युद्धविरामको कार्य छिटोभन्दा छिटो सम्पन्न होस् : सुरक्षा परिषद्
बर्लिन सम्मेलनको सुरक्षा परिषदद्वारा स्वागत
सिन्ह्वा,
प्रकाशित २०७६ माघ ८ बुधबार
429
Shares
बर्लिन। जर्मनीको बर्लिनमा सम्पन्न लिबिया सम्मेलनबाट निक्लिएको निष्कर्षलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले स्वागत गरेको छ। बर्लिन सम्मेलनको निष्कर्षलाई अनुसरण गर्न आगामी दिनहरुमा थप छलफल गर्ने गत जनवरीमा परिषद्को अध्यक्षता समालेका संयुक्त राष्ट्रसंघका लागि भियतनामका राजदूत दाङ दिन्ह क्वेले बताएका छन्।
स्थायी युद्धविराम सहित राजनीतिक समाधानका लागि सहजीकरण गर्न तोकिएका लिबियाका लागि संयुक्तराष्ट्रका दूत घसान सलामलाई पुनः समर्थन गरेको छ। परिषदका सदस्यहरूले लिबियाका युद्धरत पक्षहरुलाई बर्लिन सम्झौता बमोजिम युद्धविरामको कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सलामलाई आग्रह गरेका छन्।
लिबियामा युद्धविरामपछि राजनीतिक प्रक्रिया आरम्भ गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरका छन्। बर्लिन सम्मेलनका सहभागीहरूबीच द्वन्द्व समाधान गर्ने विषयमा छलफल भएको, हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने विषयमा छलफल भएको थियो।
आइतबारदेखि बर्लिनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरूलगायत विश्वका नेताहरू सहभागी भएका थिए। लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको थियो। सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी छन्।