arrow

उपनिर्वाचनपछि कांग्रेसको औपचारिक धारणा, 'मतदाताको मन बदलिंदैछ'

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
nc-party-office.png

काठमाडौं । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनपछि नेपाली कांग्रेसले औपचारिक धारणा सार्वजनीक गरेको छ । सोमबार नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरि  जनमत सर्भेक्षणलाई विश्लेषण र आत्मसात गरेको छ  । 'कांग्रेसलेजस्तो वातावरण र परिस्थितिमा निर्वाचन भएपनि लोकतान्त्रिक अभ्यासबाट प्राप्त परिणामलाई शिरोधार्य गर्ने नेपाली कांग्रेसको संस्कार र परम्परा अनुरुप हामीले त्यही रुपमा मंसिर १४ को परिणामलाई ग्रहण गरेका छौं' भनेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्,' २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी ०७४ को चुनावमा रहेको मतको अग्रता घट्नुले गरेको छ । त्यसबेला एमाले र माओवादी भिन्न दुई नाम र भिन्न दुई चुनाव चिन्ह मैदानमा थिए । तर त्यतिबेलाको जति मत एउटै पार्टी र एउटै चुनाव चिन्ह हुँदा प्राप्त नहुनु ‘मतदाताको मन बदलिंदै गएको प्रष्ट चित्र हो’ ।'

प्रवक्ता शर्माले अनेक प्रतिकूलताबीच मतदाताले कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिएर जिम्मेवार र शालिन प्रतिपक्षी भूमिका अनुमोदन गरेको बताए । उनले भने, “समग्रमा मत बढे पनि कतिपय स्थानमा मत घट्नुको आन्तरिक साङ्गठनिक समीक्षा गरेर आगामी दिनको तयारी गर्नुपर्ने टड्कारो आवश्यकताको सन्देश प्राप्त गरेका छौँ । विसं २०७४ को तुलनामा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बीचको मतान्तर विसं २०७६ मङ्सिर १४ गते आइपुग्दा घटेको छ ।”

यही मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो ।

कांग्रेसले उपनिर्वाचनमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएकोमा त्यस बारेमा साङ्गठनिक कमजोरीको समीक्षा गर्ने जनाउँदै प्रदेश नं २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश नं ५ को अर्घाखाँची र प्रदेश नं ३ को चितवन, प्रदेश १ को धरान र काठमाडौँ उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले उत्साही तुल्याएको जनाएको छ ।

प्रवक्ता शर्माले भने, “विगतमा कांग्रेसको सरकारले आफ्नो पार्टीको पराजयको पूर्वानुमानका बाबजुद पनि स्वस्थ, निष्पक्ष निर्वाचन गराएको निकट इतिहासको सिङ्गो देश साक्षी छ । तर वर्तमान सरकार त्यो कर्तव्य निर्वाहमा भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखियो । यसका अनेक उदाहरण यसबीचमा सार्वजनिक भइसकेकै छ ।”    
 
उपनिर्वाचन सरकार बनाउन या बदल्न नभई सरकारलाई सच्याउन योगदान गर्न सक्छ भन्ने आफूहरुले मतदातालाई गरेको अपिलबमोजिम नै मङ्सिर १४ को उपनिर्वाचनले सरकार सच्चीनु पर्ने प्रष्ट सन्देश दिएको उनले दाबी गरे ।
 
उपनिर्वाचनको मतपरिणामले विगत २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी भएको टिप्पणी गर्दै प्रवक्ता शर्माले भने, “एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षको अङ्क हासिल भएको तथ्य राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ ।

बाग्लुङको प्रदेशसभा क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्नुपरेको स्थिति र कठिनाइले प्राप्त विजय, कास्की र दाङमा वस्तुगत राजैनीतिक प्रभावभन्दा सहानुभूतिमा मत संयोजन गर्नुपरेको अवस्था तथा परिणाम हासिल नगरेपनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र सरकार सच्याउनकै लागि जरुरी पाठ हुन ।”

कांग्रेसले उपनिर्वाचनमा रुख चिन्हमा मतदान गर्ने, निर्वाचनमा सहभागी सबै मतदातामा धन्यवाद र आभार प्रकट गर्दै प्रतिस्पर्धाको लोकतान्त्रिक अभ्यासबाट विजयी सबैलाई बधाइ ज्ञापन गरेको छ । साथै निर्वाचनमा प्रतिस्पर्धी सबैलाई जनताको सेवामा समर्पित रहेर कार्य गर्न पनि अपिल गर्दै निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी सबैलाई आफ्नो भूमिकाका लागि बधाई ज्ञापन गरेको छ ।

१ प्रतिनिधिसभा सदस्य, ३ प्रदेश सभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्ष सहित जम्मा ५२ स्थानमा भएको उपनिर्वाचनको गणितीय र राजनीतिक दुवै विश्लेषण हामी सार्वजनिक गरिरहेका छौं ।

नेपाली कांग्रेसले कहाँ उपलब्धि हासिल गर्‍यो, कहाँ गुमायो, विगतमा भन्दा मतान्तर नेकपासँगको मतान्तर प्रतिस्पर्धामा कति घट्यो, कहाँ बढ्यो, तथ्याङ्कका अलवा आजको पत्रकार सम्मेलन मार्फत् हामी उपनिर्वाचनले समग्रमा प्रतिपक्ष र सरकारलाई दिएको सन्देश राखिरहेका छौँ ।

उपनिर्वाचन र नेपाली कांग्रेस
१. परिणामको खोजीअघि प्रकृयामा सतर्कता विशेष रुपले राख्नु पर्ने सन्देश हामीले यो निर्वाचनबाट ग्रहण गरेका छौँ । विगतमा नेपाली कांग्रेसको सरकारले आफ्नो पार्टीको पराजयको पूर्वानुमानका बावजुद स्वस्थ, निष्पक्ष निर्वाचन गराएको निकट इतिहासको साक्षी सिंगो देश छ । तर वर्तमान सरकार त्यो कर्तव्य निर्वाहमा भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखियो । यसका अनेक उदाहरण यसबीचमा सार्वजनिक भइसकेकै छ । सरकारको यो प्रवृत्ति सच्याउन पर्याप्त जन दबाब विकसित गर्नु पर्ने देखिएको छ ।

२. अनेक प्रतिकूलताका बीच मतदाताले मत प्रदान गरेर नेपाली कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिनुको अर्थ हो बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदन ।

३. समग्रमा मत बढे पनि कतिपय भू–भागमा मत घट्नुको आन्तरिक सांगठनिक समीक्षा गहिरोसँग गरेर आगामी दिनको तयारी गर्नु पर्ने टड्कारो आवश्यकताको सन्देश पनि हामीले प्राप्त गरेका छौं । ०७४ को तुलनामा नेपाली कांग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ मा आइपुग्दा घटेको छ । यसले एकातर्फ नेपाली कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।

४. उपनिर्वाचनमा हामीले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएका छौं । त्यसमा हाम्रो सांगठनिक कमजोरीको समीक्षा हामी गर्नेनै छौं । तर प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची अनि प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले नेपाली कांग्रेसलाई विशेष रुपले उत्साही तुल्याएको त छ नै मुलुक समक्ष मतदाताले दूरगामी अर्थ राख्ने भिन्न सन्देश ती ठाउँहरुबाट सम्प्रेषण गरेको हाम्रो मूल्याङ्कन छ । ती स्थानहरु सँगै समग्रमा प्राप्त विजय रहरेक मतप्रति नेपाली कांग्रेस प्रतिवद्ध रहनेछ ।

सरकारलाई सन्देश
उपनिर्वाचन सरकार बनाउन या बदल्न भइरहेको छैन तर तपाईको एक मतले सरकारलाई सच्याउन योगदान गर्न सक्छ भनेर हामीले मतदातालाई अपिल गरेका थियौं । मंसिर १४ को उपनिर्वाचनले सरकार सच्चीनु पर्ने सन्देश प्रष्ट सँग दिएको छ ।
१. २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी ०७४ को चुनावमा रहेको मतको अग्रता घट्नुले गरेको छ । त्यसबेला एमाले र माओवादी भिन्न दुई नाम र भिन्न दुई चुनाव चिन्ह मैदानमा थिए । तर त्यतिबेलाको जति मत एउटै पार्टी र एउटै चुनाव चिन्ह हुँदा प्राप्त नहुनु ‘मतदाताको मन बदलिंदै गएको प्रष्ट चित्र हो’ ।

२. एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केहि वडाध्यक्षको अंक हासिल भएको तथ्य अघिल्तीर राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ । तर त्यसभन्दा व्यापक प्रभाव राख्ने केहि सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने की भोलि सक्कीने’ सन्देश दिएको छ । ‘सक्कीने’ शब्दलाई भोलिको परिणाम झनै प्रतिकूल आउने तर्फ गरिएको संकेत भनेर प्रष्ट्याई रहनु नपार्ला ।

३. बाग्लुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाईले प्राप्त विजय । कास्की र दाङमा वस्तुगत राजैतिक प्रभाव भन्दा सहानुभूतिमा मत संयोजन गर्नु परेको अवस्था । परिणाम हासिल नगरे पनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र । सरकार सच्याउनकै लागि पढ्न जरुरी पाठ हुन नेकपाका लागि ।

अन्त्यमा, उपनिर्वाचनमा रुख चिन्हमा मतदान गर्नु हुनेहरु सँगै निर्वाचनमा सहभागी सबै आदरणीय मतदातामा नेपाली कांग्रेस धन्यवाद र आभार प्रकट गर्दछ । प्रतिस्पर्धाको लोकतान्त्रिक अभ्यासबाट विजयी सबैलाई बधाइ ज्ञापन गर्दै प्रतिस्पर्धी समेत सबैलाई नेपाली जनताको सेवामा समर्पित रहेर कार्य गर्न पनि नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।

निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, संचारकर्मी सबैलाई हामी आफ्नो भूमिकाका लागि बधाई ज्ञापन गर्दछौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ