताए । शहीद स्मृति पुस्तकालयका अध्यक्षसमेत रहनुभएका निराकारले जापानी नागरिकले पाल्पामा गरेको कर्मलाई भैरहवाले सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

पुरस्कार ग्रहणपश्चात ओकेबाजेले नेपालले आफूलाई धेरै कुरा सिकाएको बताए । नेपालको संस्कृति संसारकै अनुकरणीय संस्कृति भएको भन्दै आफूसँग भएको चिज बाँडेर खानुपर्दछ भन्ने संस्कार आफूले नेपालमै सिकेको उनको भनाइ थियो । उनले जापान जन्मथलो भएतापनि नेपालले कर्म गर्न सिकाएको भन्दै नेपालीको माया र सम्मानले झनै उत्साहित बनाएको बताए । 

सोही अवसरमा शहीद स्मृति जागरण पुरस्कार यस वर्ष ट्रान्सपेरेन्सी इन्टरनेशनल    (टिआई)लाई प्रदान गरिएको छ । ४५ हजार राशिको उक्त पुरस्कार भ्रष्टाचार निवारणको क्षेत्रमा क्रियाशील उक्त संस्थालाई प्रदान गरिएको हो । पुरस्कार टिआइका अध्यक्ष खेमराज रेग्मीलाई समर्पण गरिएको छ ।

त्यस्तै स्वास्थ्यतर्फको स्वरस्वती दशरथ भट्ट पुरस्कारले समाजसेवी दिलीप भट्टराई, नेत्र शोभा साहित्यिक पुरस्कारबाट विराटनगरका वरिष्ठ साहित्यकार विवश पोखरेल, गङ्गादेवी नारायण साहित्यिक पुरस्कारबाट वरिष्ठ साहित्यकार रुद्र ज्ञवाली, कालिका जगनाथ प्रतिमा पुरस्कारबाट चित्रकार शैलेश गुरुङ, रामकला बुद्धीनाथ गौतम स्मृति पुरस्कारबाट सिद्धार्थ बालगृहको सञ्चालक कृष्णमाया गुरुङ, जीवलक्ष्मी शैक्षिक पुरस्कारबाट रुपन्देही लीलाराम न्यौपाने माविको छात्रा महिमा बस्नेत, कान्ताकृष्ण स्मृति पुरस्कारबाट भैरहवा नमूना माविको छात्र हिमाल आचार्य र विश्राम ढकाल स्मृति पुरस्कारबाट अरनिको स्कूलका छात्रा साहिल गुरुङ पुरस्कृत भएको आयोजक संस्थाका सचिव गोविन्द न्यौपानेले बताए । कार्यक्रममा प्राज्ञ बुँद राना, प्राज्ञ प्रा डा कपिलदेव लामिछानेलगायतले बोल्दै शहीद स्मृति पुस्ताकालयले प्राज्ञिक क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय भएको बताए ।

ओकेबाजेलाई यसअघि पाल्पामा पनि नागरिक अभिनन्दन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ