arrow

‘गुरुङलाई सेनापति हुन नदिन चलखेल'

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
rambaran-1000x0.jpg.jpeg.jpeg
काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले रुक्मांगद कटवालपछि प्रधानसेनापतिका रूपमा छत्रमानसिंह गुरुङलाई रोक्न अनेक राजनीतिक चलखेल भएको तर आफूले त्यसलाई सफल हुन नदिएको रहस्योद्घाटन गरेको ससाचार आजको अन्नपूर्णपोस्टमा छापिएको छ। गुरुङको आत्मकथा ‘जनताको छोरो' पुस्तक लोकार्पणका क्रममा यादवले गुरुङ पार्किन्सन रोगबाट ग्रस्त रहेकाले उनलाई प्रधानसेनापति बनाउन नहुने सुझावसहित एक ठूला नेता आफूकहाँ आएको स्मरण गर्दै पहिलोपटक एक जनजातिलाई सेनाको कमान्ड लिन आफूले त्यस्ता चलखेल निस्तेज पारेको बताए ।
 
‘म ती नेताको नाम किन लिऊँ' भन्दै सम्भवतः गुरुङको समेत जानकारीमा नभएको तथ्य डा. यादवले सार्वजनिक गरे । ‘डक्टर म, तपाईँ कसरी अरूलाई रोगी ठहर गर्नुहुन्छ भनेर मैले ती नेतालाई प्रश्न गरेको र पछि बुझ्दा गुरुङ सर्वोत्कृष्ट एथलेट रहेको पनि पत्ता पाएपछि त्यो सबै उनलाई सेनाको सर्वोच्च पदबाट रोक्न गरिएको अभ्यास हो भन्ने बुझ्न कठीन भएन,' उनले भने ।
 
कटवाललाई प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गरेपछि परमाधिपतिका हैसियतले उनलाई पूर्ण अवधिभरका लागि निरन्तरता दिएका थिए यादवले । कटवालपछि गुरुङलाई प्रधानसेनापति बन्न नदिन ठूलो चलखेल भएको यादवले बताए । ‘उनलाई प्रधानसेनापति हुनबाट रोक्न स्वास्थ्य अवस्थासमेत कमजोर भएको भन्दै विभिन्न व्यक्तिले टीकाटिप्पणी गरे, गराए । तर मैलै ती कुरालाई बेवास्ता गरें,' यादवले भने ।
 
पूर्वराष्ट्रपति यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निर्णय गरे पनि आफूले त्यसको कार्यान्वयन नगराएर सैनिक संरचनालाई बलियो बनाएको बताए । अन्य सुरक्षा निकायलाई राजनीतिक दलले कमजोर बनाएका बेला नेपाली सेनामा समेत उनीहरूले राजनीति नगरून् भनेर आफूले प्रधानसेनापति कटवाल प्रकरणमा प्रधानमन्त्रीको निर्णयको खिलाफमा भूमिका निर्वाह गरेको उनले बताए । 
 
उनले भने, ‘नेपाली सेनालाई कमजोर बनाउनु हुन्न । प्रधानमन्त्री र रक्षामन्त्री दुवै एमाओवादीका भएका बेला उनीहरूले तत्कालीन प्रधानसेनापति कटवाललाई हटाउन गरेको निर्णय कार्यान्वयन नगराएर मैले संविधानको रक्षा गरें ।'
 
मुलुक र राष्ट्रियतालाई ध्यानमा राखेर आफू कटवाल प्रकरणमा प्रधानमन्त्रीको निर्णयविरुद्ध उत्रिएको र त्यही विषयमा सबै पार्टीले आफ्नो विरोध गरेको यादवले सम्झिए ।
 
पुस्तक विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले आफूले पनि अनुभवहरू सँगालेर पुस्तक निकाल्न लागेको सुनाए । यादवले भने, ‘मैले यो बेला बोल्न मिल्छ÷मिल्दैन । तर म पनि आत्मकथा लेख्दैछु ।' उनले मधेसी दलसहितका दलहरूको सहमतिमा संविधान जारी गर्न आफूले पहल गरे पनि सम्भव नभएको भन्दै दुःख व्यक्त गरे ।
 
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गुरुङको पुस्तक भावी सन्ततिका लागि इतिहास बन्ने बताए । उनले सबैले आफ्ना अनुभव समाहित गरेर आत्मकथा लेख्नुपर्ने बताए।
 
कार्यक्रममा प्राध्यापक लोकराज बरालले उक्त पुस्तकमाथि टिप्पणी गर्दै नेपालमा भएका हरेक राजनीतिक परिर्वतनमा सेना बाधक नबनेको बताए । उनले नेपालको राजनीतिक परिवर्तनमा सेनाले सहयोगी भूमिका निर्वाह गरेको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ