arrow

कसजुको स्मृतिमा अक्षय कोषको घोषणा, बरिष्ठ पत्रकार श्रेष्ठले नेतृत्व लिने

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
kasaju-memories.jpg

काठमाडौँ। बहुआयामीक व्यक्तित्व स्व. विनय कसजुको स्मृतिमा पाल्पाली संगमले अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ। कसजुको निधन भएको ४५औँ पुण्य तिथिका अवसरमा काठमाडौमा आयोजित स्मृति सभामा स्व. विनय कसजु अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको हो।

संगम अन्तर्गतको सञ्चार विभागले कसजुको ग्रामिण विकास पत्रकारिता, बाल साहित्य, सूचनाको हक र प्रविधिमैत्री अभियानगरी चार आयामलाई संस्थागत गर्ने उद्धेश्यले अक्षय कोष स्थापनाको प्रस्ताव गरेको विभागका संयोजक तथा संगमका सचिव जीवन भण्डारीले जानकारी दिए। 

कोष मार्फत् चारै विधामा योगदान पुर्‍याउने एक एक जनालाई हरेक बर्ष प्रोत्साहन प्रदान गर्ने, अध्ययन, अनुसन्धान, लेखन, अभियानलगायतमा सहयोग गर्ने उद्धेश्य पनि राखिएको उनले बताए। 

कोषको नेतृत्व भने संगमको सञ्चार विभागका सल्लाहकार समेत रहेका बरिष्ठ पत्रकार सम्भु श्रेष्ठले गर्ने भएका छन्। स्वर्गिय कसजुसँग पाल्पादेखि काठमाडौँसम्म लगातार सहयात्री रहनु भएका श्रेष्ठले सम्वन्धीत निकाय तथा व्यक्तिहरुको सहयोगमा कोषमा एक बर्ष्भित्रमा १० लाख रुपैया जम्मा गर्ने योजना रहेको बताए। उनले कसजुको बार्षिकीका अवसरमा स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना बनाइएको पनि स्मृति सभामा जानकारी दिए। 

राष्ट्रका लागि धेरै योगदान पुर्‍याउनु भएका कसजुको स्मृतिमा कोष स्थापना गर्ने र उहाँलाई कालान्तरसम्म जिवन्त राख्ने जिम्मेबारी र अवसर पाउनु आफ्नो भाग्य र दायित्व दुवै भएको श्रेष्ठले बताए।

स्मृति सभामा कसजुको ग्रामिण विकास पत्रकारिताका बारेमा आदित्यमान श्रेष्ठ, बालसाहित्यका बारेमा प्रमोद प्रधान, सुचनाको हक अभियानका बारेमा तत्कालिन सूचना आयुक्त श्री आचार्य र सूचना प्रविधि अभियानका बारेमा कसजुका छोरा अभिनव कसजुले जानकारी गराएका थिए।

कार्यक्रममा पाल्पाबाट निर्वा्चित सांसद तथा पूर्व मन्त्री सोमप्रसाद पाण्डेले स्वर्गिय कसजुका प्रयास तथा अभियानलाई सार्थकता दिनसके उनीप्रति सच्चा श्रद्धान्जली हुने र त्यसका लागि अक्षय कोष राम्रो माध्यम हुने विश्वास व्यक्त गरे। 

स्मृति सभामा कसजुकी श्रीमती गंगा कसजु, संगमका अध्यक्ष पदम न्यौपाने, कोषाध्यक्ष सनिल नेपाललगायतले कसजुको योगदानका बारेमा चर्चा गरे। विक्रम सम्वत् २००४ साल भदौ २५ गते पाल्पामा जन्मिनु भएका कसजुको गत मंसिर १० गते निधन भएको थियो। स्व कसजले ‘सत्य’, ‘देउराली’, ‘चौतारो’, ‘पाहुर’, ‘श्रीनगर’ तथा अन्य पत्रिकासहित अनगन्ती बालसाहित्य, सूचना र प्रविधिका क्षेत्रमा पुर्‍याएको योगदानका सम्बन्धमा कार्यक्रममा स्मरण गरिएको थियो।

नेपालमा हवाइ साहित्यको सूत्रधारका रुपमा स्व कसजुलाई मानिन्छ। उनले २०३३ सालमा प्रकाशन गरेको ‘चौतारो’ हवाइपत्र नेपालको पहिलो हवाइ साहित्यिक पत्रिका थियो। उनका ५० भन्दा बढी बालसाहित्य प्रकाशित छन्। कसजुको ग्रामीण पत्रकारिता  तथा लघुकथामा पनि महत्वपूर्ण योगदान थियो। उनी २० बर्षको उमेरमा पाल्पाको रिडी गाउँ पञ्चायतको प्रधानपञ्च, २०५५ सालमा उच्चस्तरीय मिडिया सुझाव आयोगका अध्यक्ष, २०६२ सालमा राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख आयुक्त भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ