arrow

यसरी धराशायी हुँदैछ हेटौडा सिमेन्ट उद्योग

करारका कर्मचारीलाई १४२ प्रतिशत थप भत्ता

logo
राजु रिमाल,
प्रकाशित २०७६ माघ १० शुक्रबार
hetuda-cement-report.jpg

काठमाडौं। सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योग उक्त संस्थाका महाप्रवन्धक र त्यहाँका केही उच्च कर्मचारीकारण दिनदिनै रुग्न र धाराशायी हुँदैछ। 

राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिबेदनमा उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंहले करारमा कर्मचारी भर्ना गर्दा र सिमेन्टलाई चाहिने मेशिन खरिद गर्ने नाममा ठूलो आर्थिक अनियमितता गरेको जनाइएको छ। प्रतिबेदन अनुसार महाप्रवन्धकले उक्त उद्योगमा यसरी अनियमिता गरेका छन, कि कुनै पनि बेला उद्योग बन्द हुने स्थितिमा छ।

महाप्रवन्धक सिंहले अघिल्लो वर्ष उद्योगकै पूर्व कर्मचारीलाई मात्र मिल्ने गरी योग्यता बनाइ विज्ञापन माग गरे। उनले माग गरेको विज्ञापनमा निकै आकर्षक तलब र भत्ता दिने व्यवस्था गरियो। पूर्व कर्मचारीलाई पुन करामा लिनकोलागि उनले कामको अनुभवि २० वर्षसम्म पुर्‍याए। शैक्षिक योग्यता पनि व्यक्ति हेरेर विज्ञापन गरे। केन्द्रका अनुसार उद्योगको किल्न विभागमा आर्थिक वर्ष २०७५-०७६मा करारमा आठौ तह सरह बर्नर पद (आगो निभाउने कर्मचारी) मा नियुक्त गरिएका अनिरुद्र प्रसाद सिंहलाई समान तहको तलब स्केल भन्दा ३७.१४ प्रतिशत भन्दा बढी र श्याम प्रसाद श्रेष्ठलाई ५७.१४ प्रतिशत भन्दा बढी मासिक पारिश्रमिक तोकि करारमा नियुक्त गरे। त्यस्तै बर्नर सातौं तह सरहका रामचन्द्र प्रसाद रौनियारलाई ३९.०६ प्रतिशतभन्दा बढी मासिक पारिश्रमिक हुनेगरी नियुक्त गरे।

यसैगरी चिफ बर्नरको पारिश्रमिक समान तहको भन्दा १ सय ४२.८५ प्रतिशतभन्दा बढी तलब र सुविधा तोकेका छन्। प्राविधिक (इञ्जिनियरिङ्ग) विषयमा तोकिएको योग्यता भएका रामचन्द्र प्रसाद रौनियारलाई भन्दा अप्राविधिक विषय भई अनुभव पनि तुलनात्मक रुपमा कम भएका श्याम प्रसाद श्रेष्ठलाई बढी पारिश्रमिक दिई एक तह माथि कायम गरी नियुक्त गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।

कुन मापदण्ड बमोजिम कर्मचारी नियुक्त गरिएको र कुन मापदण्ड अनुसार पारिश्रमिक निर्धारण गरिएको भन्ने आधार पनि प्रस्ट नदेखिएको प्रतिबेदनमा जनाइएको छ। करारका कर्मचारीको पारिश्रमिक निर्धारण गर्ने वैज्ञानिक आधार तय नगरेरै करारमा कर्मचारी भर्ना गरिएको प्रतिबेदनमा औल्याइएको छ। सिंहले उद्योगकोलागि आवश्यक पर्ने १ करोड भन्दा बढी मूल्य पर्ने वियरिङ मेशीन टेण्डर नगरी सोझै एउटै संस्थाबाट खरिद गर्ने गरेको प्रतिबेदनमा जनाइएको छ।

केन्द्रका अनुसार उद्योगले विना टेण्डर आव ०७४-७५ तथा आव ०७५-७६ मा १९ लाख २४ हजार ३ सय ४ रुपैयाँ तथा २४ लाख ५३ हजार ७सय २५ रुपैयाँको वियरिङ्ग मेशिन पटक पटक गरी सोझै खरिद गरेको छ। त्यसमध्ये पनि राज मेशीनरी स्टोर नाम गरेको एउटै फर्मबाट आव २०७५-०७६ मा १० पटक गरेर रु.५ लाख भन्दा बढी ६ लाख ६५ हजार १ सय ७० रुपैयाँसम्मका बियरिङ्ग सोझै खरिद गरेको प्रतिबेदनमा जनाइएको छ। 

उक्त कार्य सार्वजनिक खरिद ऐनरनियमावलीको मर्म अनुरुप नभएको प्रतिबेदनमा जनाइएको छ। उक्त उद्योगले सार्वजनिक खरिद ऐनको दफा ६ तथा सार्वजनिक खरिद नियमावलीको नियम ८ बमोजिम वार्षिक खरिद योजना तयार नगरेको प्रतिबेदनमा जनाइएको छ।

हेटौंडा सिमेन्टले व्यावसायिक रुपमा सिमेन्ट उत्पादन गर्न थालेको ३४ वर्ष पूरा भएको छ तर पनि अझैसम्म उक्त उद्योगले पुरानै प्रविधि र पूरानै शैली अनुसार सिमेण्ट उत्पादन गरीरहेको छ। नयाँ प्रविधि अनुसार सिमेन्ट उत्पादन गर्न महाप्रवन्धकले कुनै योजना र कार्यक्रम बनाएका छैनन्। यसबाट नयाँ प्रविधिमा सञ्चालनमा रहेका निजी क्षेत्रका सिमेन्ट उद्योगहरुसँग हैटौडा सिमेन्टले प्रतिस्पर्धा गर्न उक्त उद्योगलाई कठिन हुँदै गएको छ।

उद्योगले वैकल्पिक दक्ष जनशक्ति तयार गर्न ध्यान नदिएको प्रतिबेदनमा जनाइएको छ। केन्द्रका अनुसार पुराना र अनुभवी प्राविधिकर बर्नरहरु (उद्योगमा आगो निभाउने दक्ष कर्मचारी) धमाधम अवकाश हुँदै गर्दा पनि पुराना र नयाँ बर्नर नियुक्तिको बीचमा धेरै लामो समयको अन्तर रहेको जनाइएको छ। यसबाट प्रविधि र सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको प्रतिबेदनमा जनाइएको छ।

उद्योग व्यवस्थापनले दीर्घकालीन व्यावसायिक योजना तयार गरी दक्ष जनशक्ति तयार गर्दै प्रविधि र सीप हस्तान्तरण गर्दै जानु पर्ने आवश्यक रहेको केन्द्रले सुझाव दिएको छ। सरकारी स्वामित्वमा रहेका कम्पनीहरु निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न नसकी बन्द हुँदै गएको बेला हेटौडा सिमेन्ट उद्योगलाई पनि त्यही अवस्थामा नपुर्‍याउन सरकारले विशेष चासो देखाउनु पर्ने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ