arrow

प्रचण्डको क्षेत्रमा महायज्ञ, पुत्री रेनु दाहाल प्रचारप्रसारमा

क्रिकेट रङ्गशाला बनाउन ५० करोड उठाउने लक्ष्य 

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
cricket-renu.jpg

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ । 

रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । यसका लागि प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि प्रचारप्रसार गरिरहेकी छिन् । 

उनले भनेकी छिन् –‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हाम्रो गौरबको बिषय हो । सिंगै महानगर,चितवन जिल्ला र देशको गर्वको यो योजनालाई सफल पार्न जुझारु र ऐकताबद्ध भएर जुटौं ।’

महायज्ञ मूल समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यावसायिक घरानासम्मबाट सहयोग सङ्कलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाकाअनुसार उक्त रकम सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए ।

स्थानीयस्तर, सङ्घसंस्था, गैरआवासीय नेपाली, पालिकाहरु, सहकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग,  सरकारी कर्मचारी, खेलकूद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरुबाट रकम सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ । यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिए । 

कम खर्चमा ठूलो मात्रामा रकम सङ्कलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि रु ५० करोड बचाउने योजना बनाइएको चुकेले जानकारी दिए ।  

महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक प्रमुख, स्थानीय तहका प्रमुख, उद्योगी व्यवसायी, कानून व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २०१ जनाको सचिवालय र ६० उपसमिति गठन गरिएको छ ।  

भरतपुर महानगरपालिकाको रामपुरमा रु दुई अर्ब ५० करोड खर्च गरेर रङ्गशाला निर्माण गरिँदै छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणको नेतृत्व लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ