'मु...कर्मचारी' भन्ने बाँस्कोटाको भाषाप्रति कांग्रेसको आपत्ति
प्रकाशित २०७६ फागुन ११ आइतबार
714
Shares
काठमाडौं । नेपाली कांग्रेस संसदीय दललले 'मु...कर्मचारी' भन्ने तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भाषाप्रति आपत्ति जनाउदै भर्त्सना गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,' तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्थानीय प्रतिनिधिसँग कमिशनका लागि कुरा गर्ने सन्दर्भमा राष्ट्र सेवक कर्मचारीहरुलाई प्रयोग गरेको भाषाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'
सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियोमा विजय प्रकाश मिश्र शर्मासँग मन्त्री गोकुल बाँस्कोटाले,' एउटा के नगर्नुस भने यी मु...कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..' भनेका छन्।
'नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा रहेर अत्यन्तै अमर्यादित, अशोभनीय एवं आपत्तिजनक भाषा प्रयोग गर्नु निन्दनीय एवं लज्जास्पद विषय हो । यस कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति प्रकट गर्दछ । यस प्रकारको क्रियाकलापले गर्दा राष्ट्र सेवक कर्मचारीलाई पर्न गएको आघात प्रति नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ' विज्ञप्तिमा उल्लेख छ ।