arrow

सापकोटा सभामुख हुनेभएपछि राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
president.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ-सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुरेलले सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट जनाउदै राजीनामा दिएका हुन् । राष्ट्रपति भण्डारीको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिव दुई वर्षका अवधिमा प्याकुरेल विज्ञ सल्लाहकारका हैसियतबाट काम गरेका थिए ।

प्याकुरेलले शुक्रबारै आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । प्यकुरेलले राजनीतिक दल गणतन्त्रलाई बलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाहरूको प्रभावकारिता एवम् सम्मान अभिवृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्ने कुरामा जोड दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेका प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए।  

द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित  सापकोटालाई सभामुख चयन गर्ने निर्णयपछि उनले पदबाट राजीनामा दिएको बुझिएको छ ।  प्याकुरेललाई मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी  २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।

उनले  राजीनामापछि जारी गरेको विज्ञप्तिमा भनिएको छ,'   लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो । हामीले ठूलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ । साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ।'

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिव दुई वर्षका अवधिमा मैले विज्ञ सल्लाहकारका हैसियतबाट आफ्ना अनुभव, योग्यता र क्षमताले भ्याएसम्म सदैव देश र जनतालाई हृदयंगम गर्दै इमान्दारीपूर्वक योगदान गरेको विदितै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरश: कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मिति देखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु ।

यस घडीमा म, हाम्रा राजनीतिक दल गणतन्त्रलाई बलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाहरूको प्रभावकारिता एवम् सम्मान अभिवृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छु ।

लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो । हामीले ठूलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ । साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ।

सामजिक न्याय र लोकतन्त्रका लागि विगत साढे चार दशकदेखि समर्पित व्यक्तिका हैसियतमा म आफ्नो मूल कर्तव्यप्रति सधै निष्ठावान रहँदै आएको छु । यसैक्रममा सुदृढ लोकतन्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न मैले राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा गरेको हुँ।

राष्ट्रपतिको विज्ञ सल्लाहकारका रुपमा मैले आफ्नो कार्यकालमा राष्ट्र प्रमुख र सर्वोच्च संस्थाका औपचारिक वृत्तमा मात्र सीमित नरही सम्माननीय राष्ट्रपति सामाजिक न्याय र राज्यका निकायबाट अपेक्षित मानवोचित व्यवहारका मामिलामा सदैव सजग रहने गरेको पाएं । सबै संवैधानिक संस्था र सरकारका सबै अवयवहरूले लोकतान्त्रिक मूल्य र मान्यताको पालनाका सन्दर्भमा रत्तिभर पनि चुक्नु हुँदैन भन्ने कुरामा पनि उहाँ दृढ रहेको पाएँ । देशको ऐतिहासिक महत्वको एउटा कालखण्डमा संघीय गणतन्त्र नेपालको राष्ट्र प्रमूख, सर्वोच्च संस्था सम्माननीय राष्ट्रपतिको सल्लाहकार भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा म गौरवान्वित छु ।

नेपाली जनताको लामो, अथक र बलिदानी संघर्षबाट स्थापित संविधान सभाले निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधान संस्थागत हुने चरणका ती ऐतिहासिक महत्वका वर्षहरूमा सम्माननीयज्यूसँगै काम गर्ने अवसर प्राप्त गर्दा मैले महत्वपूर्ण ज्ञान र अनुभव पनि आर्जन गरेको छ । यस अवसरमा म राष्ट्र र जनताको सेवा गर्ने यस्तो विशिष्ट अवसर प्रदान गर्नु भएकोमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष हार्दिक धन्यवाद
एवम् कृतज्ञता ज्ञापन गर्दछु ।

राष्ट्रपतिको विज्ञ सल्लाहकारका रुपमा मलाई आवश्यक सहयोग प्रदान गर्नु भएकोमा नागरिक समाज एवम् आमसन्चार जगतका साथीहरूका साथै राजनीतिक व्यक्तित्वहरू, राष्ट्रपति कार्यलयका मेरा मित्रहरू एवम् सम्पूर्ण निजामति कर्मचारी, सुरक्षाकर्मीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

सुशील प्याकुरेल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ