arrow

हिमपातले परीक्षा रोकियो

logo
नरेन्द्रसिंह कार्की
प्रकाशित २०७६ मंसिर ३० सोमबार
humla-snow.jpg

दार्चुला । दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिका भित्रका विद्यालयमा सञ्चालन भएको अद्र्धवार्षिक परीक्षा रोकिएको छ । शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि शुरु भएको परीक्षा रोकिएको हो ।

गाउँपालिकाभरीका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताए ।

सो गाउँपालिका–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ । रोकिएका विद्यालयहरुमा हिउँ कम भएपछि परीक्षा सञ्चालन गर्ने तयारी छ ।

सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको जानकारी दिए। गाई वस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ । चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायब सुब्बा लक्ष्मणसिंह धामीले बताए । आगो तापेर बस्नुबाहेकको विकल्प नभएको धामीको भनाइ छ ।

यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन्।

घामका भरमा सञ्चार
शुक्रबार र शनिबार परेको हिमपातका कारण दार्चुलाको सञ्चार झण्डै ५० घण्टा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको मोवाइल सेवा अवरुद्ध भएको थियो । जिल्लाको मुख्य रिपिटर टावर मै विद्युत् सेवा नहुँदा वर्षा र हिमपात हुने वित्तिकै जिल्लाको सञ्चार अवरुद्ध हुने गरेको छ ।

जिल्लाभरी दर्जनबढी नेपाल टेलिकमका टावरहरु सञ्चालनमा छन्, तर मुख्य रिपिटर टावरमै अवरुद्ध भएपछि सदरमुकाम खलङ्गा बेलाबेलामा सञ्चारविहीन हुने गरेको छ । मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरीको सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।टावर सौर्य प्रणालीमार्फत चल्दै आएको छ । हिउँले पूरै सोलार सिस्टम ढाक्ने बित्तिकै जिल्लामा सञ्चार अवरुद्ध हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ