arrow

त्रिदेशीय सीमाक्षेत्रको निगरानी र स्थानीयको रक्षा गर्न व्याँसमा सशस्त्रको विओपी स्थापना

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७६ पुष ४ शुक्रबार
chhangru.jpg

दार्चुला । लामो समय पश्चात सुरक्षा संयत्रविहीन व्याँसमा राज्यको उपस्थिति हुने भएको छ । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (विओपी) स्थापना हुने भएको छ । 

नेपाल सरकार मन्त्रिपरिषदले मंसिर २३ गते गरेको निर्णय संगै लामो समयदेखी विओपी स्थापना हुने भनिएको व्याँस क्षेत्रमा विओपी स्थापना हुने भएको हो । दार्चुलामा २०७० सालमा सशस्त्र प्रहरी गुल्मको स्थापना भए पनि विओपी भने झण्डै ७ वर्ष पछि विस्तार हुन लागेको हो । 

सामरिक महत्व बोकेको त्रिदेशीय नाका व्याँस क्षेत्रमा बेला बेलामा बाह्रै महिना सुरक्षा प्रबन्ध मिलानुपर्ने आवाज उठ्ने गरेको भए पनि सो माग सम्बोधन हुन भने निकै समय लागेको हो । मन्त्रिपरिषदले विओपी स्थापनाको स्वीकृती संगै विओपी स्थापना हुने  स्थानको जग्गा सशस्त्र प्रहरी बल विओपी छांगरुको नाममा जग्गा दर्ता गर्ने साथै उक्त स्थानमा भौतिक पुर्वाधार निर्माणका लागी रु ११ करोड रुपैँया विनियोेजन गर्ने निर्णय गरेको छ ।

उक्त रकम अर्थमन्त्रालयले गृह मन्त्रालय मार्फत उपलब्ध गराउने भएको छ भने पुर्वाधार निर्माणका लागी बहुवर्षिय ठेक्का हुनेछ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले व्याँसको छागंरुमा विल्डिङ, घेर पर्खाल, जेनेरेटर, सौर्यउर्जा प्रणाली जडान लगायत पूर्वाधार निर्माणका लागि गृह मार्फत अर्थ मन्त्रालयलाई रु १४ करोडको हाराहारीमा बजेट माग गरेको भए पनि रु ११ करोडको हाराहारीमा बजेट तोकीएको सिमा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर दार्चुला ५० नम्बर गुल्ममा गुल्मपति डिएसपी डम्मर बहादुर विष्टले जानकारी दिए । यसअघि नौ महिनासम्म वन मन्त्रालयको सहमति चाहिने भन्दै जमिन व्यवस्थापनको फाइल गृह मन्त्रालयमै थन्किएर बसेको थियो ।

व्याँस गाउँपालिका–१ छाङरुको गागास्थित कित्ता नम्बर ३५ को १ सय १५ रोपनी ३ आना जग्गामध्ये गागा नदीको काठेपुल छेउ, गोरेठो बाटो उत्तर पश्चिमतर्फको १५ रोपनी समथर जमिनमा सशस्त्र प्रहरी वलको वीओपी स्थापना हुने डिएसपी विष्टको भनाई छ । “लामो समयदेखी जिल्लावासीले त्रिदेशीय सिमा क्षेत्रमा सुरक्षा माग गरीरहेका थिए, सो माग सम्बोधन भएको छ”, गुल्मपति विष्टले भने ।

त्रिदेशीय सीमाक्षेत्रको निगरानी र स्थानीयको सुरक्षा लगायत सिमा रक्षाका लागि सशस्त्र प्रहरी बलको विओपी आवश्यक छ । यस्तै भारतले अतिक्रमण गर्दै आएको कालापानी, लिपुलेक, कैलाश मानसरोवरको प्रबेशद्धार, अपि नाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र सुरक्षावीहिन बन्ने गरेको छ । सामरिक महत्व र सुरक्षाका दृष्टिले संबेदनसील मानिएको सीमा क्षेत्रमा छिमेकी मुलुक भारत र चीनबाट कडाइका साथ सुरक्षाकर्मी तैनाथ गरिएको छ । यस्तै नेपाल सरकारले व्याँस गाँउपालिका वडा नं १ छांगरु देखी व्याँसको वडा नं २ दुम्लिङ सम्मको घोरेटोे बाटो निर्माण गरी संचालनमा ल्याउने निर्णय गरेको छ ।

समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको व्यास गाउँपालिका–१ तिंकरमा ६५ तथा छांगरुमा १०५ घरधुरी व्याँसी समुदायको बसोबास छ । उनीहरु पनि चिसो छल्न हिउँदमा सदरमुकाम खलंगा बस्ने गर्छन् । करिव एक हजार जनसंख्या भएको क्षेत्र पूरै वडामा हिउँदयाममा नेपाली सुरक्षाकर्मीको उपस्थिती हुने गरेको छैन् । यस्तो अवस्थामा राज्यको उपस्थितिले राष्टियता जोगिने र सीमा अतिक्रमण कम हुने विश्वास छ ।

छाङ्रु र तिंकरका बासिन्दा ६ महिना मात्रै त्यहा बस्ने गरेका छन् । उनीहरुले आउजाउ गर्न समेत भारतीय बाटो प्रयोग गर्छन् । नेपाल तर्फ बाटोघाटो नभएका कारण उनीहरु भारतीय भुमि प्रयोग बाध्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ