- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) दुई हप्तापछि काठमाडौं, पोखरा र धनुषामा सञ्चालन हुँदैछ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, दक्षिण एसियाली ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसदबाट साग खेलको लागि अनुगमन समितिका संयोजक रहेका जीवनराम श्रेष्ठले भने जस्तै साग ‘जसरी पनि हुन्छ’ । सदस्य सचिव रमेश सिलवालको भनाई पनि उहि छ । ‘साग जसरी पनि हुन्छ’ । हरेक प्रश्नहरुको जवाफमा आउने उत्तर आफैमा आश्चर्यजनक रहँदा रहँदैको बीचमा अब नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग हुनेछ ।
नेपाली खेलकुदको वर्तमान अवस्थामा हेर्न लायकको छैन । महशुस गर्न लायकको पनि छैन । गौरव लाग्ने त कुरै भएन । साग खेलकुद प्रतियोगिता दक्षिण एसियाली राष्ट्रका लागि मिनि ओलम्पिक सरह नै मान्न सकिन्छ । आयोजक राष्ट्र भएका कारण नेपालका खेलाडी प्रशिक्षक तथा खेलकर्मीका लागि साच्चै नै यो प्रतियोगिता एउटा ठुलो कुम्भ मेला सरह हो । जसरी मेलाको तयारीका लागि तामझाम हुन्छ । व्यवस्थापन हुन्छ । मेलामा सहभागी हुनेहरुमा चुस्तदुरुस्त हौसला हुन्छ । यो भन्दा ठुलो माहोलको अवसर सिर्जना हुनु पर्नेमा नेपाली खेलकुद उहि रंगशालाका चौघेरा , एकाध प्रभावशाली कलम अनि क्यामेराका अगाडि घुमिरहेको सत्यता कसैसंग पनि छिपेको छैन ।
नेपालले हालसम्म ३ वटा साग आयोजनाको अवसर पाएको छ । १३ औं समेत । सागको प्रथम आयोजना नेपालले विस २०४० साल (सन् १९८४) मा पाएको थियो । ५ खेल समावेश भएको उक्त प्रतियोगिता नेपालले भव्यतापूर्वक सम्पन्न गरेको थियो । त्यसैगरी नेपालले सन १९९९ (विस २०५६ साल) मा ८ औं साग च्याम्पियनसिप आयोजनाको अवसर पायो । अहिले सन २०१९ मा शरदचन्द्र शाह र विनोद शंकर पालिखे पश्चात् साग आयोजनाको महत्वपूर्ण पदमा आशिन छन् सदस्य सचिव रमेश शिलवाल ।
१३ औं साग समयमा हुन्छ ? हुदैन ? भौतिक संरचनाहरु तयार हुन्छन वा हुादैनन् भन्ने अनेकन प्रश्नहरुलाई प्रधानमन्त्रीको नजिकका पात्र मानिएका रमेश शिलवाल अनि नेकपा सांसद समेत रहेका जीवनराम श्रेष्ठले सदैव एउटै जवाफ दिए ,जसरी पनि हुन्छ । नेपालको विद्यमान ऐन,कानुनलाई दुई तिहाइको प्रभावशाली बलमा उनीहरुले भौतिक संरचनाको निर्माण सुरुवात गरे समयक्रमले उक्त संरचनाहरुको अवस्थाको बारेमा पक्का पनि सत्यताहरुको उजागर गर्नेछ । मंसिर १५ देखि २४ गते सम्मका लागि मात्र बनेका होइनन् यी संरचनाहरु । यस बारेमा बहस अर्को समयमा जरुरी रहनेछ ।
सागको कुम्भ मेलामा नेपालको तयारी चुस्तदुरुस्त मान्न सकिदैन । सत्यता लुकाउने कुरा पनि होइन । तर हामी जुन साग यहाँ गर्देछौं यसको महत्वपूर्ण प्रश्न भनेको उपलब्धी के हो ? के का लागि हो ? यसले नेपालको खेलकुदलाई कहाँसम्म लैजान्छ ? यावत प्रश्नहरुको उत्तर केबल रंगीन साँझको चुस्कीहरुमा मात्र देख्न पाइन्छ । सदस्य सचिवज्यू, मन्त्रीज्यू,ओलम्पिक अध्यक्षज्यू अनि खेलसंस्थाका सदाबहार अनुहारहरुलाई नेपालको पदक तालिका यस पटक के हुन्छ ? जवाफ आजसम्म सुन्न पाइएको छैन ।
सन् १९८४ मा नेपालले ६२ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ४ स्वर्ण , १२ रजत र ८ कास्य सहित कुल २४ पदक हात पारेको थियो भने सन १९९९ मा १६३ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ३१ स्वर्णसहित १० रजत र २४ कास्य गरेर कुल ६६ पदक सहित मेडल तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।
नेपालले अब तेस्रो पटक २७ खेल समावेश गरेर सागको १३ औं सस्करणको आयोजना गर्दैछ ।
नेपालको खेलहरुको औसत अवस्था हेर्दा उसले प्राप्त गर्ने सफलता भनेको विशेष गरेर मार्सल आटर््सका विधाहरु नै हुन् । १२ औं साग गेममा उसु , फुटबल र जुडो तर्फ स्वर्ण हात पारेको थियो । साफ अन्तर्गत रहेका अधिकांश राष्ट्रहरुको खेल स्तरमा निकै सुधार भइरहदा नेपाल भने किन तल झर्दै गइरहरको छ भन्ने प्रश्नको जवाफ खेल नेतृत्वकर्ताहरु संग बाट सुन्न सक्ने अवस्था छैन । नेपाल पछिल्लो साफको रेडर्क अनुसार छैटौं स्थानमा रहेको छ ।
सिलोङ्गबाट १३ औं साग गराउने झण्डा बोकेर हिँडेको नेपालले ३ वर्ष खेलाडी, प्रशिक्षक र खेलकर्मीको मनोवल बढाउन के त्यस्तो कार्य गर्न सक्यो भन्ने प्रश्नको जवाफ पनि खेल नेतृत्वकर्ताहरुसंग छैन । पदक हात पार्न सक्ने केहि खेलहरु कुस्ती, बक्सिङ्ग, तेक्वान्दो, कराँतेलाई विवाद भित्र राखिरहने कार्य पनि यसै बीचमा भइरह्यो । संसदको गरिमा भित्र रहेका माननीय जीवनराम श्रेष्ठले संसदको समेत मार्यादा भुलेर खेल, खेलाडी र खेलकर्मीका विवादलाई अन्त्य गर्नुको साटो आफ्नो पकड कायम गराउन मात्र समय खर्चिए ।
मुद्धामाथि मुद्धाको बीचमा ओलम्पिक सञ्चालन भइरह्यो । यो अवस्था १३ औं सागको पदक उपलब्धी के होला ? सामान्य, बजेट अनि समान्य खानपानका विचमा नेपाली खेलाडीहरुको प्रदर्शन कुन स्तरको रहला ? आजसम्म नेपाली खेलाडीहरुलाई १३ औं सागमा उत्साहित बनाउने योजनाहरु तय हुन सकेको छैन । आफ्ना नेपाली समर्थकहरुलाई हामी यस पटक यो पदको दौडमा छौ भन्ने आँट, साहस पनि वर्तमान खेलनेतृत्कर्ता हरु संग छैन । खेल संघका पदाधिकारी र राखेपका कर्मचारीहरुको व्यवस्तताको कुरै छोडौ , खेलपोशाक, होटल, खानपान, खेल समाग्री हतारो र चटारो छ विचरा व्यवस्थापन ।
वर्तमान सर्वशक्तिशाली सरकारको खेलकुलप्रतिको मौनता, शुन्यमा शुन्यसरी विलाएको प्रतिपक्षको खेलकुद प्रतिको उदाशिनताका बीचमा हुन लागेको साग प्रतियोगिताले नेपाल नेपालीलाई खुसी बनाउने आधार के हुन सक्छ ? मेडल तालिका ? सफल आयोजना ? सर्वसहभागीता ? भविष्यको आधार ? कुनै पनि प्रश्नहरुको जवाफ विना लहडमा चलेको खेलकुदले दिनदिनै खेलाडीहरुलाई दवावमा राखिरहेको छ । जित्नैपर्छ । जित्नैपर्छ ।
प्रश्नहरु गर्ने सबै अधिकारलाई सुरक्षित राख्दै एउटा खेलकर्मीको नाताले भन्नै पर्दछ कि साग प्रतियोगिता अब कुनै जुङ्गामा ताउ लगाउन खोज्नेको मात्र रहेन । यो प्रतियोगिता अब हामी सारा खेलकर्मीको उत्सव हो । यसमा जुटौ, राष्ट्रका लागि सबै एक भएर उठौं । स्वर्ण पदकको भरोसा अब खेल व्यवस्थापन गर्नेसंग होइन । खेलाडीको उत्साह र प्रदर्शन निर्भर रहने छ । १३ औं साग गेम मेरो गौरव बन्न सकोस् ।