- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा स्वर्णपदक जितेर गौरिका सिंहले कीर्तिमान बनाएकी छिन् ।
सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाएकी गौरिकाले सातदोबाटोस्थित पौडी पोखरीमा बिहीबार महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेर कीर्तिमान बनाएकी हुन् ।
अहिलेसम्म नेपालले व्यक्तिगततर्फ स्वर्ण जितेको थिएन । स्वर्ण जित्ने क्रममा गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गरिन् ।
यसअघि नेपालले टिम इभेन्टमा मात्र आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए ।
गौरिकालाई कास्यपदक पनि
यस्तै महिला ४ सय मिटर फ्रिस्टाइल रिलेमा नेपालले कास्य जितेको छ । नेपाली टिममा गौरिका सिंह,अनुशिया तन्डुकार,टिसा शाक्य र डुवना लामा रहेकी थिइन् ।
शुक्रबार पनि पौडीमा गौरिकाले स्वर्णपदक जित्ने अपेक्षा गरिएको छ ।
उनी बेलायतमा बस्दै आएकी छिन् र निरन्तर अभ्यास गरिरहन्छिन् । गौरिकाले १३ औं सागमा कुल ११ स्पर्धामा प्रतिस्पर्धा गर्दैछिन् । अब ९ वटा बाँकी छन् ।
डुवनालाई रजत पदक
महिलाको २०० ब्रेस्टस्ट्रोकमा नेपालकी डुवना लामाले रजत जितेकी छिन् । उनी कान्छी खेलाडी हुन् । डुवनाले २ मिनेट ४४.६८ सेकेण्डको समय निकाल्दै रजत जितेकी हुन् ।