arrow

विचौलियाका कारण कालीमाटीमै तरुल महँगो

भारतबाट आयात गरेको तरुल पनि नेपाली भनेर बेचिँदै

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ पुष २९ मंगलबार
tarul-kalimati.jpg

काठमाडौं। माघे संक्रान्तिको विशेष परिकार हो, तरुल। काठमाडौं उपत्यकामा अहिलेसम्म झण्डै साढे एक हजार टन तरुल भित्रिसकेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत एवं उप–निर्देशक विनय श्रेष्ठका अनुसार यो पल्ट पोहोर भन्दा दुई–तीन सय टन बढी तरुल भित्रिएको छ।

बजारमा तराई र काठमाडौं आसपासका जिल्लाबाट पर्याप्त तरुल आउने गरेको श्रेष्ठको भनाई छ। उनका अनुसार यो वर्ष कालीमाटीमा सर्लाहीबाट मात्र साढे चार सय टन तरुल भित्रिएको छ। उनले उपत्यका आसपासका जिल्लादेखि चितवन, झापासम्मको तरुल काठमाडौं आएको बताए। सक्खरखण्ड भारतबाट आउने गरे पनि तरुललाई बाहिरको भर पर्नुपर्दैन भन्छन्, उनी। तर, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन उनको कुरा मान्न तयार छैनन्। अध्यक्ष महर्जनले भने, ‘कालीमाटी र बल्खुमा भित्रिने तरुल मध्ये ८० देखि ९० प्रतिशत भारतकै हो। उहाँहरु उपभोक्ताको आँखामा छारो हाल्न सिपालु हुनुहुन्छ।’

सबै भारतको हो भनेर कसरी थाहा पाउनु भो अध्यक्ष ज्यू ? जवाफमा उनले भने, ‘यसमा जान्नुपर्ने कुरा के हो भने भारतको तरुलमा पर्याप्त पानी पुगेको हुँदैन। नेपालकोमा पर्याप्त पानी पुगेको हुन्छ। नेपालको तरुल नीलो रङ्को हुन्छ। जो स्वास्थ्यलाई पनि फाइदाजनक र स्वादिलो हुन्छ। तर, भारतमा उत्पादन भएको तरुल सेतो र अलिक बेसार कलरको हुन्छ। स्वाद हुँदैन।’

त्यति मात्रै होइन तरुलमा जियोलोजिकल इफेक्ट पर्छ। नेपालको तरुल नीलो कलरको त्यसै भएको होइन, उनले भने, ‘जसमा पर्याप्त पानी पुगेको हुन्छ। र, भौगोलिक हिसाबले पनि नेपालको तरुल खान योग्य हुन्छ।’कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भनेजस्तो नेपालकै तरुल यत्रो टनका–टन हुँदैन, उनले अगाडि भने, ‘उनीहरु विचौलियामार्फत भित्र्याउने भएका कारण गफ बढी हाँक्छन्। नेपाली उत्पादकले आफ्नो उपज विकाउन गफ लगाउनै पर्दैन।’ कालीमाटीमा हात्तीपाइले तरुल, सेतो पानी तरुल, वन तरुल, सिमल तरुल, घर तरुल, पातले तरुल, आकासे तरुल टनका हिसाबले भित्रिएका छन्। कालीमाटी तरकारी बजारमा नुवाकोट, धादिङ, सिन्धुली, नवलपरासी, मोरङ, सर्लाही, सुनसरीको सँगै झापाबाट तरुल आएको भनिएको छ। तर, उपभोक्ता अधिकारकर्मीहरु पत्याइरहेका छैनन्। 

आयातको अवस्था
यो वर्ष कालीमाटीमा ४० टन सक्खरखण्ड भारतबाट भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको पाँच महिनासम्ममा ४७ लाख बराबरको दुई सय ६२ टन सक्खरखण्ड आयात भएको छ। पोहोर वर्षभरमा डेढ करोड बराबरको आठ सय ३५ टन भित्रिएको थियो।

समितिले दिएको जानकारी अनुसार हरेक वर्ष तरुल आयात घटबढ हुँदै अएको छ। २०७० सालदेखि भने तरुल आयातमा खासै भिन्नता पाइएको छैन। २०७० सालमा १ हजार ७ सय ८७ टन, ०७१ मा ९९२ टन, ०७२ सालमा १ हजार ७ सय २२ टन, ०७३ सालमा ९९२ टन, ०७४ सालमा ७९० टन र ०७५ सालमा १ हजार १ सय ८८ टन तरुल आयात भएको थियो। 

सतप्रतिशत मूल्य वृद्धि
सोमबार कालीमाटीमा सखरखण्डको थोक मूल्य घटीमा ६० र बढीमा ६५ रुपैयाँ थियो।  तर, खुद्रामा भने कालीमाटीमै सखरखण्ड ९० देखि १०० रुपैयाँसम्ममा विक्रि भइरहेको थियो। पिंडालुको थोक मूल्य घटीमा ४५ र बढीमा ५० रहेकोमा खुद्रामा त्यही पिंडालु ७० देखि ८० रुपैयाँमा विक्रि भयो। तरुल थोकमा प्रतिकिलो ६० देखि ७० मा विक्रि भइरहँदा खुद्रामा भने एक सय १० देखि एक सय २० रुपैयाँसम्ममा उपभोक्ताले किने। 

तर, तीनकुने स्थित तरकारी तथा फलफूल बजारमा खुद्रा मूल्य प्रतिकिलो १०० मा उपभोक्ताले तरुल किनिरहेका थिए। जहाँ हात्तिपाइले लगायत तरुल प्रतिकिलो १०० र वन तरुलको २०० रुपैयाँ लिइरहेको भेटियो। तीनकुनेको तरकारी बजारमा कालीमाटी भन्दा सस्तोमा तरुल बेचेको देखियो। यस्तो किन ? उपभोक्ता मञ्चका अध्यक्ष महर्जन भन्छन्, ‘मैले भने त, कालीमाटीमा विचौलियामार्फत कृषि सामाग्री भित्रिने भएका कारण महँगो पर्न जान्छ। अन्यथाः नलिनु होला मेरो घर पाटन हो। अस्ति प्याजले बजार ततायो। अहिले पनि प्याजको दाम खासै घटेको होइन। तर, हिजो आज हाम्रै घर–घरमा ५० मा दुई किलो प्याज–गोलभेंडा भन्दै स्थानीय उत्पादकहरु चिच्च्याइरहेका हुन्छन् ! अनि उहाँहरुबारे थाहा पाउन टाढा जानु पर्छ र ?’

यो पल्ट तरुलमा सतप्रतिशत भन्दा बढी मूल्यवृद्धि भएको उनको भनाई छ। पोहोर ४० रुपैयाँमा पाउने गरेको सिमल तरुल यो पल्ट ९० रुपैयाँ तरकारी बजारमै उपभोक्ताले तिरिरहेका छन्। भारतबाट आउने तरुल पनि यति महँगो तिर्नु पर्ने ? उनले प्रश्न गर्दै भने ‘यो सामान्य वा स्वभाविक होइन। उपभोक्ता चनाखो हुनुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ