मङ्गोलियाको राजधानी भन्दा १३ सय किलोमिटर टाढा २६ हजार जनावर मरे
सिन्ह्वा,
प्रकाशित २०७६ माघ ८ बुधबार
947
Shares
उलान बाटोर। अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजारभन्दा बढी जनावर मरेका छन्। शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मङ्गोलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए)का अनुसार यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर मरेका हुन्। देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ। तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमै मरेका हुन्। घटनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ।
मङ्गोलियामा जाडो मौसमका बेलामा धेरै जनावर मर्ने गरेको अधिकारीहरुले बताएका छन्। यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावर यही शिशिर ऋतुमा जाडोकै कारण मरेका थिए।