arrow

खेमराज पौडेलः निरंकुशताको खोरिया फाँडेर प्रजातन्त्रको वगैँचा बनाउने योद्धा

logo
हरि पन्त,
प्रकाशित २०७६ मंसिर १० मंगलबार
khemraj_poudel.jpg

उमेरमात्र ७५, जोश र उत्साह ३० वर्षेको जस्तो । हिडाई र खटाई कुनै युवाको भन्दा कम छैन । शिक्षण पेशा तथा राजनीतिको लामो अनुभव मनभरि लिएर यतिबेला कास्की क्षेत्र नं २ मा दौडिरहेका छन् खेमराज पौडेल । कास्की २ का आगामी मंसिर १४ गते उपनिर्वाचनमा नेपाली कांग्रेसले उनै खेमराजलाई उम्मेदवार बनाएको छ । 

राजनीतिमा लागेको ६० वर्षमा पहिलो पटक भने संघीय संसदको उमेद्वार हुँदैछन खेमराज । कुनै समय वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसंग उठबस गर्ने नेता भएर पनि कहिल्यै लाभको अवसर आएन । लाभको अवसर खोजेर पनि हिंडेनन् । पार्टीप्रति बफादार, निष्ठावान वनिरहे । त्यसैले कसैसँग कहिल्यै केही मागेनन्। पार्टीले केही दिनुपर्छ त भनिरह्यो तर दिने समय नै आएन । आफ्ना धेरै चेलाले धेरै ठाउँमा, थुप्रै अवसर पाइसकेका छन् । तर आफूलाई एउटा अवसर आउन उमेरले ७५ र राजनीतिले ६० वर्ष कुरायो । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नै सुकुम्बासी आयोग कास्कीको अध्यक्ष हुनुबाहेक अन्य सार्वजनिक लाभको पद र उम्मेदवारीको अवसर आएन खेमराजलाई ।  

विसं २००१ सालमा कास्कीको पुम्दीभुम्दीमा जन्मिएका खेमराजको राजनीतिक यात्रा २०१७ सालदेखि नै शुरु भएको हो । पञ्चायतकालमा २० वर्ष शिक्षण पेशा गरे । शिक्षक हुँदा समेत पञ्चायत विरुद्ध लागे । यहि आन्दोलनका क्रममा २०४२, २०४६ र २०६२(६३ मा गरी ३ पटक जेल परे । २०२६ सालमा पहिलोपटक कास्कीमा धीरबहाहदुर गुरुङको सभापतित्वमा नेपाली कांग्रेसको जिल्ला समिति गठन हुँदा कार्यसमिति सदस्य थिए । २०४६ मा तारानाथ रानाभाट जिल्ला सभापति हुँदा उपसभापति चुनिए । पार्टी विभाजन हुँदा शेरबहादुर देउवाको पक्षमा देखिएर कास्कीको कमाण्ड पनि सम्हाले ।

सरकारको असंवैधानकि कामलाई झापड
उमेरको ७५ वर्षमा पार्टीबाट टिकट पाएकाले यो निर्वाचन जितेर इतिहास रच्ने अवसर रहेका खेमराजलाई कम्युनिष्टको लाल किल्ला भत्काउने धोको पनि छ । आस्था र निष्ठाको आधारमा राजनीति चल्नुपर्ने सोंच राख्ने उनले आस्था र निष्ठा छोडियो भने त्यो राजनीति केवल विलासिताको साधन मात्र बन्ने बताउँछन् । 

जित्न पहिला त जनताको मन जित्नुपर्छ । जनताको मन जित्ने काम गर्नुपर्छ । अहिलेको सरकार जनताको माझमा अलोकप्रिय बन्दै गएको छ । विभिन्न किसिमका ज्यादति भइरहेका छन् । हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरू बढिरहेका छन् । 

यो देशको भविष्य उज्जवल बनाउन संविधानमा राखिएका कुरा साकार पार्नु पर्ने अहिलेको राष्ट्रिय दायित्व पनि हो । तर, त्यो दायित्व पुरा गर्न अहिलेको सरकारले सकिरहेको छैन । बरु असंवैधानिक काम गर्दै आइरहेको छ । न्यायालय, सञ्चारक्षेत्र जस्ता स्वतन्त्र निकायका आयोगमाथि हस्तक्षेप गर्दैछ । २ तिहाईको बहुमत प्राप्त सरकारले समृद्धिको दिशामा देशलाई लान्छौँ भनेर जनताको सामु गरेको घोषणा अहिले धोकामा परिणत भएको छ ।

यो सरकारले प्रदेश प्रमुख जस्तो सम्मानित पदलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको छ । सर्वोच्च अदालतले समेत ‘अघिल्लो सरकारको अधिकार हो, हस्तक्षेप नगर’ भनेर आदेश पनि दिइसकेको थियो । त्यस्तो निकायलाई पनि सामान्य स्वार्थको लागि भंग गरिएको छ । अनेक किसिमका अलोकप्रिय, असंवैधानिक, प्रजातन्त्रमाथि पनि खतरा हुने खालका काम यो सरकारले गर्दै आइरहेको छ । त्यसकारण, यो उपनिर्वाचनमा कांग्रेसले जित्ने आधार भनेको, सरकारका अलोकप्रिय कामको भण्डाफोर गरेर नै हो ।

प्रजातन्त्र पुनःस्थापना पछिका साँढे २ दशक कास्केली जनतासँगै सामाजिक राजनीतिक गतिविधिमा एकसाथ उकाली ओराली गर्दै आजसम्म आइपुगेको प्रमाण युवापुस्ताका कांग्रेसजनसँग मात्र होइन, कास्कीमा क्रियाशील सबै पार्टीका बहुसंख्यक नेता कार्यकर्तासँग पनि छ । प्रमाण पार्टीसँग त छँदैछ । प्रमाणपत्रको रुपमा उम्मेदवारी दिएको छ, केन्द्रले । बुढेसकाल भनेको त विश्राम हो । तर क्रमभंगता कतै नभेटिने यस्तो सार्थक समर्पणपूर्ण क्रियाशीलतालाई के बुढेसकाल भन्ने रु कांग्रेस कार्यकर्ताले उत्तर दिने मात्र होइन प्रश्न गर्ने हैसियत राख्नुपर्छ । त्यसो भए निरन्तरता, निष्ठा, संघर्ष, त्याग र अनुभव भनेको के हो रु समाज परिवर्तनको अभियन्ता नै विकास र परिवर्तनप्रति बेखबर भन्नु अन्याय मात्र होइन अत्याचार हुन्छ ।

कास्की कांग्रेसका बाँकी १५ दाबेदारमध्ये कसैले पनि मैले नपाएर गुरुले किन उम्मेदवारी पाउनुभयो भनेर रत्तिभर गुनासो नगर्नु, गुरुका लगि ठूलो सम्मान हो । निष्ठा र निरन्तरताको पनि सम्मान हो । कांग्रेसका लागि सकारात्मक ऊर्जा हो । निरंकुशताको खोरिया फाँडेर लोकतन्त्रको बगैंचा बनाउने चरणबद्ध सञ्चालित अभियानका जुझारु अभियन्ता गुरु प्रजातन्त्र स्थापनादेखि लोकतन्त्र प्राप्तिको आन्दोलनमा अर्थपूर्ण योगदान दिएका तर परिवर्तित सन्दर्भमा महत्वपूर्ण जिम्मेवारीमा जान नचाहेका र नसकेका जुनकुनै पार्टीमा रहेका दर्जनौं कास्केली अग्रज, अनुभवी र त्यागी प्रजातन्त्र सेनानीहरूको प्रतिनिधि पनि हुन् ।

मुद्धा र रणनीति
जनताका आवश्यकताका कुरा पनि हामी जोडतोडका साथ उठाउँछौ । महानगरका ११ वडा मध्ये ७ वटा गाउँ मिसिएका छन् । तिनका आफ्नै खालका समस्या छ । कतै पानीको समस्या छ, बाटोको समस्या छ, स्वास्थ्यको समस्या छ । भरतपोखरी, निर्मलपोखरी, कृस्तिजस्ता क्षेत्रमा पर्यटनको ठूलो सम्भावना बोक्ने ठाउँ पनि छन् । पोखरा एउटा विश्व सुन्दरताको खानी पनि हो । पोखराप्रति पर्यटकहरूको आकर्षण पनि उत्तिकै छ । जनप्रतिनिधि भएर गइसकेपछि । तीनै तहका सरकारसँग समन्वय गर्दै राम्रो विकास गरेर लैजाने लक्ष्य कांग्रेसले लिएको छ । यो पनि कांग्रेसले चुनाव जित्ने आधार हो । रणनीति पनि त्यही हो ।

पदका लागि मात्रै राजनीति गर्ने भन्ने होइन । चुनाव लड्ने, पद प्राप्तिका लागि मान्छेहरू मरिहत्ते गर्छन् । पार्टीले जहाँनेर आवश्यकता ठान्छ । त्यो कामको लागि सधै तयार हुनुपर्छ । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा पार्टीले मेरो आवश्यकता देख्यो । पार्टीको सिपाहीको हैसियतले, जनताको आवश्यकता पूरा गर्न चुनाव लड्दै छु । 

जुन विचारबाट आकर्षित भएर राजनीतिमा हामी लागिन्छ । त्यो विचारलाई निष्ठावान भएर पालना गर्दै, कार्यान्वयनतर्फ जाने हो । पार्टीको विचार पालना गर्दा जेलमा परे । २०४७ साल र  २०६२(६३ सालमा जेलमा पनि परे। प्रजातन्त्र प्राप्तिका लागि पार्टीले खटाएको काम गर्दा जेल परिएको थियो । त्यतिबेला शिक्षक भएर काम गर्दैको अवस्था थियो । जागिर जान्छ कि भन्ने मनमा सञ्चय कत्ति पनि थिएन । जति पनि राजनीतिक परिवर्तन भए नेपालमा, प्रत्येक मोडमा पछि परेको छैन । पार्टीले दिएको जिम्मेवारी पूर्णरुपले पालना भएको छ, अहिलेसम्म कसैले केही खोट लगाउन सकेका छैनन् । पद प्राप्तिका लागि भन्दा पनि पार्टीले जुन किसिमको निष्ठा बोकेको छ, त्यही निष्ठा आत्मसात गर्नु आफ्नो कर्तव्य हो । त्यो पूर्णरुपले पूरा भएको छ ।

निष्ठामा लोभ हावी हुँदा सबैतिर विकृती
एकदम सामान्य परिवारको मान्छे घरपरिवार यताउति धान्नको निम्ति शिक्षक बनें । त्यसले केही अवरोध पनि आए । जति गर्नुपथ्र्यो, त्यति गर्न सकिएन होला, त्यो आफ्नो ठाउँमा छ । तर, भोलि केही पद प्राप्ति हुन्छ भनेर कोही राजनीतिमा लागेको छ भने त्यो मान्छेले राजनीतिक निष्ठा पूरा गर्न सकेको छैन भनेर बुझ्नुपर्छ । नेपालमा जुन किसिमको राजनीतिक संस्कार बन्नुपथ्र्यो, त्यो बन्न नसकेको पनि यही लोभका कारण हो । पैसै कमाउन छ भने, व्यापार गरे हुन्छ, ठेक्कपट्टा गरे हुन्छ । अरु उद्योग धन्दा पनि छन् । राजनीतिमा लागेर, राजनीतिलाई पैसा प्राप्त गर्ने साधन बनायो भने त्यो व्यक्तिमा राजनीतिक निष्ठा नै हुँदैन ।

राजनीतिलाई जुन किसिमले आगडि लैजानुपथ्र्यो, जुन किसिमको राजनीतिक संस्कार विकास गर्नुपथ्र्यो, त्यो नसकेर पनि होला देश पछि परेको । हामीलाई विकास गर्न धेरै सजिलो छ । भारत र पाकिस्तानलाई हेरौँ । त्यहाँभन्दा हामी कहाँ निकै कम समस्या छन् । राजनीतिमा जुन किसिमको संस्कार बस्नुपथ्र्यो, त्यो नहुनाले पनि यति गाह्रो भएको हो । निष्ठावान भएर लाग्यौं भने नेपाल चाँडै नै विकसित हुन्छ । भारत र चीनको बीचमा बसेका छौँ । उनीहरूले धेरै विकास गरिसके । विश्वकै आर्थिक शक्तिको रुपमा स्थापित भइसकेका छन् । ती देशसँग सन्तुलित परराष्ट्र नीति बनाएर, दुबै देशलाई फाइदा पुग्ने गरि अघि बढ्ने हो भने देश विकास गर्न धेरै सजिलो छ । राजनीतिक निष्ठा नभएरै देश विकास भएको छैन । अरुको पार्टीमा मात्र होइन । हाम्रो पार्टीमा पनि छ । यसलाई अन्त्य गर्नुपर्छ ।

प्रयास गर्ने हो भने जति पनि हुन्छ । अहिले पनि चुनाव जितेर यो सरकार हामीले परिवर्तन गर्न त सक्दैनौं । एक सिट जितेर केही हुने त होइन । देशमा राजनीतिक स्थिरताका लागि पनि बलियो सरकारको आवश्यकता थियो । २ तिहाइको सरकार आएपछि राजनीतिक समस्या सुल्झियो । तर, जसरी देश विकासका लागि जसरी सरकार अघि बढ्नुपथ्र्यो, त्यो अनुसार लागेन । २ तिहाइको दम्भ देखाउन मात्र उद्दत रह्यो । सबैलाई तर्साउन पट्टी लाग्यो । मानेन भने महाअभियोग लगाएर २ तिहाईको दुरुपयोग गर्यो । सरकार भनेको त साझा हुनुपथ्र्यो ।

विपक्षीलाई जवाफ र प्रश्न
मिडियामा मैले बोलेका कुरा अलि बाङ्गिएर पनि आए । चुनाव जित्नै सकिन्न भन्ने होइन । जनताले सधैँ एउटै पार्टीलाई मात्र भोट दिँदैनन् । प्रजातन्त्र भनेको पनि त्यही हो । सरकारले आफ्ना विचार कार्यान्वयन गर्न सके त राम्रै छन् । तर गरेन् । अर्को पटक हेर्नु होला जुन किसिमले बहुमत लिएर अहिले नेकपा आएको छ, अर्को पटक आउँदैन । किन बन्दैन भने जनताले जुन किसिमका आशा गरेका थिए यो सरकारले पूरा गरेन ।

अमेरिकामा पनि पहिले डेमोक्रयाटको सरकार थियो । पछि, रिपब्लिकनका ट्रम्पले जिते । त्यो बेला सबैले यसले जित्दैन भनेका थिए । तर, उनैलाई जिताए जनताले । हाम्रो मात्रै क्षेत्र हो, लालकिल्लै हो, अरु त कुनै पार्टीले जित्दैन भन्ने नेकपाका साथीहरूमा एक किसिमको भ्रम छ । त्यही अनुसार प्रचारप्रसार गरिरहेका छन् । त्यसकारण मेरो भनाइ के हो भने, चुनावमा जे पनि हुन सक्छ । 

राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिमा हुने पनि यही हो । अबको चुनावमा पनि यो सरकारले चुनाव जिते, हामीले गरेको काम ठिक रहेछ भनेर झनै दम्भ बढ्छ । झनै अराजकता बढ्छ । यस्तो अवस्था नआओस् भनेर अहिले सर्वत्र चिन्ता बढिरहेको छ । राजनीतिक पार्टीले हामीले जे भने पनि हुन्छ भनेर भ्रम फैलाउन पर्दैन । जनताले यो कुरा बुझिसकेका छन् । राजनीति नै गलत रहेछ भन्ने अवस्थामा पनि पुगिसकेका छन् । नेतृत्वले जनताको विश्वासमा कुठाराघात गरेकाले यो सबै भएको हो । यो कुठाराघातलाई जित्ने काम हामीले गरेका छौँ । बल्ल शुरुवात भएको छ । त्यही अनुसार चुनावी रणनीति बनाएर हामी अघि बढ्छौँ ।

राजनीतिमा वंशको उत्तराधिकारी उचित होइन
स्वर्गीय रवीन्द्र जीको बारेमा केही भन्नुछैन । यतिमात्र हो उहाँमाथि लागेको आरोप होइन भन्ने पुष्टि पनि हुन सकेन । त्यो त नेपाली जनताले थाहै पाउन सकेनन् । छानबिन समिति भनेर सरकारले त्यो समितिलाई काम गर्न पनि दिएन । फेरि, सरकारले आयोग बनायो । त्यो पनि नाम मात्र बन्यो कामै गरेन । प्रधानमन्त्रीले एकैचोटी भन्नुभयो कि यो निर्दोष छ । उहिले निरंकुश शासनकालमा राणाहरूले यो निर्दोष छ भने जस्तो गरि भन्नुभयो । निर्दोष बनाउन छानबिन हुनुपर्‍यो नि । 

तर, यही प्रकरणमा विद्याजीलाई म नराम्रो भन्दिन । शिक्षण पेशामा हुनुहुन्थ्यो । उहाँ त्यही पेशाका लागि योग्य हुनुहुन्छ, राजनीतिका लागि होइन । राजनीतिमा आउने भनेको राजाको छोरा राजा बनेजस्तै उत्तराधिकारी बन्ने होइन । नेपालको संविधानले फलानोको निधन भयो भने त्यसको उत्तराधिकारी उसको श्रीमती हुनुपर्छ भनेर कहीँ लेखेको पनि छैन ।

चलाउन मान्छेले चलाउँलान् । कठै विचरा भनेर भोट दिने होइन नि । के–के छन् योजना भनेर दिने हो । रवीन्द्रजी ले पनि २–२ पटक चुनाव जितेर के कायापलट गर्नुभएको छ त रु अनि उहाँले के सपना पूरा गर्ने हो रु वाइडबडीको त्यत्रो काण्ड छ । त्यसलाई पनि छोडौं अहिले । चुनावको समस्या बेग्लै हो । विद्याजी चुनावमा उठ्नुभएको छ, फलानाको यो हुँ, त्यो हुँ भनेर बोलिरहनुभएछ । उहाँलाई मन लागेको होला, बोलिरहनुस् । हाम्रो पनि राजनीतिक जीवन छ । रवीन्द्रको सपना मात्रै पूरा गर्ने के सपना थियो र त्यस्तो रु त्यसैले अब हाम्रो पनि त सपना पुरा गर्नु छ, पूरा गर्नै पाइएको छैन ।

पार्टीभित्रका प्रसंग
हाम्रो पार्टीले व्यक्तिको विचारलाई पनि अलि बढी ग्रहण गर्छ । अलि छुट पनि हुन्छ । त्यसकारण पनि १६ जनाको नाम केन्द्रमा गयो । १६ जनाको नाम पठाउँदा हामीले प्रतिबद्धता गर्‍यौँ, पार्टीले जसलाई छाने पनि हामीले मान्छौँ । समय लाग्यो, विश्लेषण भए । विश्लेषण गर्दा म उपयुक्त देखिए । तपाईंहरुलाई लाग्न सक्छ हार्छ भनेर दियो । हार्छ भनेर होइन, यसलाई उठायो भने पक्कै चुनाव जितिन्छ भनेर पार्टीले मलाई चुनावमा उठाएको हो  ।

हामीले यो चुनाव जितेरै छाड्छौँ । कोही पनि रुष्ट हुनुभएको छैन । मैले टिकट पाएपछि सबै साथीहरू आउनुभयो । काठमाडौँमा मलाई मात्रै बोलाइएको थियो । जाऔं साथी हो भनेका सबै जना जानु पनि भयो । शोभियतबहादुर अधिकारी, विरेन्द्रमान बिजुक्छे, गुरु बराल, कृष्ण कार्की काठमाडौं भएका साथीहरू पनि जानुभयो । हामीसँगै पोखरा फर्कियौँ ।

उम्मेदवारी मनोनयसंगैका गतिविधिले पनि पुष्टि गरेका छन् । देवराजजी, शोभियतजी प्रस्तावक र समर्थक बस्नुभयो । देवराजजीकै भाषण पनि सुन्नुभयो । हाम्रो पार्टीमा कथनी र करणीमा फरक हुन्न । जे बोल्नुभएको छ, त्यो कार्यान्वयन हुन्छ । रुष्ट त कम्युनिष्टहरूमा पो रहेछ । त्यहाँ अन्तर्घातको डर रहेछ । तर, हामीकहाँ छैन । हामी एकदम बलियो भएर चुनाव लड्दैछौ । निर्वाचन जित्ने आधार थुप्रो छ ।

नेपाली कांग्रेस पार्टी सुध्रियो । नसुध्रेर सुखै छैन । संविधानलाई तोडमोड गरेर एकदलीय तानाशाह लाद्ने हाम्रो चिन्ता हो । त्यो चिन्ता मुक्त गर्नका लागि पनि हो यो चुनाव । साथीहरूमा के देखिएको छ भने बढ्ता जनताले पत्याएर मात चढेको छ । तर, जनताले त्यो हेरिरहेका छन् । अहिले नेकपा मात्तियो । २ तिहाई छ, जे गरे पनि हुन्छ भन्ने लाग्या छ । त्यसकारण त्यसरी मात्तिन पाउँदैन भनेर सचेत गराउने पनि हो यो चुनाव ।

मुखले धेरै गरियो । अब जनताको सामु गएर त्यहाँको आवश्यकता बुझ्ने, स्थानीय प्रदेश र संघ तीनै तहका सरकारसँग मिलेर विकास निर्माण गर्ने नै हुन्छ । जनताको आवश्यकता पुरा गर्नतर्फ लाग्नुपर्छ । मेरो निष्ठाले पनि त्यही भन्छ । जनताको विश्वास पुरा गर्नपर्छ ।  मैले चुनाव जिते भने लालकिल्ला भन्ने जुन घमण्ड छ नि, त्यो घमण्डलाई तोडेर ‘होइन साच्चिकै राम्रो काम त यिनले गर्दा रहेछन्’ भनेर देखाउँछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ